भेरीमा र्‍याफ्टिङ सरर

हरि गौतम
रुकुम पश्‍चिम ,  सानीभेरी र ठूलीभेरी नदीमा सजिलै र्‍याफ्टिङ गर्न सकिने भएको छ । जिल्लाका विभिन्न पाँच पालिका भएर बग्ने सानीभेरी र ठूलीभेरी नदीमा र्‍याफ्टिङको सफल परीक्षण भएको हो ।

बाँफिकोट, सानीभेरी, मुसीकोट, चौरजहारी र आठबीसकोट पालिकाका विभिन्न स्थानमा र्‍याफ्टिङको सफल परीक्षण गरिएको छ । चार दिन लगाएर गरिएको अध्ययनपछि वर्षायामका केही महिनाबाहेक अरु समयमा सजिलै र्‍याफ्टिङ गर्न सकिने निष्कर्ष निकालिएको संस्कृति तथा पर्यटन विकास केन्द्रको भनाइ छ । केन्द्रले स्थानीय तहसँग समन्वय गरी नमुना जलयात्रा परीक्षण गरेको हो । केन्द्रका अध्यक्ष पहलसिङ घर्तीमगरले पर्यटन प्रवर्द्धन तथा सडकको वैकल्पिक रुटको रुपमा जलयात्रा गराउन परीक्षण गरिएको बताए । ‘प्राविधिकसहितको टोलीले सफल परीक्षण गरेपछि व्यावसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनको पहल सुरु गरेका छौं,’ उनले भने, ‘यस पटकको परीक्षणले स्थानीय तहका प्रतिनिधि र पर्यटन व्यवसायी उत्साही देखिएका छन् ।’

उनका अनुसार आइतबारदेखि बुधबारसम्म दुबै नदीमा जलयात्रा परीक्षण गरिएको हो । केन्द्रले परीक्षणपछि विस्तृत प्रतिवेदन निर्माणको काम सुरु गरिसकेको छ । प्रतिवेदनका आधारमा लगानीको यकिन गरिने केन्द्रले जनाएको छ । विस्तृत प्रतिवेदनमा जीआइएसमार्फत कुन रुटको दूरी कति, स्टेशन कता भन्नेलगायत विवरण आउने घर्तीमगरले बताए । सातजना प्राविधिकको टोलीले दुई डुंगामार्फत परीक्षण गरेको थियो ।

बाँफिकोट गाउँपालिका–४ छिन्खेतदेखि मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिका भएर सानीभेरी नदी र ठूलीभेरी मिसिएको रिम्ना दोभानसम्मको जलयात्रा परीक्षण गरिएको छ । सानीभेरी गाउँपालिकाको रिम्नादेखि चौरजहारी नगरपालिका हुँदै रुकुम पश्चिम र सल्यानको सिमाना बाँसखोलासम्मको जलयात्रा पनि सफल भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आठबीसकोट नगरपालिकाको राडीबाट रिम्नासम्म ठूलीभेरी नदीमा जलयात्राबारे पनि परीक्षण गरिएको थियो ।

जलयात्राको परीक्षण सफल भएपछि नियमित जलयात्रा गराउन आवश्यक कार्यविधि निर्माणमा जुटेको सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए । ‘जलयात्रालाई मध्यपहाडी लोकमार्ग, स्थानीय खाना, होमस्टे र आसपासका गाउँसँग जोडिनेछ,’ उनले भने, ‘दुवै नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन भए समग्र जिल्लाको पर्यटन प्रवर्द्धन हुनेछ ।’ जोखिमयुक्त यात्रा गर्न रुचाउनेका लागि सानीभेरी नदीको जलयात्रा उपयुक्त हुने प्रारम्भिक निष्कर्ष निकालिएको उनको भनाइ छ ।





error: Content is protected !!