किन कोही शिक्षक बन्छु भन्दैनन् ?

आरती बराल

म शिक्षक
सानी छँदा कसैले ‘पछि गएर के बन्ने रु ’ भनी सोध्दा मेरो जवाफ हुन्थ्यो, ‘शिक्षक’। म शिक्षक नै शिक्षक भएको परिवारमा हुर्किएकी मान्छे। उमेर र समयको परिवर्तनमा कहिले डाक्टर बनी सागीसंगीसँग खेलेँ त कहिले चोर पुलिस खेल्दा पुलिस बनी अनेकन् सपना बुनेँ। तर अञ्जानमा बोलेको त्यो शिक्षक बन्ने सपना कसरी विपनामा परिणत भयो पत्तै पाइनँ। म अहिले पनि पूर्णकालीन शिक्षक त भएकी छैन, तर यो पेसाप्रति अति नै आकर्षण भने छ।

ममीले पढाउने स्कुलमा दसैं(तिहारको बिदा एकै पटक हुँदैनथ्यो। मेरो स्कुल नभएको बेला उहाँसँगै पछि लागेर जान्थेँ। त्यहाँ पुग्दा हरेक कक्षाकोठाले मलाई बोलाइरहेको जस्तो लाग्थ्यो। मलाई आफ्नो कक्षामा लैजान विद्यार्थीहरू पछि नै लाग्थे।

कोही, ‘दिदी आज हामीलाई पढाउन आउनु न ’ भन्थे। कोही, ‘अस्ति नै दिएको होमवर्क कहिले हेर्ने रु ’ भन्दै बोलाउने बहाना खोज्थे। उनीहरूको अनुरोध स्वीकार गर्दै म जान्थेँ।

प्रत्येक कक्षामा पुगेर केही न केही पढाउँथे। कालो पाटीमा सेतो चकले चित्र र अक्षर कोर्थें। विद्यार्थीहरू रमाइलो मान्दै मैले लेखेको हेर्थे, पढाएको सुन्थे र मैले बनाएझैं आफ्नो कापीमा चित्र बनाउन खोज्थे। मलाई क्लासवर्क दिएर रातो कलमले जाँच गर्न मन पथ्र्यो। छोड्ने बेला पनि होमवर्क दिएर अर्को पटक आउँदा जाँच्ने वाचा गर्थें।

सबैले मलाई म्याडमकी छोरी भनेर माया गर्नुहुन्थ्यो। मैले त्यसरी पढाएकामा उहाँहरू हौसला र प्रोत्साहन दिनुहुन्थ्यो।

ड्याडीले पढाउने ठाउँहरू भने घर नजिक हुँदैनथे। तैपनि कहिलेकाहीँ सँगै लिएर जानुहुन्थ्यो। जहाँ जान्थेँ, त्यहाँ पनि सोचेभन्दा बढी माया पाउँथेँ। त्यहाँका विद्यार्थीले मलाई आफ्नै छेउमा राख्न खोज्थे, बोल्न खोज्थे, मायालु स्वभावले हेर्थे, खाजा र चकलेट दिन्थे।

तिनले मलाई गर्ने मायामा मैले ड्याडीप्रतिको इज्जत झल्किएको अनुभूति गर्थें। मक्ख पर्दै पढाउने ममीड्याडीकी छोरी हुनुमा आफूलाई डबल भाग्यमानी मान्थेँ। अनि सोच्थेँ, ‘आफूलाई पढाउने शिक्षककी छोरीलाई यति माया गर्नेहरूले शिक्षकलाई कति माया र इज्जत गर्दा हुन् रु ’ त्यसपछि मनमनै निष्कर्षमा पुग्थेँ, ‘इज्जतिलो छ शिक्षकको जीवन, म पनि भविष्यमा ड्याडी ममीजस्तै शिक्षक बन्छु।’

मेरो उमेरका साथीहरू किन शिक्षक बन्न चाहन्छु भन्दैनन् रु किन यो पेसा प्राथमिकतामा छैन रु किन यसमा युवाहरूको आकर्षण छैन रु किन कोही आमाबुवाहरूले छोराछोरीलाई शिक्षक बनाउने सपना देख्नुहुन्न रु
समय बित्दै जाँदा घर, परिवार, छोराछोरीदेखि लिएर स्कुलसम्मको जिम्मेवारी वहन गर्ने ममीले आफ्नो जीवन शिक्षण पेसामै समर्पित गरिरहेको महसुस गरेँ। त्यही इज्जत, विद्यार्थी र हामी छोराछोरीको उज्ज्वल भविष्यका खातिर ड्याडीको भागदौड देखेँ। शनिबार र बिदाबाहेकका अन्य दिन बिहान म उठ्न नपाउँदै उहाँ पढाउन गइसक्नुहुन्थ्यो र बेलुकी सुत्ने बेलामा घर आउनुहुन्थ्यो। घर आएपछि दिनभरिका दुःख अनि थकाइ हामीसँग बिसाउनुहुन्थ्यो। घर आएर पनि बस्न र आराम गर्न कहाँ पाउनुहुन्थ्यो र रु भोलिपल्ट पढाउने विषयको तयारीमा लाग्नुहुन्थ्यो। धेरैजसो पढ्नमा नै समय बिताउनु हुन्थ्यो। उहाँहरूको जीवनलाई अलि बुझ्ने मनले नियाल्दा ड्याडीले मलाई भनेका कुराहरू याद आउँथे र त्यस समयमा ती कुरा निकै सान्दर्भिक र व्यावहारिक लाग्थे।

अरूसँगको कुराकानीमा जब उहाँहरू मलाई पछि यस्तो बनाउँछु, उस्तो बनाउँछु भन्नुहुन्थ्यो म कुरा काट्दै भन्थेँ, ‘म पनि पछि तपाईं र ममीजस्तै शिक्षक बन्छु।’

तर उहाँहरू भन्ने गर्नुहुन्थ्यो, ‘हामी जस्तो हुन गा‍ह्रो छ छोरी १ दिनभर चकको धुलो खानुपर्छ, भागदौड गर्नुपर्छ, विद्यार्थीसँग रिसाउनुपर्छ। तँलाई धेरै ठूलो मान्छे बनाउने हो।’ यस्तै कुरा शिक्षण गरिरहनुभएका हजुरबुवा पनि गर्नुहुन्थ्यो। किन भन्नुहुन्थ्यो मलाई थाहा थिएन। सोचेजस्तो उत्तर नपाउँदा मेरो दिलदिमागमा कैयौं प्रश्नहरू उब्जिन्थे।

म अहिले स्नातक तहमा पढ्दै छु। सानी छँदा भावनात्मक पक्षले कोरिदिएको मेरो शिक्षक बन्ने लक्ष्य अहिले रहर, ज्ञान र परिपक्वताले साकार भएको छ। आज पनि म बेलाबेला शिक्षक बनिरहेकी हुन्छु। एजुकेसन कन्सल्टेन्सी र श्रवण दृष्टिविहीन संस्थामा पढाएर अनुभव बटुलेकी छु। बालबालिकाका क्षेत्रमा प्रशिक्षक भएर काम गरेकी छु। यसरी कुनै न कुनै रूपमा शिक्षण पेसासँग जोडिँदा मभित्र त्यसको रहर अझै पनि रहेछ भन्ने महसुस गर्छु।

मलाई मेरा ममी ड्याडीको पेसा अनुसरण गर्न मन लाग्छ। शिक्षक र यस पेसाको अनुयायी हुनुमा म निकै गौरवान्वित महसुस गर्छु। आफूले पढाएका विद्यार्थीको बुझाइ र सिकाइ परिष्कृत हुँदा गर्व महसुस हुन्छ। अरूलाई सिकाउँदै आफू पनि सिक्न पाइन्छ। शिक्षकका रूपमा रहँदा मेरा लागि मेरा हरेक शिक्षकले गरेका त्याग, गाली, पिटाइ, प्रेरणा, मायाको याद आउँछ र उहाँहरूप्रतिको इज्जत अझ बढ्दै जान्छ।

तर पनि म पूर्णकालीन रूपमा यही पेसामा लाग्न डराइरहेकी छु। यसतर्फ लागूँ कि नलागूँ भन्ने दोधारमा छु। कसैलाई शिक्षक बन्न मन छ भन्ने सुनाउँदा पनि कैयौं प्रश्नचिह्नहरूसँग जुध्नु परिरहेको छ। त्यसैले भन्न पनि अप्ठ्यारो मानिरहेकी छु।

मलाई शिक्षकबाहेक अरू नै केही बनेको देख्न चाहने आमाबुवाका सपनाहरूले प्रश्न गरिरहेका छन्। उहाँहरूबाट नै सोचेजस्तो समर्थन नपाउँदा किन यो पेसाले अन्य पेसाको जस्तो इज्जत पाउन सकेको छैन रु किन मेरा भाइबहिनी, अन्य विद्यार्थीहरू र मेरो उमेरका साथीहरू शिक्षक बन्न चाहन्छु भन्दैनन् रु किन यो पेसा प्राथमिकतामा छैन रु किन यसमा युवाको आकर्षण बढिरहेको छैन रु किन कोही पनि आमाबुवाले छोराछोरीलाई शिक्षक बनाउने सपना देख्नुहुन्न रु भन्ने प्रश्नहरूमा घोत्लिरहेकी छु।

यस्तो अवस्थामा अन्य पेसाका लागि आवश्यक बाटो देखाइदिने शिक्षक र शिक्षण पेसालाई नै अवहेलना गरिरहेको समाजसँग लडेर यस पेसातर्फ लाग्न चाहनेलाई सजिलो छैन। त्यसका लागि पहिला आफैंसँग लड्नुपर्छ तर त्यो पनि सजिलो छैन। यो पेसालाई बाध्यताले हैन रहरले लाग्न सकिने नबनाएसम्म यो लडाइँ झनै कठिन हुँदै जानेछ। यसप्रति युवा पुस्ताको आकर्षण घट्दो छ।

शिक्षण पेसा छनोटको विषयमा प्राथमिकतामा छैन। मजस्ता धेरै युवाहरू लाग्ने कि नलाग्ने भन्ने द्विविधामा छौं। अहिलेको समयमा शिक्षा निकै आवश्यक छ तर यही पेसामा सरकारको ध्यान त्यति केन्द्रित हुन सकेको छैन। सामुदायिक तथा संस्थागत विद्यालयहरूको नतिजा कमजोर हुँदै गएको छ। तर सरकारलाई केवल रेमिट्यान्स भित्याउनु छ। समाजलाई डाक्टर, इन्जिनियर, वकिल, प्रशासक, पुलिस, इत्यादि मात्र चाहिएको छ।

भर्खरै भुटानले शैक्षिक र मेडिकल क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई सबैभन्दा धेरै तलब दिने कार्यक्रम ल्याएको छ। यसबाट शिक्षण पेसामा राम्रा र मेधावी व्यक्तिहरूले योगदान पु‍र्‍याउने अपेक्षा गरिएको छ। युरोपमा यस्तो भएको धेरै समय भइसक्यो। त्यहाँ शिक्षकहरूको माग पूर्तिका लागि नै तलब बढाइएको छ र उनीहरूलाई अन्य पेसाभन्दा प्राथमिकतामा राखिएको छ। शिक्षकहरूको व्यक्तिगत विकासका लागि सहयोग गरिएको छ। शैक्षिक भिजन भएका व्यक्ति नेतृत्वमा छन्।

यसो भनिरहँदा हाम्रो देशमा शिक्षा क्षेत्र उकास्न कदम नै चालिएका छैनन् र राम्रो नेतृत्व नै छैन भन्नेचाहिँ होइन।

हाम्रो देशमा पनि शिक्षा क्षेत्रमा आवश्यक कदम नचालिएका होइनन्। नेपालको संविधानले शिक्षालाई मौलिक हकका रूपमा स्वीकार गरेको छ। निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षालाई राज्यको पूर्ण दायित्वभित्र राखेको छ । यस आर्थिक वर्ष २०७६÷०७७ को लागि शिक्षामा अहिलेसम्मकै बढी बजेट ९१ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँ० विनियोजन गरिएको छ जुन गत वर्षको तुलनामा २१ प्रतिशतले बढी छ। तर आर्थिक वर्ष २०६७÷६८ मा कुल राष्ट्रिय बजेटको १७ प्रतिशत रहेको बजेट क्रमशः घट्दै आर्थिक वर्ष २०७५÷७६ मा आइपुग्दा १०।६८ प्रतिशतमा झरेको छ।

यसरी बर्सेनि शिक्षामा बजेट घटाउनुको अर्थ सरकारले शिक्षालाई प्राथमिकता नदिएको भन्ने बुझिन्छ। यस्तै सातवटै प्रदेशको शिक्षा क्षेत्रको बजेट पनि कम देखिन्छ। कम लगानीमा शिक्षामा सुधार ल्याउन कठिन छ। प्रत्येक वर्ष शिक्षा क्षेत्रमा लगानी भएको बजेटबाट उल्लेखनीय प्रगति भएको देखिँदैन। यसरी हेर्दा शिक्षाको गुणस्तर सुधारका लागि राज्यको चासो कागज र भाषणमा मात्र सीमित रहेको भन्ने बुझिन्छ। विभिन्न प्रयासका बीच किन शिक्षामा प्रगति हुन सकिरहेको छैन रु यो विषय सोचनीय छ।

यसका साथै नेपालको उच्चशिक्षामा पनि गुणस्तर खस्किँदै गएको देखिन्छ। आवश्यक अनुसन्धान र खोजी कार्यमा विश्वविद्यालयहरूको प्राथमिकता नहुनाले उच्च शिक्षाको स्तर अन्तर्राष्ट्रिय स्तरमा अझै पनि तुलनायोग्य हुन सकिरहेको छैन। खासगरी विश्वविद्यालयहरूमा क्षमतावान् प्राध्यापकहरूको कमी छ। पर्याप्त स्रोतसाधन छैनन्। चरम राजनीतिकरण छ। केही समयअगाडि पारित भएको ‘शिक्षा ऐन २०७६’ले नेपालको शिक्षाको दूरदृष्टि तय गरेको देखाए पनि विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डाप्रति शिक्षा नीति मौन हुनाले यस पेसालाई राजनीतिक दलहरूले कार्यकर्ता भर्ना गर्ने ठाउँ बनाएको संकेत गर्छ। नेपाल सरकारले शिक्षा क्षेत्रको गुणस्तर उकास्न गरेका हरेक प्रयासमा सोचेजस्तो उपलब्धि हुन सकिरहेको छैन।

व्यक्तिगत तवरबाट हामीहरूले शिक्षा क्षेत्रका कमजोरीहरू सुधार्न सरकारलाई दबाब दिनुपर्छ। सरकारले युवाहरूलाई शिक्षणतर्फ प्रेरित गराउन राम्रा विद्यार्थीलाई पनि शिक्षक, शैक्षिक प्रशिक्षक, शैक्षिक, प्रशासक इत्यादितर्फ आकर्षित गर्ने कदम चाल्नुपर्छ। समयसापेक्ष शिक्षा दिन नयाँ पुस्तालाई पनि अवसर दिनुपर्छ। शैक्षिक गुणस्तर सुधार्न पहल गर्नुपर्छ। यति धेरै आवश्यकता र अवसरहरू भएको क्षेत्रमा शिक्षकलाई राम्रो तलब दिनुपर्छ। निजी क्षेत्रमा पनि शिक्षकहरूलाई उपयुक्त सुविधा दिनुपर्छ। शैक्षिक स्तर उकास्न पर्याप्त मात्रामा बजेट विनियोजन गर्नुपर्छ र उक्त बजेटको सदुपयोग गर्नुपर्छ। विनियोजन भएबमोजिम बजेटको कार्यान्वयन, खर्चको विवरण र पद्धति र त्यसको परिवर्तनको विश्लेषण गर्नुपर्छ। सोचेजस्तो उपलब्धि नभएमा किन भएन भनेर छानबिन गर्नुपर्छ।

देश विकासका लागि र अन्य जनशक्तिको उत्पादन वृद्धि गर्न शिक्षा, शिक्षण र शिक्षकलाई पनि अरू पेसाजत्तिकै महत्व दिनुपर्छ। यसलाई समस्याग्रस्त क्षेत्र मात्र बुझिरहेको सरकार र आम मानिसहरू शिक्षणतर्फ नलागी शिक्षा क्षेत्रतर्फ केही अवसर नै छैनन् भनेर पछि हट्नु हुँदैन। अन्तिम अप्सन पनि बनाउनु हुँदैन। बरु यो क्षेत्रलाई बुझेर र भएका कमीकमजोरी सुधार्नतर्फ लाग्नुपर्छ। कार्यरत शिक्षकहरू आफ्नो पेसाप्रति जवाफदेही भएर निष्ठापूर्वक लाग्नुपर्छ। देशका विभिन्न स्थानका केही सार्वजनिक विद्यालयले गरेका उदाहरणीय प्रगतिको अनुसरण गर्नुपर्छ। स्वमूल्यांकन गर्दै र गल्तीहरू स्वीकार्दै यस पेसाप्रति निःस्वार्थ रूपमा लाग्नुपर्छ। विद्यालय र उच्च शिक्षाको स्तर अपेक्षित रूपमा राम्रो हुन नसक्नुमा केवल सरकार मात्र होइन, त्यससँग सम्बन्धित हरेक निकाय र व्यक्ति जिम्मेवार छन्। यो हामी सबैले आत्मसात् गर्नैपर्छ।

यो समयलाई साँच्चिकै शिक्षा क्षेत्रप्रति माया, भावना अनि लगाव भएका युवाको खाँचो छ। शैक्षिक गुणस्तर उन्नत बनाउन यस पेसाप्रति समर्पित, मर्यादित, निष्ठावान् र जवाफदेही दक्ष शिक्षक चाहिएको छ। यसको मतलब जति पनि जनशक्ति शिक्षण पेसामा छन्, उनीहरूमा यी क्षमता छैनन् भन्ने होइन। आजको समयलाई बाध्यताले नभई रहरले शिक्षक बन्नेको आवश्यकता छ। हामीलाई त्यस्तो प्रणाली चाहिएको छ, जहाँ शिक्षकहरूको उचित कदर होस्। अन्य पेसाको जस्तै प्राथमिकता होस्। शिक्षकले जन्माएका अन्य पेसाका पदाधिकारीहरूबाट सम्मानजनक व्यवहार होस्। त्यस्तो वातावरणको आवश्यकता छ जसले मजस्ता युवालाई शिक्षक बन्न प्रेरित गरोस्। र ती साथको आवश्यकता छ जसले कसैले म शिक्षक बन्छु भन्दा मुख निन्याउरो पार्न नपारोस्। छोराछोरीको शिक्षक बन्ने चाहनाले आमाबुवाको मन नपोलोस्। गर्वसाथ शिक्षक बन्छु भन्न पाइयोस्। गर्वसाथ आदर्शको विम्ब शिक्षक बन्न पाइयोस्।

आज यसरी लेख्दै गर्दा साँच्चिकै मलाई दिवंगत हुनुभएका मेरा ड्याडीले यी कुराहरू सुनिरहनुभएको छ जस्तो लागेको छ।




सम्बन्धित समाचार


error: Content is protected !!