ट्राफिक प्रहरीको कमाउ धन्दा, प्रदेशको दबाबमा ट्राफिक पोस्टमा काजका प्रहरी

शेरबहादुर थापा
सुर्खेत ःजिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा २३ जनाको दरबन्दी छ तर कार्यालय मातहत ४८ जना कार्यरत छन् ।
दरबन्दी बाहेकका ट्राफिक प्रहरीहरू कर्णाली प्रदेश प्रहरी कार्यालयबाट काजमा खटिएर महत्त्वपूर्ण जिम्मेवारीमा छन् । सुर्खेत प्रवेश गर्ने मुख्य ट्राफिक पोस्ट र सवारीसाधनको बढी चाप हुने मुख्य राजमार्गमा प्रदेश प्रहरी कार्यालयबाट खटिएका ट्राफिक प्रहरी हर्ताकर्ता छन् ।
‘जिल्लाका ट्राफिक पोस्टमा काम गर्न जिल्लामै दरबन्दी भएकाहरूलाई खटाउन हाकिमहरू मान्दैनन्,’ ट्राफिक प्रहरी कार्यालय स्रोतले भन्यो, ‘पोस्टमा खटिने इन्चार्जले कम्तिमा पनि मासिक १ लाख रुपैयाँसम्म घुस उठाएर माथिल्लो निकायमा पठाउँछन् ।’ ट्राफिक पोस्टमा खटिने इन्चार्जले सिधै प्रदेश प्रहरी कार्यालयमा सम्पर्क बनाएर जिल्लालाई बाइपास गर्ने गरेको ती प्रहरी बताउँछन् ।
सुर्खेत जिल्ला ट्राफिक कार्यालय अन्तर्गत १४ वटा ट्राफिक पोस्ट छन् । तीमध्ये सबैभन्दा बढी आवतजावत र चाप हुने ट्राफिक पोस्टमा गोठीकाँडा, बाँगेसिमल, सुब्बाकुना, मेहलकुना, बबई, छिन्चु पर्छन् । यी पोस्टको इन्चार्जमा काजमा खटिएका ट्राफिक प्रहरी रहने गरेका स्रोतले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं प्रहरी निरीक्षक ९इन्सपेक्टर० उदयसिंह सिजापतिले स्वविवेकले ट्राफिक पोस्टका इन्चार्ज खटाउन नपाएको स्वीकार गरे । ‘अब म निरीह भनौं कि के भनौं, मैले प्रहरी खटाउन पाउँदैन । माथिबाट नै खटाउने गरेका छन् । २–४ स्थानमा मैले पनि खटाएको छु,’ उनले भने, ‘नयाँ डीआईजी सा’प आउने भन्ने कुरा सुनेको छु, उहाँ आइसकेपछि समस्या समाधान हुन्छ कि
प्रदेश ट्राफिक प्रहरी कार्यालयले नै अधिकांश ट्राफिक पोस्टमा प्रहरी खटाउने गरेको उनको गुनासो छ । ‘खासमा जिल्लाभर प्रहरी खटाउने जिम्मा मेरो नै हो,’ उनले भने, ‘तर पनि यस्तो समस्या भइरहेको छ, चाँडै समस्या समाधान होला ।’
कुन ट्राफिक पोस्टमा को
सबैभन्दा बढी चाप हुने नाका गोठीकाँडामा प्रहरी जवान रामबहादुर राना खटिएका छन् । ‘यो बाटोबाट जुम्ला जाने जीपबाट मासिक रुपमा १ हजार रुपैयाँका दरले घुस उठाउने जिम्मा यहीँ पोस्टको छ,’ प्रहरी स्रोतले भन्यो, ‘सबैभन्दा मालदार र कमाइ हुने नाकाको रुपमा यसलाई लिइन्छ । हाइस तथा अन्य सवारीसाधनबाट कमाइ पर्याप्त हुने हुँदा यो आकर्षक नाका हो ।’
अस्थायी ट्राफिक पोस्ट छिन्चुमा प्रहरी हवल्दार गजेन्द्रबहादुर सिंह कार्यरत छन् । उनले विगत ४ वर्षदेखि विभिन्न पोस्टमा काम गर्दै आइरहेका छन् । उनी जिल्लामा काज लिएर आएका छन् । बाङ्गेसिमल पोस्टमा प्रहरी जवान कविराज कँडेल कार्यरत छन् ।
सुब्बाकुनामा प्रहरी हवल्दार धनबहादुर खड्का कार्यरत छन् भने बड्डीचौरमा प्रहरी जवान पदमबहादुर शाही कार्यरत छन् । कपासेमा प्रहरी जवान कुलबहादुर शाही, बबईमा प्रहरी हवल्दार फुलाराम चौधरी, जहरेमा प्रहरी हवल्दार प्रदीप रोकाया, मेहलकुनामा प्रहरी हवल्दार यमबहादुर चौधरी, बोटेचौरमा प्रहरी हवल्दार भगवत चौधरी, बादेपिपलमा भीमबहादुर धामी र लेकबेसीमा प्रहरी जवान बाबुलाल बस्याल कार्यरत छन् । यी सबै पोस्टमा खटिएका इन्चार्ज काजमा परिचालन भएका स्रोतको दाबी छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयले भने इन्सपेक्टर सिजापतिको गुनासोको खण्डन गरेको छ । ‘उहाँकै समन्वय, आग्रह र रायका आधारमा हामीले ट्राफिक प्रहरी खटाइरहेका छौं,’ प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज चौरासियाले भने, ‘उहाँहरू आफूसँग कम जनशक्ति भएको भन्दै खटाइदिन भन्नुहुन्थ्यो । त्यहीँ आधारमा हामीले तालुकदार निकायसँगको समन्वयमा जनशक्ति पूर्ति गर्दै आइरहेका छौं ।’
कमिसनको चक्करमा प्रदेश ट्राफिक प्रहरी कार्यालयले काजका जनशक्ति पोस्टमा खटाउने गरेको आरोपको समेत उनले खण्डन गरे । ‘हामीले कसैबाट कमिसन उठाउने गरेका छैनौं । उहाँहरूले नै जनशक्ति खटाउनुभएको हो । उहाँहरूको माग अनुसार हामीले जनशक्ति उपलब्ध गराइदिएका हौं,’ उनले भने, ‘के कारणले उहाँले आफूलाई निरीह भन्नु भएको हो मलाई थाहा भएन ।’










