गाउँमा मौलायो अफिमखेती

जाजरकोट ः नलगाड नगरपालिकामा अबैध लागूऔषध अफिमखेती मौलाएको छ । कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीयवासी अफिमखेतीमा आकर्षित भएका हुन् ।

धेरै आम्दानीको आशामा स्थानीय बासिन्दाले पाखोबारीमा गहुँ, जौ, तोरीलगायत खेती लगाउन छाडेर अफिमखेती गर्ने गरेका छन् । प्रहरी गस्ती नपुग्ने विकट र वन क्षेत्रमा रहेका पाखोबारीमा अफिम खेती हुन्छ । नलगाडका स्थानीय बासिन्दा कमल मल्लका अनुसार सिँचाइ अभावका कारण पाखोबारीमा अन्नबाली उत्पादन घटिरहेको छ । ‘अन्न उत्पादनले वर्षभरि खान नपुग्ने किसानले अफिमबाट लाखौं आम्दानी गरिरहेका छन्,’ उनले भने, ‘प्रहरीले पनि बेवास्ता गर्दा अवैध खेतीमा बल पुगिरहेको छ ।’

उनका अनुसार गाउँमा अफिम प्रतिकेजी करिब ५ लाख रुपैयाँमा बिक्री हुन्छ । नलगाड–३, कैनाका एक किसानले दुई रोपनी पाखोमा दुई किलोसम्म अफिम उत्पादन हुने बताए । गाउँगाउँमा लगाएको अफिम खेतीबाट अबको दुई महिनापछि अफिम निकाल्ने काम सुरु हुने उनको भनाइ छ । ‘व्यापारी बारीमै आउँछन्, बिक्रीको समस्या पनि छैन,’ उनले भने, ‘आम्दानीको लोभले लुकेरै खेती गरिरहेका छौं ।’ स्थानीय बासिन्दाले असोजरकात्तिकमा लगाएको अफिम वैशाखभित्र भित्र्याउँछन् । अफिमबाट प्रत्येक सिजनमा एक घरले १० लाखसम्म आम्दानी गर्ने गरेका उनले बताए ।

सम्बन्धित निकायबाट नियन्त्रण तथा नष्ट गर्न बेवास्ता भएपछि गाउँमा लामो समयदेखि अफिमखेती भइरहेको छ । नलगाड–३ को ट्टा, चाउलेचौर, नहकुली, भदाले, करुवा, सानावन, द्वारेलेखे, काडा किटेनी र ओबैडाडीमा अफिम खेती भइरहेको एक शिक्षकले बताए । उनका अनुसार ४ नम्बर वडाको लँह, चच्चुलाइना, फूलचाउली, भाच्चिउरा, प्यारधारा, ५ नम्बरको लविसा, ऐरारी, ६ को थाप्ला र गर्छिनामा पनि अफिमखेती मौलाएको छ । नलगाडका एउटै किसानले १० रोपनीसम्म पाखोबारीमा अफिमखेती गरिरहेको उनले जानकारी दिए । उनका अनुसार एक रोपनीमा न्यूनतम ३ लाख रुपैयाँको अफिम आम्दानी हुन्छ ।

केही व्यापारीले खेती गर्नुअघि किसानलाई दिने गरेका छन् । प्रहरीले भने कारोबारीलाई फेला पार्न नसकिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नलगाडमा अफिमखेती भएको जानकारी आएको बताए । ‘प्रहरीलाई तुरुन्तै खेती नष्ट गर्न निर्देशन दिइसकेको छु,’ उनले भने, ‘कतिपयले गाँजा र अफिम अवैध हो भन्ने थाहा नपाएर पनि खेती गरेको पाइएको छ ।’

अफिम खेती गर्ने गाउँमा लागुऔषध उत्पादन, बिक्री वितरण, सेवनको असर, कैद, सजायलगायतबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको प्रजिअ पन्तले बताए । उनका अनुसार गत वर्ष प्रहरीले नलगाडमा करिब ७० रोपनी पाखोबारीमा लगाएको अफिमखेती नष्ट गरेको थियो । गाँजा र अफिमखेती गर्नेको पहिचान नहुँदा कानुनी दायरमा ल्याउन नसकिएको उनको भनाइ छ । उनले अफिमलगायत लागूऔषधको मुख्य कारोबारी पत्ता लगाउन विभिन्न माध्यमबाट प्रहरी टोली परिचालन भइरहेको बताए कान्तिपुरमा खवर छ ।




सम्बन्धित समाचार


error: Content is protected !!