नेता जन्माउने स्कुल, भवनले गिज्याइरहेछ पूर्वविद्यार्थीलाई

काठमाडौं ः तस्वीरमा देखिएको भवन विद्यालय भवन हो भन्दा तपाईंलाई पत्यार नलाग्ला। तर, यो विद्यालय भवन नै हो। जाजरकोटको भेरी नगरपालिका–११ जगतिपुरस्थित शिवशंकर माध्यामिक विद्यालयको। जहाँ कक्षा १ देखि १२ सम्म अध्ययन–अध्यापन भइरहेको छ।

यो त्यही विद्यालय हो, जसका उत्पादन अहिले राज्य सञ्चालन र देशको प्रमुख पार्टी नेकपाको केन्द्रीय तहमा प्रतिनिधित्व गर्छन्। तर, छानो उडेको जीर्ण विद्यालय भवनले तिनै पूर्वविद्यार्थीहरूलाई गिज्याइरहेको छ।

२०१७ सालमा स्थापना भएको विद्यालय २०५४ सालमा माविमा स्तरोन्नति भएको थियो। अहिले यहाँ करिब ८०० विद्यार्थी पढ्छन्। शिक्षक दरबन्दी पर्याप्त छ।

तर, जोखिमपूर्ण मात्र होइन अपर्याप्त भौतिक संरचनाका कारण विद्यालयको पठनपाठनमा समस्या भइरहेको छ। गएको असारमा आएको हुरीले विद्यालयको छाना उडाएको थियो। जुन अहिलेसम्म पनि मर्मत गरिएको छैन।

कुनै बेला यही विद्यालयमा अध्ययन गरेका ९पछि केही समय अध्यापन समेत गरेका० मायाप्रसाद शर्मा अहिले नेकपाको केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेश सचिव छन्।

उनले २०४९ सालको स्थानीय निर्वाचनमा सोही विद्यालयको शिक्षण पेशा छाडेर राष्ट्रिय जनमोर्चाको तर्फबाट गाविस अध्यक्षमा चुनाव लडेका थिए। तर, उनी पराजित भए। पछि सशस्त्र युद्ध शुरू भएपछि उनी युद्धमा सहभागी भए। युद्धका बेला उनले परिवारका धेरै सदस्य गुमाउनुपर्‍यो।

२०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएका शर्मा गएको ९ माघमा सम्पन्न निर्वाचनबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। उनको शपथ २१ फागुनमा हुनेछ। शर्मा मात्र होइन सोही वडाका रामदीप आर्चाय र निरज आचार्य पनि नेकपाको केन्द्रीय सदस्य छन्। रामदीप यसअघि पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकार थिए।

११ र १२ कक्षाका विद्यार्थीलाई पानी परेको समयमा विद्यालयको प्रशासन र लेखा शाखामा सोफा सेटमा राखेर पढाउने गरिन्छ भने घाम लागेको समयमा चौरमा राखेर पढाइन्छ।

यस्तै, सोही वडाकी कृष्णा शाह अहिले कर्णाली प्रदेश सभाको सदस्य छन्।

विद्यालय रहेको वडामा कांग्रेसबाट वडाध्यक्ष ९लक्ष्मीप्रसाद आचार्य० निर्वाचित छन् तर, भेरी नगरपालिकामा नेकपाकै चन्द्रप्रकाश घर्ती मेयर छन्। भेरी नगरपालिका–१ स्थायी ठेगाना भएका शक्तिबहादुर बस्नेत संघीय सरकारका वन तथा वातावरण मन्त्री छन्।

भेरी नगरपालिका–४ का भैरवसुन्दर श्रेष्ठ र कालीबहादुर मल्ल राष्ट्रिय सभा सदस्य छन्। मल्लको कार्यकाल आज २० फागुनदेखि सकिएको छ।

तर, विद्यालयको ‘हरिविजोग’ कसैको नजरमा पर्न सकेको छैन। विद्यालयको दुरावस्थाका विषयमा जानकारी नगराइएको पनि होइन। भेरी नगरपालिकाका मेयर घर्तीले दुई पटक विद्यालयको अनुगमन गरिसकेका छन्। प्रमुख प्रशासकीय अधिृकतले पनि विद्यालयको अवलोकन गरिसकेका छन्। तर, कतैबाट कुनै ‘सहयोग नभएको’ विद्यालयका प्राचार्य रामलाल आचार्यको गुनासो छ।

“मेयरसा’बले पनि अनुमगन गर्नुभयो, प्रमुख प्रशासकीय अधिकृतज्यू पनि आउनुभयो” आचार्य भन्छन्, “गएको असारमै विद्यालयको अवस्थाबारे सरोकारवाला सबैसमक्ष जानकारी गराएका हौँ तर, अहिलेसम्म सुनुवाइ भएन।”

शिवशंकर माविमा अहिले प्राविको बाहेक तीनवटा भवन छन्। एउटा भवनमा प्रशासन, कम्युटर शाखा र लेखा शाखा सञ्चालनमा छन्। बाँकी, दुई कोठे एउटा भवनमा कक्षा ९ तथा १० र तीन कोठे भवनमा कक्षा ६–८ को पढाइ हुन्छ।

जीर्ण भवनमै पठानपाठन चलिरहेको प्राचार्य आचार्य बताउँछन्। उनका अनुसार ११ र १२ कक्षाका विद्यार्थीलाई पानी परेको समयमा विद्यालयको प्रशासन र लेखा शाखामा सोफा सेटमा राखेर पढाउने गरिन्छ भने घाम लागेको समयमा चौरमा राखेर पढाइन्छ।

“कम्तीमा एउटा पक्की भवनसम्म भएको भए धेरै सहज हुने थियो। यही विद्यालयका पूर्वविद्यार्थी अहिले राष्ट्रिय राजनीतिको महत्वपूर्ण स्थानमा हुनुहुन्छ, नगरभित्रकै व्यक्ति संघीय सरकारको मन्त्री हुनुहुन्छ”, प्रधानाध्यापक आचार्यले भने, “तर, हामी ‘बत्तीमुनिको अँध्यारो’ भनेजस्तो भयौं।

विद्यालयलाई स्थानीय सरकार र संघीय सरकारका तर्फबाट सहयोग नै नभएको भने होइन। तर, उक्त रकम विद्यालयले प्रयोग गर्ने गरी प्राप्त भएको छैन।

प्रतिनिधि सभामा जाजरकोटबाट निर्वाचित वन तथा वातावरण मन्त्री बस्नेतको सांसद विकास कोषबाट १८ लाख रूपैयाँ विनियोजन भएको छ।

विद्यालयले भवन र घेराबारका लागि प्रस्ताव गरेको थियो। तर, सांसद कोषबाट घेरबारका लागि मात्र १८ लाख रूपैयाँ विनियोजन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालु हमाल बताउँछन्। विनियोजित रकम विद्यालयले प्राप्त गरेको छैन।

रकम प्रयोगका सम्बन्धमा केही विवाद समेत देखिएको छ।

रकम विद्यालयको खातामा जम्मा गरिदिन र विद्यालय व्यवस्थापन समितिले नै घेराबारको काम गर्न पाउनुपर्ने विव्यवसको माग छ। तर, नगरपालिकाले उपभोक्ता समिति गठनको प्रक्रिया अघि बढाउन वडापालिकालाई पत्राचार गरेको छ।

विवादकै कारण घेराबार निर्माणको काम अघि बढ्न सकेको छैन।

यस्तै, भेरी नगरपालिकाले विद्यालयमा शौचालय निर्माणका लागि सात लाख रूपैयाँ विनियोजन गरेको छ। तर, उक्त रकम पनि सम्झौता हुन बाँकी रहेको विव्यस अध्यक्ष हमालले बताए देखापढीमा खवर छ ।





error: Content is protected !!