डोल्पाको जिप दुर्घटनामा चालकको मृत्यु

डोल्पा ः डोल्पाको भित्तिमा भे १ च २४६४ नम्बरको जिप दुर्घटना हुँदा २३ वर्षीय चालक पञ्चेबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ७ बजे त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट सदरमुकाम दुनै जाने क्रममा भित्तिमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
ठुलिभेरी नगरपालिका वडा नं ५ हुँ गाउँ बस्ने चालक बुढाको उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सडकबाट २ सय मिटर तल खसेर भेरीको किनारमा पुगेको बताइएको छ ।
घटना कसरी घट्यो भन्ने बिषयमा अनुसन्धान गर्न प्रहरी नायव निरीक्षकको टोली घटनास्थलमा पुगेको प्रहरी नायव उपरीक्षक रञ्जितकारले बताए । दुर्घटनाको समयमा जिपमा चालक बुढामात्रै सवार रहेको प्रहरीले जनाएको छ ।










