अज्ञात रोगको पुष्टि हुन सकेन, प्रकोपस्थलमा औषधि अभाव

डोल्पा त्रिपुुरासुुुुन्दरी नगरपालिका १ करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको अझै पुष्टि हुन सकेको छैन । रोगको लक्षण हेर्दा सिजनल फ्लु जस्तो देखिए पनि ल्याब परीक्षणबाट पुष्टि हुन नसकेको उपचारमा संलग्न स्वास्थकर्मी शेरबहादुर कठायतले बताए ।
भाइरल फैलिएको दुई साता पुग्न लाग्दासमेत ल्याब परीक्षण गरिएको छैन । छोटो समयमै गाउँभरि रोग फैलिएको छ । ४५ घरधुरी भएको केरेलीकाँडामा घरैपिच्छे बिरामी भएका छन् ।
घरमै पुगेर ४० जनाको उपचार
अहिलेसम्म ४० जना बिरामीको घरमै पुगेर उपचार भएको स्वास्थकर्मीको टोलीले बताएको छ । एक सातायता गाउँभरि बिरामी थला परेको खबर पाएपछि स्वास्थचौकी त्रिपुराकोटको टोली सोमबार बेलुकी प्रकोपस्थल पुगेको थियो ।
‘हिजो बेलुकीदेखि अहिलेसम्म ४० जनालाई पुर्जा काटेरै औषधि बाँडेका छौँ, सोमबार बुेलुकी चलाएको औषधिले काम गरेको बिरामीले बताएका छन्, त्यस्तो जटिलखाले बिरामी भेटिएका छैनन्,’ कठायतले भने ।
‘१०४ डिग्रीसम्म ज्वरो आएका बिरामी जाँच्यौं, रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता गर्ने, रिंगटा लाग्ने, शरीर दुख्ने जस्ता लक्षण देखिए । मौसम परिवर्तन भएकाले मौसमी रुघाखोकी हुनसक्ने आशंका छ’, कठायतले भने ।
सामान्य औषधि पनि अभाव
रोग प्रभावित क्षेत्रमा सामान्य औषधिको समेत अभाव देखिएको छ । सामान्य रुघाखोकी र ज्वरोको समेत औषधि अभाव हुन थालेको उपचार टोलीमा खटिएका कठायतले बताए ।
सिडिओ भन्छन्, ‘औषधि पठाउँदै छौँ
रोग प्रभावित क्षेत्रबाट स्वास्थकर्मीले औषधि नभएको बताएपछि अपुग औषधि पठाइएको प्रजिअ सुरेस सुनारले बताए । रोग प्रभावित क्षेत्रमा स्वास्थकर्मी पुगेर उपचार गराइरहेकाले ल्याब परीक्षणविना रोग पत्ता लाग्न नसक्ने उनले बताए ।
जिल्लाबाट ल्याब परीक्षण गर्ने गरी दुई जना स्वास्थकर्मी सहित चिकित्सकको टोली पठाउने तयारी गरे पनि त्यसका लागि आवाश्यक औषधिलगायत सामग्रीहरु नभएकाले जान नसकेको उनले बताए ।
जिल्लाले अझै पठाएन चिकित्सक
अज्ञात रोगका कारण सिंगो गाउँ नै एक सातादेखि थला पर्दा पनि जिल्ला प्रशासन कार्यालयले भने अझै दक्ष चिकित्सक पठाउन पहल गरेको छैन। करेलीकाँडामा फैलिएको रोगको विषयमा कर्णाली प्रदेश सरकारको सदनमा समेत ध्यानकर्षण हुँदा माक्स, ग्लोब्स र औषधि उपकारण अपुग भएको भन्दै जिल्लाले डाक्टर पठाउन आलटाल गरको हो ।
उक्त गाउँमा फैलिरहेको रोगका विषयमा डोल्पा प्रदेशसभा सांसद वीरबहादुर शाही र सांसद बद्मीकुमारी बोहोराले सोमबार सदनमा समेत कुरा उठाएका थिए ।
त्यतिमात्र नभई स्थानीय सरकारका रुपमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाले पनि आफ्नै क्षेत्रमा पर्ने करेलिकाँडामा थला परेका बिरामीको उपचारका लागि ध्यान नदिएको स्थानीयले गुनासो गर्न थालेका छन् ।
अहेव र अनमीको भरमा बिरामी
गाउँ नै थला पर्दा पनि स्वास्थ चौकीका एक अहेव र एक अनमीको भरमा उपचार भइरहेको छ । जिल्लामा दक्ष डाक्टरहरु हुँदाहुँदै पनि स्वास्थकर्मीको भरमा मात्र बस्नु दुखद् भएको जिल्लावासीले बताएका छन् ।










