नलगाडको मुआव्जा वितरणको बाटो खुल्यो

हेमन्त केसी
जाजरकोट , लामो समय देखि थाति रहेको मुआव्जाको वितरणको विवाद आजबाट सल्टिएको छ । आज जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको वैठकले मुआव्जा वितरणको कुरा सल्टाएको हो ।
मुआव्जा वितरणमा विभेद भएको भन्दै आलोचना गदै आएका यहाँका स्थानीयवासीहरु माग सम्वोधन भएपछि मुआव्जा वितरणको काम सल्टिएको हो । पीडितले वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत , उर्जामन्त्री वर्षमान पुन लगायतलाई भेटेर मुआव्जाको रकम बढान माग गरेका थिए । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार ४ हजार ६०५ रोपनी जग्गाको मुआव्जा वितरणको कुरा टुगो लागेको हो । प्रतिरोपनी रु ६ लाखको दरले रकम मुआव्जा दिने सहमती पछि आज विवाद मत्थर भएको हो ।
अहिले आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कनको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ । डिपिआरको जिम्मा अष्ट्रलियको स्मेक ईन्टरनेशनल प्रालि सँगै अमेरिकाको एमडव्लुएच ईन्टरनेशनल आरएनसीका साथै नेपाली उदय कन्सलटेन्सी लिएको छ ।
आयोजना निर्माण स्थलमा प्रभावित हुँने क्षेत्र
बारेकोट गाउँपालिका र नलगाड नगरपालिका भित्र पर्ने नलगाड नदीबाट निर्माण हुँन लागेको नलगाड जलविद्युत आयोजनाबाट यहाँका फलाम, तामा खानी , जलचर प्राणी , कस्तुरी , चिरकालिज , सुनगिद्ध मृग , सिलाजित लगाएतका जडीवुटीलाई पर्ने प्रभावका विषयमा यहाँका स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
पुखौँदेखि वस्दै आएका स्थानीयवासीलाई सही रुपमा व्यवस्थापन गर्नुपर्ने र आयोजना निर्माण स्थलबाट विस्थापित भएकालाई राज्यले कति वर्ष सम्म सहयोग गर्ने हो त्यो समेत किटान गर्न आग्रह गदै सकेसम्म स्थानीय स्तरमै बसोबासको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
सरकारले यो आयोजनाको डिपिआर छिटो निर्माण गरी निर्माण प्रक्रियामा लिने तयारी गरेको छ । कर्णाली प्रदेशको सामरिक महत्वको रुपमा हेरिएको यो आयोजना निर्माण गर्न कम खर्चीलो हुँनुका साथै सजिलो समेत भएको उर्जा विज्ञको तर्क छ । केही दिन अघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत आयोजनालाई निर्माण गर्नका लागि जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)लाई आग्रह थियो ।
जापानी व्यवसायी एवम् जाइकाले नलगाड जलविद्युत आयोजना निर्माणका लागि इच्छा समेत देखाएको छ । आयोजना निर्माणका लागि रु १२३ अरव लाग्ने अनुमान गरिएको छ । वातावरणीय व्यवस्थापन अनुमानीत लागत रु ५६ अरव लाग्ने आयोजनाले बताएको छ । ६.५ वर्ष भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्य लिईएको छ ।
आयोजनाको वाध भरिदा ४७४ करोड घनमिटर पानी भण्डारण हुँने र जुन समुन्द्र सतह देखि १ हजार ५ सय ८० सम्मको उचाईमा पुग्ने छ । ५४५ मिटर चौडाई र २१० मिटर अग्लो जलाशय हुँने छ । ८ हजार ३ सय मिटर लामो भुमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत उत्पादन हुँने डिपिआरमा उल्लेख छ ।
सरकारले आयोजना प्रभावित ६५७ भन्दा बढी घरपरिवारलाई रु दुई अर्ब ७२ करोड मुआब्जा बाँड्ने तयारी थालेको छ । आयोजनाले पार्ने वातावरणीय एवम् जैविक प्रभाव न्यून गर्नुपर्ने र वातावरणीय संरक्षण नियम २०५४ लाई ध्यान दिनुपर्नेमा जोड दिदै काम गर्न आग्रह सरोकारवालाले गरेका छन् ।
आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र कार्बन डाइअक्साइडको उत्सर्जन हुनबाट सात लाख १७ हजार टन बचत हुनेछ । आयोजनाले क्षेत्रीय पूर्वाधारको विकास, विदेशी मुद्रा आर्जन, पर्यटन, ग्रामीण अर्थतन्त्रको विकास र विस्तार एवम् रोजगारीको सिर्जना, व्यापार व्यवसायको अवसरमा वृद्धि हुनेछ ।
आयोजनाले नलगाड नगरपालिका–५ र ७, बारेकोट गाँउपालिका–१, २,५, ६, ७ र ८ प्रभावित हुनेछ । अहिले नलगाड नगरपालिका – ७ दल्लीमा भुमिगत रुपमा निर्माण हुँने विद्युत उत्पादन गृहको अवस्था (कम्जोर, जटिल) पत्ता लगाउनका लागि सुरुङको काम चलिरहेको छ । ३० महिना भित्र निर्माण कार्य पुरा गर्ने भनि गरिएको सम्झौता सकिएर , थपिएको ६ महिना सम्म म्याद गुर्जिदा सम्म अझै डिपिआरको काम पुरा हुँन सकेको छैन् ।










