टाउकोको मूल्य तोकेकै पार्टीको नेतृत्वबाट परिवर्तन सम्भव भयो ः प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टाउकोको मूल्य तोकेकै पार्टीको नेतृत्वबाट परिवर्तन सम्भव भएको बताएका छन् ।
२५ औं जनयुद्ध दिवसका अवसर पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रदाञ्जलीसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘शान्ति सम्झौता होला भन्ने सोचेका थिएनन् धेरैले । शान्ति प्रक्रियामार्फत गणतन्त्रसम्म आइपुग्नु नेपाली जनताको सौभाग्यपूर्ण उपलब्धि हो ।
पाँच वर्षअघिसम्म एकअर्काप्रति तिखो छेड्छाड गर्ने कम्युनिस्ट पार्टी आज एउटै भएको स्मरण गर्दै उनले श्रीलंका, पेरुलगायत विश्वका विभिन्न देशमा कम्युनिस्ट पार्टीले जनयुद्धबाट शान्ति प्रक्रियामा आउन खोजे पनि आउन नसकेको बताए । उनले नेपालको सन्दर्भमा तत्कालीन माओवादीले शान्ति प्रक्रियाबाट गणतन्त्रसम्मको उपलब्धि हासिल गर्न सकेको दाबी गरे । नेकपा तथा भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी आज २५ औं जनयुद्ध दिवस मनाउँदै छन् ।
प्रधानमन्त्री ओली अनुपस्थित
पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपस्थित छैनन् । निर्धारित समय भन्दा करिब एक घण्टा ढिलो सुरु भएको कार्यक्रममा प्रधानमन्त्री ओली आउने, नआउनेबारे कसैले औपचारिक रुपमा जानकारी दिएका छैनन् । तर ,उपस्थित नेता तथा कार्यकर्तासँग जिज्ञासा राख्दा ‘स्वास्थ्यमा समस्या आएकोले उहाँ उपस्थित हुन सक्नु भएन’ भन्ने जवाफ पाइरहेका छन् नयाँ पत्रिकाको अनलाईन संस्करणमा छापिएको छ ।










