भेरीको अभियानमा एक जुट हुन अव ढिला नगरौं

सम्पादकीय
सबै सुखी हुन, सबै निरोगी हुन्, सबै दुःख, कष्ट, पीडामुक्त हुन भन्ने आदर्श बोकेर हिँडेका हामी र हाम्रो सभ्यता इतिहासको एउटा कालखण्डमा आएर मानिस मानिसबीच विभेदको पर्खाल ठड्याएर मुर्छित हुन पुग्यो ।

यो विभेद अरु कारणले होइन जात पातका नाममा जातीय विभेदका रुपमा उभियो । त्यही जातीय विभेद र छुवाछूतले मानव अधिकार रुपी स्निग्ध निधारमा कलंकको टीकाका रुपमा आज पनि हाम्रो समाजमा घरबास गरेकै छ । यही जातीय भेदभाव तथा छुवाछूतको कलंकलाई चिरफार गर्दै सुधारका उपाय औंल्याउन तपाई , हामी एक जुट होऔं । जातीय भेदभाव तथा छुवाछूतलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कानूनी र शैक्षिक पक्ष समेतलाई समेट्दै भेरी नगरपालिकाले सुरु गरेको छ । यहाँ समस्या मात्र संकलित छैनन्, निराकरणका उपायको खोजी गरी समाधानमा केन्द्रित रहेको देखिन्छ । समस्या पहाडका पनि छन्, समस्या मधेशका पनि छन् ।

समस्या गाउँका पनि छन्, शहरका पनि छन् । समग्रमा जातीय विभेद र छुवाछूतको अवस्थामा हिजो भन्दा आज के कति सुधार भयो भन्ने आंकलन गर्दा, गर्न बाँकी धेरै देखिए । ती सबै नगरले लिपिवद्ध गरेको देखिन्छ । मूलतः जातीय भेदभाव तथा छुवाछूतको अन्त्य केवल दलित वर्गको मात्र विषय होइन, यो राष्ट्रकै विषय हो । यो कुनै समूहको मात्र सरोकारको विषय होइन, सम्पूर्ण समाजकै आवश्यकता हो । राष्ट्रले कानून दिएको छ, त्यसको कार्यान्वयनमा अझ बढी सक्रियताको खाँचो छ । समाजमा दलित अधिकारका विषयमा केही सकारात्मक परिवर्तन भएका छन्, तर त्यो परिवर्तनको गति अति सुस्त छ । कानूनको कार्यान्वयन र सामाजिक परिवर्तनको गतिमा सुधारको खाँचो र तिनका उपाय औँल्याउने एउटा प्रयास भेरी नगरले गरेको छ । यस क्षेत्रमा देखिने सुधार भन्दा भावनात्मक सुधारको बढी आवश्यकता छ । मानिसहरुको मनमस्तिष्कमा जरा गाडेर बसेको विभेदको मनोविज्ञानलाई निरस्त पार्न सजिलो छैन ।

जुग जुगदेखि हिनताबोधले कुप्रेको ढाड सोझ्याउन सजिलो छैन । तर, आज प्रयासको थालनी नगर्ने हो भोलि धेरै ढिला भइसक्नेछ । यो प्रयास सरकार, आयोग, राजनीतिक दल, सञ्चार माध्यम, गैसस लगायत सम्पूर्ण मानव अधिकारकर्मीबाट हुन जरुरी छ । जातीय भेदभाव तथा छुवाछूतको अन्त्य हुनै पर्दछ, त्यसमा कसैको विमति हुन सक्दैन । तर, यो विमति शब्दमा मात्र होइन भावनामा पनि मुखरित हुन सकोस्, यो विमति भाषणमा मात्र होइन आचरणमा पनि देखिन सकोस् । समग्रमा जातीय अधिकारप्रति दरो समर्पण, जातीय भेदभाव विरुद्ध सशक्त आवाज र छुवाछूत विरुद्ध कठोर कदम हामी सबैको साझा उद्देश्य बनोस् । सबै मानवका मानव अधिकारको रक्षा र प्रवद्र्धन हामी सबैको साझा लक्ष्य बनोस् । हेमन्त केसी





error: Content is protected !!