नाग्म गमगडि राजमार्गको ‘बड्कीमा प्रहरी चौकी स्थापना’

नेत्र शाही
जुम्ला, सिञ्जा, सरकारले शान्ति सुरक्षा र अपराध नियन्त्रण कम गर्नका लागि नाग्म गमगडि राजमार्गको बड्कीमा प्रहरी चौकी स्थापना गरेको छ ।
नेपाल सरकार गृह मन्त्रालयले प्रहरी चौकी स्थापना गर्ने निर्णय अनुसार जुम्लाको हिमा गाउँपालिका बड्कीमा नयाँ प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो । प्रजिअ बञ्जाडे सहित गाउँपालिका अध्यक्ष रजबहादुर शाही, उपाध्यक्ष हिमाली रोकाया, गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले संयूक्त रुपमा प्रहरी चौकीको उद्घाटन गरिएको हो । राजमार्ग क्षेत्रको अपराध अनुसन्धानमा सजिलो गर्न, शान्ति सुरक्षा मजवुद्ध गर्ने उद्देश्यले प्रहरी चौकी चाडै स्थापना गरिएको प्रजिअ बञ्जाडेले थप्नुभयो ।
गाउँको माग र आवश्यकताको आधारमा नेपाल सरकार मन्त्री परिषदको बैठकले गरेको निर्णय अनुसार राजमार्ग क्षेत्रमा प्रहरी चौकी राख्ने निर्णय अनुसार अहिले उपलब्ध जनशक्ति खटाई प्रहरी चौकी स्थापना गरिएको गृह मन्त्रालयका सहप्रबक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयो । उहाँले अपराध नियन्त्रण गर्न तथा शान्ति सुरक्षा मजवुद्ध गर्ने उद्देश्यले प्रहरी चौकी राखिएको छ । अव स्थानीय सँग साझेदार गरेर प्रहरीले काम गर्न स्थानीयलाई अपिल गर्नुभयो ।
प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले हिमा गाउँपालिकाको बड्की, तातोपानी गाउँपालिकाको लिताकोट र गुठीचौर गाउँपालिकामा प्रहरी चौकी स्थापना गर्ने अनुमति भएको जानकारी दिनुभयो ।
रारा जाने पर्यटकका लागि सजिलो
नाग्म गमगडि राजमार्गमा राराजाने पर्यटकहरु हरेक बर्ष बढ्दै जाने गरेकाले समेत सुरक्षाको हिसावले सजिलो हुने भएकोछ । यसैगरी बड्की गाउँलाई कर्णाली प्रदेश सरकारले होम स्टेको शुरुवात गरेको छ । यसैले पनि पर्यटकहरुका लागि पनि शान्ति सुरक्षामा सघाउ पुग्नेछ । यसका साथै पर्यटकहरुको तथ्यांक समेत लिन सकिनेछ ।
स्थानीयले निशुल्क जग्गा दिएपछि चौकी स्थापना गर्न सजिलो भएको स्थानीय दिपबहादुर शाहीले जानकारी दिनुभयो । अर्को नाग्म गमगडि राजमार्गको शुरुवातको विन्दु हिमा गाउँपालिका र सिञ्जा गाउँपाकिाको बिचमा पर्न सक्ने विभिन्न प्रकोपका घटनाहरु, अपराधहरु, झगडाहरुको निर्मुल पार्न सजिलो हुने स्थानीयको बुझाई छ । हिमा गाउँपालिका १ बड्की कालिकोट जाने नाका पनि कालिकोटको पलाता गाउँपालिका सँग जोडिएको भूगोल भएकाले पनि शान्ति सुरक्षामा सजिलो हुने भएको छ ।
गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले प्रहरी चौकीले स्थानीय सरकारका काम र समृद्धिमा समेत सहयोग गर्ने अपेक्षा गरिएको जानकारी दिनुभयो । प्रहरी चौकीमा एक असयी सहित ६ जनाको प्रहरी टोली राखि सकिएको छ ।
छाउपडि विरुद्धको शान्ति दुतहरु चयन
स्थानीय स्तरको छाउपडि उन्मुलन अभियान संचालनका लागि गाउँपालिकाको वडा नं ४ का वडाध्यक्ष मुनबहादुर बुढाको संयोजकत्वमा ७ सदस्यीय छाउपडि बिरुद्धको शान्ति दुतहरु चयन गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनामा संचालन गरिएको छाउपडि विरुद्धको महाअभियान अन्तरगत हिमा गाउँपालिकाले पहिलो पटक स्थानीय स्तरमा उपाध्यक्ष हिमाली रोकायाको संयोजकत्वमा रहेको समितिमा सदस्यहरुमा शान्ति शाही, पुर शाही, मुन बुढा, नेत्र शाही, चक्र शाही, दानकला शाहीलाई छाउपडि बिरुद्धको शान्ति दुतहरु घोषणा गरेको हो । यसैगरी कार्यक्रमा सामुदायिक साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालयले आफ्नो सेवा प्रवाहको वारेमा जानकारी समेत स्थानीय स्तरमा गरेको छ ।










