पर्यटकीय तथा धार्मिक सम्भावना बोकेको भुमेश्वर गुफा ओझेलमा

कालीबहादुर नेपाली जाजरकोट । जिल्लाको साविककाे जगतीपुरमा रहेको एक गुफा ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसारको अभावमा जगतीपुर गाविस वडा नं २ मा रहेको भुमेश्वर गुफा ओझेलमा परेको स्थानियले वताएका छन् ।

गुफा संरक्षणका लागी गाविस ,जिविस पुरातत्वविभाग विभाग लगाएतले कुनै सहयोग नगर्दा प्रचार प्रसार , मर्मत गर्न नसकेको स्थानिय लोकेन्द्र आर सी ले जानकारी दिए । गुफाको लम्वाई ४० मिटर जती रहेको छ । प्राचिन गुफा भित्र चरा मुसा, सर्प,कैलास प्रर्वत ,मयूर , गणेस, गाईको थुन रहेका छन् ।

प्राचीन आकृती भएको पानी सहितको तीन कुण्ड भएको यो गुफा मनमोहक रहेको छ । यो गुफामा अहिले सन्तहरु वस्ने गरेका छन् । भेरी नदिको किनारमा रहेको यो गुफा संरक्षणको प्रखाईमा रहेको छ ।  जिल्लाका विभिन्न ठाउँमा दर्जन वढी गुफाहरु भएपनि आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा पदै आएका छन् ।

भूमेश्वर महादेवको इतिहास

किम्बदन्तीअनुसार सत्ययुगको प्रथम चरणमा ब्रह्मा, विष्णु, महेश्वर त्रिदेवले विभिन्न प्राणीको सृष्टि गर्ने क्रममा नैमिसारण्य क्षेत्रमा देवसभा बसेको थियो । उक्त देवसभाबाट विष्णु पूर्व र दक्षिण दिशाको जिम्मा लिएर त्यसतर्फ लागेको, ब्रह्मा पश्चिम दिशा, महादेव उत्तर दिशा लागेको र चारै दिशा सृष्टि गर्ने जिम्मा ब्रह्माजीको, पालन गर्ने जिम्मा विष्णुको र संहार गर्ने जिम्मा महेश्वर शिवको थियो भन्ने किम्बदन्ती पाइन्छ ।

तिनै देवताहरूले विभिन्न देवता ऋषिमुनि दानव, कीटपतंग र पशुपन्छीको विकास गरेको शिव पुराणमा उल्लेख गरिएको पाइन्छ। त्यतिबेला उत्तरापन्थतिर देवताहरू सरेर आउँदै गर्दा उत्तरतिरबाट ठूलो वेगमा भेरी नदी उर्लिंदै आएकोले बाटो बन्द गरेको र शिव, पार्वती, ब्रह्मा, विष्णु, दिक्पाल, गणेश आदि देवताहरू अगाडि बढ्न नसक्ने भएपछि राजा जगति सिंहको राज्य जगतिपुरको कुदु फाँट भेरी नदीको किनारमा अवस्थित भूमेश्वर गुफामा बसी गंगा मातासँग बाटो दिनुहोस् भनी प्रार्थना गरे ।

शिव पार्वतीको कैलाश दर्शन र ब्रह्माजीको वेद पाठ गरी तपस्या गरेको देखेर गंगा माता प्रसन्न भई अगाडि बढ्न दिएको किम्बदन्ती बुबा चन्द्रमणि शर्माले आफूलाई बताएको भूमेश्वर गुफा व्यवस्थापन समितिका उपाध्यक्ष ध्रुवप्रसाद शर्माले बताउनुभयो।

गंगाजीको जल गौमाताले दिएको दूध पत्थरीय गुफामै उत्पादन गरी त्यही शिवलिड्ड मूर्तिहरूमा चढाएको दूधजस्तै सेतो वस्तु अहिले पनि प्रस्ट देख्न सकिन्छ। भूमेश्वर गुफाबाट निस्कने क्रममा आफ्नो आकृतिहरू पत्थरीय शिवलिड्ड मूर्तिहरू स्थापना गरी त्यहाँबाट प्रस्थान गरेको किम्बदन्ती पाइन्छ।

गुफावरिवरिको वातावरण

भेरी नदीको किनारमा रहेको भूमेश्वर गुफा आफैमा रमणीय छ। एकान्त वातावरण भएकाले विशेष गरी चैत, वैशाख र जेठ महिनामा भेरी नदीको चिसो हावा, उक्त स्थान आफैमा शीतल हुने हुँदा बाहिरबाट आउने भक्तजनहरू एक दुई घण्टा बसेर त्यहाँ देखिने आकृतिहरू अवलोकन गरेर मात्र जाने गरेको पाइन्छ ।

भगवागका रूपहरूको आकृति

भूमेश्वर गुफाभित्र पस्दा सबै ठाउँमा शिवलिड्डको आकृति देखिन्छ भने शिवलिड्डको आकृतिमा पानी जल चढाएको देखिन्छ। शिवजीको लिड्डजस्तै थुम्को भएको स्थानमा माथिबाट निस्किएको पानीको थोपाहरू त्यस थुम्कोमा परेर बिलाउने गरेको छ।

ठाउँठाउँमा शिवलिड्ड, भगवान्का रूपको चित्र अंकित देखिने गरेको पाइन्छ। गुफामा दीप दुर्गेश्वर, शिव शिवेश्वर, महाभूमेश्वर, नन्देश्वर महादेव, विष्णु, ब्रह्मा, गणेश, भगवान्का वाहन मुसो, सावित्री, पार्वती, शेषनाग आदिका कलात्मक प्रकृतिका प्राकृतिक मूर्तिहरू देख्न सकिने भूमेश्वर गुफाले पर्यटकहरूको मनै लोभ्याउने गरेको पाइन्छ ।

अवलोकन कर्ताहरूले आफूले जुन कुराको कल्पना गरेको छ त्यही आकृति पत्थरीय आकृतिहरू देख्न सकिन्छ। भूमेश्वर गुफा पहिले नै यथावत् थियो, तर कसैले चासो नदिएकाले अहिले गुफालाई भूमेश्वर व्यवस्थापन समितिले चिनाउने काम गरेको छ। भूमेश्वर गुफाको संरक्षण व्यवस्थापन समितिबाट भएको छ।

भूमेश्वर कसरी रहन गयो गुफाको नाम

करिब ४० वर्षअगाडि भूमेश्वर नामका एक महात्मा आएर आगोको धुनी जगाई बसेको विभिन्न भग्नावशेषहरूमा अहिले पनि देख्न सकिन्छ। त्यही समयमा भूमेश्वर नाम गरेका शिव संन्यासी घुम्दै फिर्दै भेरी नगरपालिका–१३ को कुदु फाँटमा आउनुभएछ।

कुदुमा आएपछि ब्राह्मण सेतु उपाध्ययको घरमा बास बसेर बिहान स्नानका लागि पानी खोज्दा कुदु फाँटमा कुनै ठाउँमा पानी पाएनछन्। पछि भेरी नदीमा पुगेर स्नान गरी नित्य पूजा गरेर फर्किंदा उकालो हिँड्ने क्रममा त्यहाँ एक गुफा देखेछन्।

त्यस गुफामा के छ भन्ने जिज्ञाशा उठेछ र ती संन्यासी त्यस ठाउँमा पुगेछन्। गुफाभित्र शिव–पार्वती, ब्रह्मा–सावित्र, विष्णु, गणेश, शेषनाग, मुसो, नन्दी, गजवाहनलगायतका धेरै नामका देवताको स्थापना भएको देखेर आश्चर्य चकित भएछन्।

त्यहाँको चमत्कार देखेर भूमेश्वर नाम गरेका संन्यासी त्यहीं बसी पूजाआजा गरेकाले त्यस गुफाको नाम भूमेश्वर गुफा रहन गएको किम्बदन्ती पाइन्छ ।

गुफा संरक्षणको अवस्था

पछिल्लो समय मानिसहरू आफ्नै व्यवहारमा व्यस्त हुने र धर्मप्रति चासो नदेखाउने कारण भूमेश्वर गुफा संकटमा पर्दै गएकाले स्थानीयहरूले चासो राखेर संरक्षणमा लागेका हुन्। यस क्षेत्रकै धार्मिकस्थलका रूपमा रहेको भूमेश्वर गुफा संरक्षणको अभावमा संटकमा पर्दै गएकाले धार्मिकस्थल आस्थाको केन्द्रविन्दु कमजोर हुँदै गएको छ।

यस स्थानको महत्व जोगाइराख्न स्थानीयको सक्रियतामा २०६५ सालमा जिल्ला प्रशासन कार्यालय जाजरकोटमा अम्बिकाप्रसाद आचार्यको अध्यक्षतामा भूमेश्वर तथा राधकृष्ण मन्दिर व्यवस्थापन समिति गठन गरी विधिवत्रूपमा संरक्षण गर्ने कार्य शुरू गरेको छ।

अहिले भूमेश्वर गुफालाई अम्बिकाप्रसाद आचार्य, ध्रुवप्रसाद शर्मा, जनकप्रसाद शर्मा, गणेश आरसी, बुद्धिकुमारी बटालालगायतको व्यवस्थापन समितिले संरक्षण गरेको छ। हरेक वर्षको महाशिवरात्री, माघी संक्रान्ति, एकादशी, अक्षय तृतीयालगायतका दिनमा भक्तजनले पूजाआजा गर्ने र भजनकीर्तन गर्ने गरिरहेका छन ।





error: Content is protected !!