२२ हजार घुस लिएको अभियोगमा लेखा अधिकृत पक्राउ

काठमाडौैं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण ठेक्का सम्झौता भइ काम गर्दै गर्दा शुरुवाती रकम लिन आएका निर्माण व्यवसायीसँग घुस लिएको अभियोगमा पूर्वाधार विकास कार्यालय प्रदेश ३ ललितपुरका लेखा अधिकृतलाई पक्राउ गरेको छ।
आयोगका अनुसार लेखा अधिकृत विष्णुहरि पुडासैनीले निर्माण व्यवसायीसँग २२ हजार घुस माग्दै गर्दा पक्राउ गरिएको हो। पुडासैनीले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले ललितपुर महानगरपालिका २३ एकान्तकुनाबाट पक्राउ गरेको हो।
आयोगले पुडासैनीलाई शुक्रबार पक्राउ गरेको भए पनि थप अनुसन्धान जारी रहेको उल्लेख गरेको छ। पुडासैनीलाई आइतबार आयोगले सार्वजनिक गरेको हो। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी पुडासैनीमाथि छानबिन जारी छ।








