नजिकियो भम्रण बर्ष २०२० , जाजरकाेटमा सुनसान

कालीबहादुर नेपाली
, जाजरकोट । नेपाल भ्रमण वर्ष २०२० शुरू हुनै लाग्दा समेत जाजरकोटमा यसको प्रभाव देखिएको छैन । जिल्लामा पर्यटनको ठूलो सम्भावना भए तापनि स्थानीय तहहरूले भ्रमण वर्ष लक्षित कार्यक्रम सञ्चालन गरेका छैनन् । पर्यटकीय क्षेत्रको प्रचार प्रसार, विकास र प्रवद्र्धनमा स्थानीय सरकारले चासो नदिएको सरोकारवालाहरूको भनाइ छ ।
प्रदेश सरकारले जाजरकोट दरबार पर्यटकका लागि आकर्षण भएको बताए पनि पर्यटन प्रवद्र्धनमा भने बेवास्ता गरेको स्थानीय वुद्धिजीवीहरू बताउँछन् । जाजरकोट दरबार नेपाल सरकारले तयार गरेको सय पर्यटकीय गन्तव्य अन्तर्गत एक पर्दछ ।
जिल्लामा पर्यटकीय क्षेत्रको विकासले फड्को मार्न नसकेको जाजरकोटका पत्रकारहरुको भनाई छ । ‘प्रचार प्रसार र विकासको अभावले जिल्लाका पर्यटकीय क्षेत्र सुनसान छन्,’ उनीहरु भन्छन् ‘भ्रमण वर्ष नजीकिँदै गर्दा समेत प्रवद्र्धनका कार्यक्रम हुन नसक्नु विडम्बना हो ।’ पर्यटन विकास स्थानीय सरकारले प्राथमिकता मै पर्न नसकेको उनीहरुको गुनासो छ ।
भ्रमण वर्षसम्बन्धी खास योजना नभए पनि पर्यटन विकासका लागि केही कार्यक्रम भने छनोट गरिएको नगरपालिकाकी उपप्रमुख भावना भण्डारीले बताइन् ।
जिल्लामा भ्रमण वर्ष लक्षित कार्यक्रम सञ्चालनका लागि केही गर्न रकम छुट्याइएको जाजरकोट बाट निर्बाचित सांसदहरुको भनाई छ ।
जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि कर्णाली प्रदेश सरकारले गतवर्ष करोडौं बजेट विनियोजन गरे पनि जनप्रतिनिधिको खिचातानीले बजेट फ्रिज भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशले बताएको छ । बजेटको सहि सदुपयोग नहुँदा यहाँको पर्यटन विकास र प्रचारप्रसार भने गर्न सकिएको छैन ।
प्रचार प्रसार लगायत कार्यक्रम नहुँदा भ्रमण वर्षमा पनि जिल्लामा बाह्य पर्यटकको आगमन निराशाजनक रहने देखिएको भेरीनगरपालिकाका स्थानीयहरुको भनाई छ । जिल्लाका निकै नाम चलेका धार्मिक पर्यटकियस्थलहरु अहिले प्रचारप्रसारको अभावमा ओझेलमा परेको पत्रकार लोकेन्द्र विकले बताए ।
बारेकोटको ठाकुरजी, पैकको मष्टो मन्दिर,शिवालयको मन्दिर,छेडागाडका गुम्बा,कुदुको भुमेश्वर गुफा लगायतका पर्यटकीय स्थलहरु ओझेलमा परेका छन् । यिनीहरुको प्रसारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने सम्बन्धीत विषयका जानकारहरुको भनाई छ ।








