कुकुर मारेको अभियोगमा गाउँपालिका उपाध्यक्षविरुद्ध उजुरी

सुजन पन्त
काठमाडौँ । हालै बाराको गढीमाई मेला सकिएको छ । जुन मेलामा हजारौं पशु पक्षीको बली दिइन्छ । वरपरको वातावरण प्रदूषित गरी अनेक रोग फैलिन सक्छ । कतिपयले यो प्रचलनलाई परम्पराको विकृत रूप भएको मान्छन् ।

यसको पशुअधिकारकर्मीले चर्को विरोध गरेपनि बलि नियन्त्रण हुृन सकेन । मेला सकिएनि गढीमाइमा दिइने पशुबलिको चर्चा पनि सेलाइसकेको छैन ।

पशु अधिकारकर्मीले पशुहत्याको विरोधमा निरन्तर दबाबमुलक कार्यक्रम गर्दै आएका छन् । यही क्रममा राजधानीमा एक कुकरको हत्या भएको भन्दै बिबाद प्रहरीसम्म पुगेको छ ।

मुलुकी अपराध संहिता अनुसार पशुहत्यामा दोषी प्रमाणित भएमा एक महिना जेल र ५ हजारसम्म जरिवाना हुनसक्छ ।

के थियो घटना रु
मंसिर २१ गते दोलखाको बिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जव ओली गत शनिबार हतार–हतार काठमाडौँ आए । श्रीमती र २ छोरासहित ओली तीनकुनेस्थित कान्तिपुर अस्पताल पुगे । माइलो छोरा बिरामी थिए । बिरामी छोरालाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरे ।

७ वर्षका कान्छो छोरा र श्रीमती अस्पताल बाहिर नै बसे । नजिकै ६÷७ वटा कुकुरहरु पनि थियो । कुकुर देखेपछि ओलीका कान्छो छोरा जिस्क्याउन गए ।

जिस्क्याउने क्रममा एउटा कुकुरले उनलाई टोक्यो । फेरि हतार–हतार गरेर कान्छो छोरालाई टेकु लगेर रेबिजको ‘इन्जेक्सन’ लगाए । छोराको उपचारमा खटिएका डाक्टरहरुले यो कुकुरले अन्य मान्छेलाई पनि टोकेको ओलीलाई बताए ।

त्यसपछि ओली तल आए । आसपासका ६÷७ जनालाई घटनाबारे बताए । अन्ततः सबैजना कुकुरलाई मार्ने निर्णयमा पुगे । सो कुकुरलाई उनीहरुले समाएर मार्न खोजे । कुकुर भाग्दै एक घरको छतमा पुग्यो ।

अघि–अघि कुकुर थियो भने पछि–पछि उनीहरु । छतमा एक साइडमा लुकेर बसेको सो कुकुरलाई समाए र हिर्काएर मारे । छतमा मारेको कुकुरलाई तल ल्याएर छोडे ।

रातोपाटीको सम्पर्कमा आएका ओलीले भने, ‘डाक्टरहरुको कुरा सुनेपछि पछि अरुलाई पनि टोक्न सक्छ भन्ने सोचेर सबैसँग सल्लाह गरेर नै उक्त कुकुरलाई मारेका हौं ।’

ओलीका अनुसार उक्त कुकुर आफ्नो भनेर कसैले पनि जिम्मा नलिएपछि मारिएको हो । उनले भने, ‘भुस्याहा कुकुर हो । पछि हरुलाई पनि टोक्छ भन्ने सोचेर मार्यौँ।’

घटनाको भोलिपल्ट अर्थात मंसिर २२ गते ओली दोलखातिर लागे ।

तीनकुनेमा व्यवसाय गर्दै आइरहेकी सबिना अम्गाईले कुकुर मारेको फालिएको देखेपछि विमत्ति जनाइन् । उनले लगत्तै सामाजिक सञ्जालमा घटनाबारे एक स्ट्याटस लेखेर पोष्ट गरिन् ।

सबिनाले आफूलाई चित्त नबुझेको भन्दै मंसिर २३ गते नै महानगरीय प्रहरी वृत्त तीनकुनेमा निवेदन दिइन् । मारेको कुकुरलाई एकठाउँमा खाल्डो खनेर पुरिदिएको सबिनाले बताइन् ।

सबिनाले निवेदन दिएको खबर मंसिर २४ गते पशु अधिकारकर्मीहरुले पनि थाहा पाए । अनि सबिनालाई सम्पर्क गरे । घटनाबारे सबिनाले पशु अधिकारकर्मीहरुलाई ब्रिफिङ गरेपछि उनीहरु ओलीलाई बोलाएर छलफल गर्ने निर्णयमा पुगे ।

पशु अधिकारकर्मीहरुले ओलीलाई सम्पर्क गरे । काठमाडौँ आउन आग्रह गरे । व्यवस्तातले गर्दा उनीहरुले बोलाएको समयमा आफू काठमाडौँ आउन नसकेको ओलीले बताए ।

उनले आफू समयमा काठमाडौँ आउन नसक्दा पशु अधिकारकर्मीहरुले आफूलाई धम्क्याएको समेत ओलीले दावी गरे ।

‘फेक फेसबुक आइडी बनाएर मलाई मारिदिने भन्दै धम्क्याएका छन् । मेरो फोटो कुकुरको शरीरमा जोडेर जथाभाबी पोष्ट समेत गरेका छन्’ उनले गुनासो गरे ।

सामाजिक सञ्जालमा कुकुरको फोटोसँग आफ्नो फोटो जोडेर जथाभावी पोष्ट गरेको भन्दै ओलीले पनि महानगरीय प्रहरी परिसर काठमाडौँमा उनीहरुविरुद्ध जाहेरी दिएका छन् । सोलगत्तै पशु अधिकारकर्मीहरुले पनि तीनकुने वृत्तमा ओलीविरुद्ध जाहेरी दिन पुगेका छन् । यद्यपी जाहेरी दर्ता भइसकेको छैन ।

यता महानगरीय प्रहरी वृत्त तीनकुनेका डीएसपी दुर्गाराज रेग्मीले अहिलेसम्म कुकुर आफ्नो भनेर कसैले जिम्मा समेत नलिएको बताए ।





error: Content is protected !!