पछिल्लो दुई दिनमा नेपाली फिल्म उद्योगले गुमायो दुई हस्ती, प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

काठमाडौं । पछिल्लो दुई दिनमा नेपाली फिल्म उद्योगले दुई हस्तीलाई गुमाएको छ । शनिबार मात्रै अभिनेता दीपक क्षेत्रीको निधन भएको थियो । त्यस्तै हिजो (आइतबार) राति चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराईको पनि ५४ बर्षको उमेरमा निधन भएको छ ।
भट्टराईको आइतबार राती करिब १०ः३० बजे काठमाडौंको चाबहिलस्थित ओम अस्पताल लाँदालाँदै गर्दा निधन भइसकेको अस्पताल श्रोतले बताएको छ ।
निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ । यद्यपी, उनलाई हृदयघात भएको अनुमान गरिएको छ । भटट्राई उच्च रत्तचाप र सुगरका विरामी थिए ।
भट्टराई आठ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए भने ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए । भट्टराईको जन्म २०२५ मंसिर ४ मा ओखलढुंगामा भएको थियो।
उनको शवलाई त्रिवि शिक्षण अस्पतालमा पोष्टमाटर्म गरिने र त्यसपछि श्रद्धान्जलीका लागि चलचित्र बिकास बोर्ड प्रांगणमा राखिने बताइएको छ ।
भट्टराईको पार्थिव शरीरसँगै अभिनेता दीपक क्षेत्रीको पार्थिव शरीर आज सोही समयमा बोर्डको प्रांगणमा राखिने छ । क्षेत्रीको मृत्यु ५८ वर्षको उमेरमा शनिबार भएको थियो । उनी नेपाली फिल्ममा खलनायकका रुपमा अभिनय गदै आएका थिए । उलने दर्जनौँ फिल्ममा अभिनय गरेका छन् । श्वासप्रश्वासको समस्यामा रहेका क्षेत्रीको श्वासनलीमा मासु पलाएका कारण सल्यक्रिया समेत गरिएको थियो ।
यसैबीच, नेपाल चलचित्र प्राविधिक संघले आज अध्यक्ष भट्टराईको निधनले नेपाली चलचित्र उद्योगमा अपुरणीय क्षती पुगेको भन्दै उनको सम्झनामा आज चलचित्र सम्बन्धी छायांकन, सम्पादन नगर्न तथा नगराउन सम्पूर्ण चलचित्रकर्मीहरुसँग आग्रह गरेको छ ।
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
यता प्रधानमन्त्री केपि शर्मा ओलीले बितेका दुई दिनमा देशले प्रतिभावान् दुई कलाकार गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । सोमबार बिहान समाजिक सञ्जाल ट्विटर मार्फत दिवगत केशव भट्टराई र दीपक क्षत्रीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दे उनले परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि शोकाकुल आफन्त र परिवारजनमा गहिरो समशवेदना व्यक्त गर्दछु ।’










