जाजरकोट अस्पताल निर्माण कार्य अवरुद्ध


हेमन्त केसी
काठमाडौँ , भौतिक पूर्वाधारको अभावमा समस्य भोग्दै आएको जाजरकोट अस्पतालको निर्माण कार्य रोकिएको छ । असार २ गते नयाँ अस्पताल निर्माणका लागि वोलपत्र आवह्वान गरिएको भएपनि हालै वोलपत्र रद्ध भएपछि समस्य भएको हो ।
अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भई करीब रु ३३ करोडको लागतमा नयाँ भवन निर्माणका लागि सुर्खेतस्थित शहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन एकाइले जाजरकोट अस्पतालको भवनसहित अन्य पूर्वाधार निर्माणका लागि असार २ गते बोलपत्र आह्वान गरेको थियो । वोलपत्र आवह्वान गरी निर्माणको चरणमा पुग्नै लाग्दा वोलपत्र रद्ध हुँदा अस्पतालको नयाँ भवन निर्माण कार्य रोकिएको हो । विसं २०३३ मा निर्माण गरिएका जीर्ण भवनमा अहिले अस्पतालले सेवा दिइरहेको छ।
नयाँ भवन निर्माण हुँदा सेवा अवरुद्ध नहोस् भनेर कर्णाली प्रदेश सरकारले वैकल्पिक भवन निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४९ लाख रकम पाएपछि सो रकमको नयाँ अस्पतालको भवन निर्माण गरिएको छ । वैकल्पिक रुपमा निर्माण गरिएका ति भवनमा पुरै सेवा दिन नसकिने अस्पताल प्रशासनले जनाएको छ । भवन अभावका कारण ५० श्ययाको उक्त अस्पतालले मुस्किलले २५ श्ययाको मात्र सेवा उपलब्ध गराउँदै आएको छ ।
अव नयाँ भवन निर्माणको टुङ्गो नलागेपछि अस्पतालको सेवा प्रवाह कसरी दिने भन्ने अन्यौल सिर्जना भएको छ । त्यसैगरी जिल्लाका दल्ली, छेडागाड, गर्खाकोटमा समेत स्वास्थ्य चौकीका भवन नहुँदा सेवा प्रवाहमा समस्य हुँदै आएको छ । त्यस्तै नलगाड नगरपालिकामा निर्माण हुँने भनिएका ६ ठाउँका स्वास्थ्य संस्थामा बजेट नहुँदा काम रोकिएको छ ।
स्वास्थ्य सेवा कार्यालयमा जनशक्ति अभाव
५० शययाको जाजरकोट अस्पतालमा विशेषज्ञ डाक्टर, स्वास्थ्यकर्मी, उपकरण, पूर्वाधारलगायतको अभाव हुँदा समस्य भएको छ । अस्पतालबाट स्थानीयवासीले सामान्य उपचारसमेत पाउन सकेका छैनन । १२ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा बिरामीलाई बाहिर लैजानुपर्ने बाध्यता छ ।
६ विशेषज्ञ चिकित्सकसहित ५१ स्वास्थ्यकर्मीको दरबन्दी भए पनि ३४ पद रिक्त रहेको छ । अस्पताल करार तथा स्वयंसेवक स्वास्थ्यकर्मीको भरमा सञ्चालन भइरहेको अस्पताल प्रमुख डा. रविन भुसालले बताउनुभयो । उहाँले भन्नुभयो , “अस्पतालको इमरजेन्सी, फार्मेसी, जनरल वार्ड र प्रसूति सेवामा एक दिनमा चार नर्सिङ स्टाफ चाहिन्छ, तर दुई जनाको भरमा चलिरहेको छ ।’
अस्पतालमा तीन करारका मेडिकल अधिकृत, एक स्वास्थ्य सहायक र एक स्टाफ नर्स कार्यरत रहेको उहाँले बताउनुभयो । अस्पतालमा ८ स्टाफ नर्स र ३ स्वास्थ्य सहायकको दरबन्दी छ । तर अधिकांश दरबन्दी रिक्त भएको लामो समय भएपनि पुर्ती भएको छैन् । कर्मचारी समायोजनका कारण जनशक्ति अभाव भएको उहाँले बताउनुभयो । अस्पतालमा आईपीडी, ओपिडी, ब्लड बैंक, सुत्केरी सेवालगायत अति आवश्यक उपचारका लागि भवनको अभाव रहेको डा. भुसालले बताउनुभयो । साथै गुणस्तरीय एक्सरे र एम्बुलेन्ससमेत नभएको उहाँको भनाई छ ।
सात वर्षको अवधिमा अस्पतालका दुई एम्बुलेन्स बिग्रिएपछि बिरामीलाई बाहिर लैजान समस्या भएको छ । रकम अभावमा एम्बुलेन्स मर्मत गर्न नसकिएको भुसालको गुनासो छ । त्यस्तै जिल्लाको नलगाड नगरपालिकाको दल्ली स्थित स्वास्थ्य संस्था चिकित्सक विहिन भएको छ । लामो समय देखि चिकित्सक नहुँदा यहाँका स्थानीयवासीहरु बाहिर गएर उपचार गर्न बाध्य भएका छन् । त्यस्तै गर्खाकोट स्थित स्वास्थ्य संस्थामा एक वर्षदेखि चिकित्सक नहुँदा सेवा अवरुद्ध हुँदै आएको छ ।
कुमारी टष्टको अस्पताल सञ्चालनमा आएन
कुमारी टष्टको लागनीमा जिल्लाको छेडागाड नगरपालिका– ५, बडावनमा अस्पताल निर्माण भएपनि सञ्चालनमा आउन सकेको छैन् । रु ६ करोड रुपैयाँमा भौतिक संरचना निर्माण गरिएको भएपनि प्रयोगमा आउन नसकेको हो । दुर्गमका बासिन्दालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी अस्पतालको निर्माण भएको थियो ।
भवन निर्माण भएको १ वर्ष बित्दासमेत अस्पतालबाट सेवा प्रवाह हुन सकेको छैन । वैशाखअघि नै अस्पताल सञ्चालन गर्ने लक्ष्य रहेको बताउने कुमारी टष्टका राजिवविक्रम शाहले अहिले सम्म सञ्चालनमा ल्याउन सकेका छैन्न । पुर्व सांसद समेत रहेका नेपाली कांग्रेसका नेता राजिवविक्रम शाहले झाडापखालाको समयमा जाजरकोटमा सुविधा यूक्त अस्पताल खोल्ने बाँचा गरेका थिए । भवन निर्माण गरेर बाँचा त पुरा भयो तर सेवा सुरु नहुँदा पश्चिम जाजरकोटका स्थानीयवासीले प्रश्न गर्न थालेका छन् ।










