एक किलो चरेससहित तीन पक्राउ

सुर्खेत, एक किलो चरेससहित सुर्खेतबाट तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार बिहान उनीहरूलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।
वीरेन्द्रनगर–१० मा रहेको दीपचन्द्र होटलको तेस्रो तलामा रहेको १०६ नम्बर कोठाबाट एक किलो ९३० ग्राम चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–१२ का ५३ वर्षीया तुलसा शाही, जुम्लाको तातापानी गाउँपालिका–७ का ४९ वर्षीय नैन शाही र जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ का ४२ वर्षीय नैनबहादुर शाही रहेको जिल्ला प्रहरी सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए।
प्रहरीका अनुसार वीरेन्द्रनगरकी तुलसाले ग्राहक तयार पारेको भन्दै जाजरकोटका नैनबहादुर शाहीलाई चरेस ल्याउन भनेकी थिइन्। महिलाकै योजना अनुसार जाजरकोटका शाहीले चरेस ल्याएर वीरेन्द्रनगर आएको प्रहरीको दाबी छ।
जुम्लाका नैन शाहीलाई चरेस बिक्री गर्नेबेला तिनै जना रंगेहात पक्राउ परेको पन्तले जानकारी दिए।










