बदर मत रोक्न नमुना मतदान

जिल्ला सदरमुकाम सिमकोटमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय हुम्लाले १४ मंसिरमा हुने उपनिर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले मंगलबार नमुना मतदान गरेको हो ।
सदरमुकाम सिमकोटको जिल्ला समन्वय समिति कार्यालयमा आयोजना गरिएको नमुना मतदानमा अशक्त, वृद्धवृद्धा, पुरुष र महिलाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगेर उम्मेदवारको चुनाव चिह्नमा मत दिन सिकाइएको थियो ।
निर्वाचनमा खटिने अधिकृत, सहायक अधिकृत र कर्मचारीलाई मत बदर नहोस भन्नेमा सचेत गराउने उद्देश्यले नमुना मतदान गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई मतदातालाई मतदानको महत्व बुझाउने उद्देश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए ।
तीन हजार, तीन सय ८७ मतदाता रहेको खार्पुनाथमा मतदान अधिकृतसमेत छनोट गरिएको उनले बताए । यहाँ पाँचवटा मतदान केन्द्र तोकिएको छ । सीता माध्यमिक विद्यालय छिप्रामा ज्ञानेन्द्रसिंह बुढ्थापा, हुम्ला माध्यमिक विद्यालय रायाँ मतदान केन्द्रमा रामबहादुर विष्ट, शंकर आधारभूत विद्यालय लालीमा उदयकान्त अधिकारी र मालिका माध्यमिक विद्यालय लाली मतदान केन्द्रमा राम सुरत पाल, मानन्धार माध्यमिक विद्यालय भकुण्डामा मदनप्रसाद जैसवाल खटाइएको निर्वाचन अधिकारी शर्माको भनाइ छ ।
उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट रूपा शाही र कांग्रेसबाट ताराकुमारी शाही र राप्रपा संयुक्तबाट दीपविक्रम शाही उपाध्यक्ष पदका लागि उम्मेदवार छन् ।








