नलगाडको डिपिआरमा छुटेका कुरा समावेश गर्न तयार


हेमन्त केसी

काठमाडौँ , ८ मङ्सिर (रासस)ः जाजरकोट नलगाड नगरपालिका –७ मा निर्माण हुँन लागेको नलगाड जलविद्युत आयोजनाको डिपिआर निर्माण गर्दा धेरै कुरा छुटेको भनि गुनासो बढेपछि सो कुरा समावेश गर्ने सहमत भएको छ ।

आईबार काठमाडौँमा भएको एक छलफल पछि वातावरणीय प्रभाव मुल्याङ्कनको जिम्मा लिएको अष्ट्रलियको स्मेक ईन्टरनेशनल प्रालि सँगै अमेरिकाको एमडव्लुएच ईन्टरनेशनल आरएनसीका साथै नेपाली उदय कन्सलटेन्सी डिपिआरमा छुटेका कुरा फेरी एक पटक आयोजना प्रभावित ठाउँमा गएर सुझाव लिने कार्यमा सहमत भएका हुँन् । आज भएको कार्यक्रममा डिपिआरको जिम्मा लिएको कम्पनीले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत , जाजरकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरु , जनप्रतिनिधिहरु बीचमा प्रस्तुत गरेको प्रतिवेदनमा धेरै कुरा छुटेपछि थप कुरा राख्न गरिएको अनुरोधलाई समावेश गर्न आयोजना स्थल जाने भएका हो ।

बारेकोट गाउँपालिका र नलगाड नगरपालिका भित्र पर्ने नलगाड नदीबाट निर्माण हुँन लागेको नलगाड जलविद्युत आयोजनाबाट यहाँका फलाम, तामा खानी , जलचर प्राणी , कस्तुरी , चिरकालिज , सुनगिद्ध मृग , सिलाजित लगाएतका जडीवुटीलाई पर्ने प्रभावका विषय डिपिआरका समावेश नभएपछि गुनासो बढेको थियो । पुखौँदेखि वस्दै आएका स्थानीयवासीलाई सही रुपमा व्यवस्थापन गर्नुपर्ने र आयोजना निर्माण स्थलबाट विस्थापित भएकालाई राज्यले कति वर्ष सम्म सहयोग गर्ने हो त्यो समेत किटान गर्न आग्रह गरिएको थियो । आयोजनाबाट प्रभावित हुँने घर ,जग्गाको मुआव्जा समेत न्यायोचित नभएको भन्दै सो पनि ठाउँ अनुसार हेरेर वितरण गर्नुपर्ने तर्क समेत उठेको छ ।

नलगाड सरोकार समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले तुरुन्तै जनताको जनभावना अनुसार आयोजनाले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो , जनताको भावना , मर्म भन्दा अरु सवै कुरा सहायक हुँन् , मलाई भोट हालेर विजयी बनाउने जनताको भावना म कसरी कुल्चिन सक्छु , त्यसैले मुआव्जामा दररेट बढ्नु पर्छ ।

सरकारले यो आयोजनाको डिपिआर छिटो निर्माण गरी निर्माण प्रक्रियामा लिने तयारी गरेको छ । कर्णाली प्रदेशको सामरिक महत्वको रुपमा हेरिएको यो आयोजना निर्माण गर्न कम खर्चीलो हुँनुका साथै सजिलो समेत भएको उर्जा विज्ञको तर्क छ । केही दिन अघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत आयोजनालाई निर्माण गर्नका लागि जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)लाई आग्रह थियो ।

जापानी व्यवसायी एवम् जाइकाले नलगाड जलविद्युत आयोजना निर्माणका लागि इच्छा समेत देखाएको छ । आयोजना निर्माणका लागि रु १२३ अरव लाग्ने अनुमान गरिएको छ । वातावरणीय व्यवस्थापन अनुमानीत लागत रु ५६ अरव लाग्ने आयोजनाले बताएको छ । ६.५ वर्ष भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्य लिईएको छ । आयोजनाको वाध भरिदा ४७४ करोड घनमिटर पानी भण्डारण हुँने र जुन समुन्द्र सतह देखि १ हजार ५ सय ८० सम्मको उचाईमा पुग्ने छ । ५४५ मिटर चौडाई र २१० मिटर अग्लो जलाशय हुँने छ । ८ हजार ३ सय मिटर लामो भुमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत उत्पादन हुँने डिपिआरमा उल्लेख छ ।

सरकारले आयोजना प्रभावित ६५७ घरपरिवारलाई रु दुई अर्ब ७२ करोड मुआब्जा बाँड्ने तयारी थालेको छ । आयोजनाले पार्ने वातावरणीय एवम् जैविक प्रभाव न्यून गर्नुपर्ने र वातावरणीय संरक्षण नियम २०५४ लाई ध्यान दिनुपर्नेमा जोड दिदै काम गर्न आग्रह सरोकारवालाले गरेका छन् ।

आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र कार्बन डाइअक्साइडको उत्सर्जन हुनबाट सात लाख १७ हजार टन बचत हुनेछ । आयोजनाले क्षेत्रीय पूर्वाधारको विकास, विदेशी मुद्रा आर्जन, पर्यटन, ग्रामीण अर्थतन्त्रको विकास र विस्तार एवम् रोजगारीको सिर्जना, व्यापार व्यवसायको अवसरमा वृद्धि हुनेछ ।

आयोजनाले नलगाड नगरपालिका–५ र ७, बारेकोट गाँउपालिका–१, २,५, ६, ७ र ८ प्रभावित हुनेछ । अहिले नलगाड नगरपालिका – ७ दल्लीमा भुमिगत रुपमा निर्माण हुँने विद्युत उत्पादन गृहको अवस्था (कम्जोर, जटिल) पत्ता लगाउनका लागि सुरुङको काम चलिरहेको छ । ३० महिना भित्र निर्माण कार्य पुरा गर्ने भनि गरिएको सम्झौता सकिएर , थपिएको ६ महिना सम्म म्याद गुर्जिदा सम्म अझै डिपिआरको काम पुरा हुँन सकेको छैन् ।





error: Content is protected !!