कर्मचारीलाई मुख्यमन्त्री शाहीले भने, ‘परिणाममुखी काम गर्नुस्’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले योजना कार्यान्वयनलाई तीव्रता दिन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार आयोजित भौतिक पुर्वाधार विकास मन्त्रालयको प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठीमा मुख्यमन्त्री शाहीले योजना कार्यान्वयन र बजेट खर्चलाई तिव्रता दिन निर्देशन दिएका हुन् ।
भौतिक पुर्वाधार विकास मन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शाहीले मन्त्रालय मातहतका निर्देशनालय तथा जिल्ला कार्यालयका कर्मचारीहरूलाई परिमाणमुखी गर्न आग्रह गरे । ‘कागजमा मात्र सीमित भएर समय खेर फाल्नेभन्दा परिणाममुखी काम गर्नुस्’, उनले भने, ‘विधि प्रक्रियाको नाममा योजना कार्यन्वयनलाई ढिला गर्ने, काम रोक्ने र टेबलमै काम अल्झाउने प्रवृत्ति सह्य हुँदैन ।’
भौतिक पुर्वाधार विकास मन्त्रालयको बजेट कार्यान्वयनले नै समग्र प्रदेश सरकारको प्रभावकारिता निर्धारण हुने बताउँदै मुख्यमन्त्री शाहीले विगतका बर्षबाट पाठ सिकेर बजेट कार्यान्वयनको गतिलाई बढाउनुपर्ने बताए । ‘मन्त्रालय मातहतका कार्यालयले समयतालिका तय गरेर काम गर्न जरुरी छ’, उनले भने, ‘समयतालिका बमोजिम काम भए–नभएको मन्त्रालयले अनुगमन गर्नेछ ।’
प्रदेश सरकारले तय गरेको नयाँ संगठन संरचना बमोजिमका कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनका कारण बजेट कार्यान्वयनमा केही ढिलाई भएको भए पनि दास्रोे चौमासिकमा मन्त्रालयमा प्राप्त बजेट खर्च गर्ने गतिमा काम गर्नुपर्ने मुख्यमन्त्री शाहीको भनाइ थियो । सक्छु भन्ने तर, केही नगर्ने प्रवृत्ति केही कर्मचारीमा रहेको बताउँदै उनले बजेट कार्यान्वयनको अवस्थालाई मापदण्ड मानेर उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरिने बताए । ‘कर्णालीमा काम गर्ने कर्मचारीलाई मापदण्डका आधारमा क, ख, ग र घ वर्गमा विभाजन गरेर थप सुविधा प्रदान गर्ने तयारी प्रदेश सरकारले गरिरहेको छ ।’ उनले भने, ‘तपाईँहरू गतिका साथ काम गर्नुहोस् ।’
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार शाहले गएको वर्षको तुलनामा यो वर्ष मन्त्रालयको कार्य प्रगति राम्रो रहेको बताए । ‘गएको बर्ष यो अवधिमा योजना छनोटको कामनै नसकिएको अवस्था रहेकोमा चालु आर्थिक वर्षमा धेरै योजना ठेक्का भइसके’, उनले भने, ‘कार्यान्वयन प्रक्रियामा गएका धेरै योजनाका ठेक्का प्रक्रियामा छन् ।’










