नेकपा जिल्ला नेतृत्वद्वारा कर्णाली सरकारको आलोचना, मन्त्रीहरूले मनोमानी गरेको आरोप

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी नेकपाको कर्णाली प्रदेशका जिल्ला नेतृत्व र कर्णाली प्रदेश सरकार बीच अन्तरक्रिया वीरेन्द्रनगरमा भएको छ।

कर्णाली सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू र कर्णाली प्रदेशका सबै जिल्लाका जिल्ला नेतृत्व बीच भएको अन्तरक्रियामा जिल्ला नेतृत्वले कर्णाली सरकारको कडा आलोचना गरेको कार्यक्रममा सहभागी नेकपाका एक जिल्लास्तरीय नेताले जनाकारी दिए।

ती नेताका अनुसार सरकारको मेहनत र चर्चा बढी भए पनि सरकारले परिणाम दिन नसकेको भन्दै आलोचना भएको छ। जिल्लाका नेतृत्वले केही मन्त्रीको कार्यसम्पादन माथि नै प्रश्न उठाएको उनले बताए। नाम नबताउने सर्तमा ती नेताले भने ‘प्रदेश सरकारका केही मन्त्रीको कार्यसम्पादन चित्त बुझ्दो नभएको र मनोमानी गरेको भन्दै आलोचना भएको छ।’

यसैगरी कर्णाली प्रदेशसभाका सदस्यहरूप्रति पनि नेकपाका जिल्ला नेतृत्व खनिएको छ। जनताबाट चुनाव जितेर प्रदेशसभा सदस्यहरूले स्थानीय पार्टी र जनतासँग सल्लाहसमेत नगरी मनोमानी रूपमा चलेको योजना बाडेको र एक्लौटी गरेको भन्दै केही प्रदेशसभा सदस्यहरूको आलोचना भएको छ।

कर्णाली प्रदेशसभाका सदस्यहरूले सरकारका काम जनतासम्म सकारात्मक रूपमा प्रवाह गर्न नसकेको पनि कुरा उठेको छ। अन्तरक्रियमा सरकारले आधारभूत वर्गलाई लाभान्दित हुनुपर्ने खालका काम गर्नुपर्ने र पार्टीको संस्थागत कार्यप्रणालीअनुसार सरकारले काम गर्नुपर्ने नेकपाका जिल्लास्तरीय नेताले सरकारलाई सुझाबसमेत दिएका छन्।




सम्बन्धित समाचार


error: Content is protected !!