पाटनमा सिसिक्यामरा जडान गरी वन्यजन्तुको निगरानी

लक्ष्यबहादुर सुनार
डोल्पा , भुगोलका हिसावले ठुलो मानिएको डोल्पामा यहाँका वन्यजन्तुको संरक्षण र गणनाका लागि सिसिटिमी क्यामरा जडान गरी काम सुरु भएको छ ।
जिल्लाको जगदुल्ला गाउँपालिका गाउँपालिका भित्रका पाटन लगाएत अन्य बिभिन्न पाटनहरुमा ५० वटा क्यामरा जडान गरिएको हो । हिम चितुवाको वासस्थान भएका ठाउँमा सिसिटिभी जडान गरिएको छ ।
विश्व वन्यजन्तु कोष (wwf )को आर्थिक सहयोगमा कागमारा ,टाङ्गटुगे ,बाहिर पुदुव ,भित्र पुदुव ,अन्तर पुदुव ठुली पाल्ति र जगुदुल्ला गाउँपालिकाका पाटनहरुमा सिसिटिभी जडान गरिएको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले जनाएको छ ।
सिसिटिभी क्यामराका सहायताले निकुन्ज भित्रका ३ हजार नावरको गणना गरिएको छ । हिउँ चितुवाको सुरक्षाका लागि क्यामरा जडान मुख्य काम भएको निकुन्जले जनाएको छ । निकुन्ज भित्र रहेका वन्यजन्तुको सुरक्षाका साथै हिउँ चितुवाको विशेष सुरक्षा , निगरानी अनि चोरी निकासी रोक्नका लागि क्यामरा जडान गरिएको हो ।
शे–फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ ।
यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ ।
यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मि.) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । निकुञ्जको मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औं शताब्दीमा निर्मित शे गुम्बाको यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।








