१७ वडाहरूमा विद्युतीकरण

रुकुम पश्चिम ः नेपाल विद्युत् प्राधिकरणले जिल्लाका १७ वडामा विद्युत् सेवा विस्तार थालेको छ । जिल्लाका ६ वटै स्थानीय तहका ती वडामा पोल गाडेर तार तान्ने काम भइरहेको छ ।

तीन नगर तथा तीन गाउँपालिकाका १७ वडाका दर्जनौं बस्तीमा विद्युत्को पोल गाडिएको छ भने तार तान्ने र ट्रान्सफर्मर जडानको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् विस्तार कार्यक्रमअन्तर्गत आठबीसकोट नगरपालिकाका ६, त्रिवेणीका ४, चौरजहारीका ३ वडामा विद्युतका पोल विस्तार गरिएको हो । त्यस्तै, बाँफिकोटका २, सानीभेरीका एक र मुसीकोट नगरपालिकाको एक वडामा विद्युत्का पोल पुर्‍याइएको छ । मुसीकोट–१२ मा लाइन विस्तारको काम सकिएको छ । आठबीसकोटका ६ वडामा पोलको लाइनको साथै तार र ट्रान्सफर्मर पुगेको छ भने २ वडामा पुग्न बाँकी छ । नगरपालिकाका ४, ५, ६, १३ र १४ नम्बर वडामा पोल गाडिएको छ भने तार र ट्रान्सफर्मर जडानको तयारी भइरहेको छ । त्रिवेणी–६, ८, ९ र १० नम्बर वडामा विद्युत् विस्तार भइसकेको छ । चौरजहारी नगरपालिकाका–१२, १३ र १४, बाँफिकोट– ५ र ९ तथा सानीभेरी– १ नम्बर वडामा विद्युत् विस्तार भइसकेको प्राधिकरणको वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले आयोजनामार्फत हुनुपर्ने विद्युतीकरणअन्तर्गत ८० प्रतिपोलिङको काम भएको जानकारी दिए । उनका अनुसार जिल्लाभरि करिब ५० प्रतिशत विद्युतीकरणको काम सकिएको छ । अर्को वर्ष माग भएजति बजेट आए जिल्लाभर विद्युतीकरणको काम सकिने उनको भनाइ छ । विद्युत् प्राधिकरणको नियमित कामबाहेक विद्युत् विस्तार आयोजनामार्फत चार हजार ६ सय पोल रुकुम पुगेका छन् । दुई हजार दुई सय पोल हाइटेन्सन लाइनका लागि हुन् भने दुई हजार दुई सय पोल लोटेन्सन लाइनका छन् । जिल्लामा ३३ ट्रान्सफर्मर जडान गर्ने कार्यक्रम रहेको वितरण केन्द्रले जनाएको छ । पाँचवटा एक सय केभीए र २८ वटा ५० केभीएका ट्रान्सफर्मर सम्बन्धित वडामा पुर्‍याइसकिएको छ ।

विद्युत् प्राधिकरणको लाइन विस्तार आयोजनाअन्तर्गत हाइड्रो इनर्जीरमहाशक्ति जेभीले लाइन विस्तारको काम गरिरहेको छ । यस वर्ष विद्युतीकरणको कामका लागि करिव ३५ करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ । विभिन्न खोलानाला तथा तालतलैयाबाट विद्युत् उत्पादन गर्ने र केन्द्रीय प्रशारण लाइनको विद्युत् जोडेर जिल्लालाई अँध्यारोमुक्त बनाउने योजना अगाडि बढाइएको प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले बताए । ‘जिल्लामा साना, ठूला तथा प्राधिकरणको समेत विद्युत उपयोग गरेर रुकुम उज्यालो बनाउने काम चलिरहेको छ,’ उनले भने, ‘यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको हातेमालो भइरहेको छ ।’




सम्बन्धित समाचार


error: Content is protected !!