भुक्तानी पहिल्यै, काम अहिले

रुकुम पश्चिम ः यहाँका स्थानीय तहमा स्थापना गर्ने भनिएका उद्योगहरूको निर्माण सम्पन्न नहुँदै भुक्तानी भएको छ । गत आवमै भुक्तानी भए पनि अधिकांश उद्योगमा अहिले निर्माणको काम भइरहेको छ ।

प्रदेश सरकारले यहाँका ६ स्थानीय तहमा साना–ठूला गरी  उद्योग स्थापना गर्न सम्झौता गरेको थियो । ती उद्योगको लागि ४ करोड ७५ लाख रुपैयाँ बजेट आएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले काम सम्पन्नपछि मात्र अनुगमन गरी भुक्तानी दिनुपर्नेमा अधिकांश सहकारी, समूहले उद्योग स्थापना नगरेरै भुक्तानी लिइसकेका छन् ।

प्रदेश सरकारले मुसीकोट, आठबीसकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी, त्रिवेणी र बाँफिकोट गाउँपालिकामा बजेट विनियोजन गरेको हो । आठबीसकोट नगरपालिकामा जुस र ड्राइफुड उद्योग, मुसीकोटमा दुग्ध चिस्यान केन्द्र र बीउ प्रशोधन केन्द्र तथा चौरजहारी नगरपालिकामा कृषि औजार निर्माण गर्ने उद्योगको काम भइरहे पनि बीउ प्रशोधन केन्द्र स्थापना हुन सकेको छैन ।

यसैगरी सानीभेरी गाउँपालिकामा गार्मेन्ट उद्योग, त्रिवेणी गाउँपालिकामा अदुवा प्रशोधन उद्योग तथा बाँफिकोट गाउँपालिकामा गलैंचा र जुस उद्योग स्थापना गर्न बजेट आएको थियो । उद्योग स्थापनाका लागि आठबीसकोट नगरपालिकामा १ करोड ४० लाख, मुसीकोट नगरपालिकामा १ करोड, चौरजहारी नगरपालिकामा ८० लाख बजेट विनियोजन गरिएको थियो । यसैगरी सानीभेरी गाउँपालिकामा १ करोड, त्रिवेणी गाउँपालिकामा २५ लाख विनियोजन गरेको प्रदेश सरकारले गलैंचा उद्योग स्थापना गर्ने भनेको बाँफिकोट गाउँपालिकामा २ उद्योगका लागि २५ लाख बजेट सम्झौता भएको थियो ।

आठबीसकोट र मुसीकोट नगरपालिकामा एकरएक उद्योग स्थापना भइसकेका छन् । अरू उद्योगको काम भइरहेको छ । आठबीसकोट नगरपालिकामा जुस तथा वाइनरी उद्योग र मुसीकोट नगरपालिकामा दुग्ध चिस्यान केन्द्र स्थापना भइसकेको छ । यी २ नगरपालिकामा पनि थप २ उद्योग बन्ने क्रममा छन् । अन्य ४ स्थानीय तहमा उद्योग स्थापनाका लागि बजेट भुक्तानी भइसके पनि उद्योग बनाउने काम चलिरहेको छ ।

आठबीसकोटमा काष्ठ उद्योगको काम अन्तिम चरणमा छ । मुसीकोटमा बीउ प्रशोधन केन्द्रको काम भइरहेको छ । सानीभेरी गाउँपालिकामा गार्मेन्ट उद्योग, त्रिवेणी गाउँपालिकामा अदुवा प्रशोधन उद्योग तथा बाँफिकोट गाउँपालिकामा गलैंचा र जुस उद्योगको काम भइरहेको छ । ‘बजेट पनि ढिला निकासा भयो, विनियोजन गरिएको जत्तिको काम पनि गर्न सकिएन,’ सानीभेरी गाउँपालिकाको गार्मेन्ट उद्योग सञ्चालक संस्था सानोभेरी जनप्रवाह कृषि सहकारीका अध्यक्ष जनदीश नकालले भने, ‘हामीले १ करोडमा आधाको काम गरेका छौं, अब उद्योग सञ्चालनको तयारी भइरहेको छ ।’

अरूले पनि बजेट ढिला आएकै कारण उद्योग स्थापनाको काममा ढिलाइ भइरहेको बताएका छन् । बाँफिकोट गाउँपालिकाको गलैंचा उद्योग सञ्चालक समिति अध्यक्ष मनकला पुनले उद्योगका लागि सामग्री खरिद गरी काम गर्नेहरूको तालिम चलिरहेको बताइन् । गाउँपालिकामा गलैंचा र जुस उद्योगका सामग्री खरिद गर्न १२ लाख ५० हजारका दरले बजेट आएको र सोही बजेटबाट सामग्री खरिद गरी काम गर्ने तयारीमा रहेको उनको भनाइ छ । स्थानीय तह पनि निर्माणाधीन कतिपय उद्योगबारे अनविज्ञ देखिएका छन् । चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले काम चित्त बुझ्दो नभएको बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!