उपल्लो डोल्पाका ६ प्रहरी चौकी चिसोले सदरमुकाम फर्के

डोल्पा , चिसोको कारण ज्यान जोगाउन मुस्क्लि भएपछि उपल्लो डोल्पाका ६ प्रहरी चौकी सदरमुकाम स्थित दुनैमा सारिएको छ ।
माथिल्लो डोल्पाका स्थानीय तहहरु शे फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ र डोल्पो बुद्ध गाउँपालिकाको केन्द्र धो मा रहेका अस्थायी प्रहरी चौकी उठेर सदरमुकाम दुनै झरे पछि गाउँपालिकाले असुरक्षित महसुस गरेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो , “अस्थायी प्रहरी चौकीहरु उठाएर सदरमुकाम झारे पछि गाउँपालिकाका सबै कार्यालयहरु, बैंक लगायतका विभिन्न कार्यालयहरुको सुरक्षामा निकै चिन्ता बढेको हो । ”
वर्षेनी यार्सागुम्वा सिजन (बैंशाख जेठ) तिर माथि जाने र असोजको अन्तिम तिर सदरमुकाम दुनै झार्ने गरी स्थापना गरिएका अस्थायी प्रहरी चौकीहरु शे फोक्सुण्डो गाउँपालिकाको साल्दाङ, निजाल गुम्बा, राप, भिजेर र डोल्पो बुद्ध गाउँपालिकाको धो र ताक्सीमा रहेका अस्थायी प्रहरी चौकीहरु सदरमुकाम दुनै झारिसकिएको प्रहरी नायव उपरिक्षक (डिएस्पी)नारायण रन्जितकारले जानकारी दिनुभयो ।

माथिल्लो डोल्पाको अत्यन्तै कठ्याङ्ग्रिने चिसो धान्ने बास, बर्दी, सवारी साधन, उपचार सेवा, विरामी पर्दा छिटो उद्धारको व्यवस्था, चुस्त सञ्चार सुविधा, उच्च हिमाली क्षेत्रमा बस्नका लागि प्रोत्साहन हुने प्रकारको तलव, राशन, दुर्गम भत्ता लगायतका विभिन्न सेवा सुविधाहरु नभएको अवस्थामा त्यहाँ हिउँदको समयमा प्रहरी अधिकृत र जवानहरुको ज्यानकै जोखिम पारेर चौकी राख्न निकै समस्या रहेको छ ।
डोल्पामा २० स्थायी र ७ अस्थायी गरी २७ वटा प्रहरी युनिटहरु रहेका छन् । जस मध्ये माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाका ४ वटा र डोल्पोबुद्ध गाउँपालिकाका २ वटा गरी ६ वटा प्रहरी चौकीहरु चिसो हावापानी र विविध सेवाका समस्याले टिक्न गाह्रो हुने भएकाले दुनै झारी सकिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
माथिल्लो डोल्पाकै छार्का ताङसोङ गाउँपालिकाको कागकोट केही हदसम्म तातो हुने भएकाले त्यहां रहेको अस्थायी प्रहरी चौकी यो वर्षबाट हिउँदमा पनि त्यही राख्ने निर्णय गरिएकाले यो वर्षदेखि हिउँदको समयमा पनि त्यो प्रहरी चौकी कागकोटमै रहने भएको प्रमुख रजिन्तकारले जानकारी दिनुभयो ।
तल्लो डोल्पाका धेरै गाउँबस्तिहरुलाई धान्ने गरी प्रहरी युनिटहरु राखिएका छन् । यहाँ प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न सहज रहेको छ । नेपालकै ठुलो जिल्ला र बिकट भूगोल ओगटेको माथिल्लो डोल्पामा निकै कम प्रहरी युनिटहरु रहेका छन् । त्यसमा पनि चिसो हावापानी र मौसमलाई धान्ने गरी बास, गास र कपास सहितका सेवा सुविधा र विरामी पर्दा उद्धारको उचित प्रवन्ध नहुँदा वर्षा तथा तातो समय सुरु भए माथिल्लो डोल्पा पठाउने र हिउँद तथा चिसो सुरु भए सदरमुकाम झार्ने गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
विभिन्न अज्ञात समूहहरुको गतिविधि बढि रहेको बेला माथिल्लो डोल्पा पुरै सुरक्षा निकाय विहिन भएको छ । यही समयको मौका छोपेर यस अघिका वर्षहरुमा पनि विभिन्न डकैति, लुटपाट, कुटपिट, चोरी जस्ता अपराधका घट्ना हुने गरेका छन् । त्यहाँ स्थापित गाउँपालिका, वडापालिका लगायतका सरकारी कार्यालयहरु र हालै स्थापित बैंकहरुलाई शान्ति सुरक्षाको चिन्ता बढेको स्थानीयहरुले बताएका छन् ।
त्यहाँ बस्नका लागि हावापानीलाई धान्ने प्रकारको बास, गास, कपास, सञ्चार, सवारी साधन, उपचार लगायतका सेवा सुविधाहरुको उचित प्रवन्ध गरी माथिल्लो डोल्पामा स्थापित सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, बैंक र स्थानीयहरुको जीउधनको सुरक्षाका लागि पनि नेपाल सरकारले तत्काल प्रहरीहरु स्थायी रुपमा १२ महिना बस्ने गरी प्रहरी चौकी तत्काल व्यवस्थाका लागि स्थानीयहरुले आग्रह गरेका छन् ।










