फोन गर्न अग्ला डाँडा र हिमाल चढ्नुपर्ने , धोका दियो चिनियाँ स्याटलाइटले

लेख बुढा
डोल्पा , जाजरकोट सँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका – ६ का शान्तबहादुर बुढा आफन्त सँग फोन गर्न कोठाना लेकमा जाने गर्नुहुन्छ ।
उहाँ तीन घण्टा उकालो हिडेर गाउँ भन्दा माथी हिमालमा पुग्नु रहर नभई बाध्यता हो । आफन्तको खवर वुझन र घरको कुरा जानकारी गराउनका लागि उहाँ दैनिक कोठाना जाने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ , “ म जस्तै यहाँका सवै मानिसहरु फोन गर्न ३ घण्टा हिमाल चढ्नै पर्ने बाध्यता रहेको छ , के गर्नु ? आफन्तको खवर सुन्न मन लाग्छ , । ” त्यस्तै मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही पनि सदरमुकाम लगाएत अन्य ठाउँमा फोन गर्नुपरेमा यही लेकमा पुग्ने गरेको बताउनुहुन्छ ।


दैनिक फोनमा धेरै काम पर्छ , त्यसैले कोठाना डाडामा पुग्नु वाध्यता भएको उहाँको भनाई छ । फोन नभएकाले स्थानीय सरकारका काम देखि प्रहरी चौकीमा समेत सूचना , आदानप्रदान गर्न मुस्किल भएको छ । अग्लो हिमाल र अग्ला डाडाँमा रहेको ठुला रुखको टुप्पोमा गएपछि त्रिपुराकोटमा रहेको टावरले सामान्य काम गर्ने भएकाले त्यहाँ गएर फोन गर्ने गरिएको नर्कुका सोमराज शाहीले बताउनुभयो ।
फोन नहुँदा जहाँ पनि हिडेर गई खवर गर्नुपर्दा निकै दुख भोग्नुपरेको प्रहरी कार्यालय , ईलले जनाएको छ । जाजरकोटको सिमाना सँग जोडिएको मुड्केचुला गाउँपालिका जुम्लाको सिमाना सँग पनि जोडिएको छ । कठिन भुगोल रहेको यस क्षेत्रबाट सदरमुकाम जाँन दुई दिन लाग्ने गर्दछ ।
मुड्केचुला गाउँपालिकामा सामान्य कभरेज भएको नमस्तेको फोन दुरसञ्चार प्राधिकरण र चिनियाँ स्याटलाइट कम्पनी डिस्याटबीच भएको सम्झौता सकिएपछि उक्त चिनियाँ कम्पनीले स्याटलाइट बन्द गर्दा मुड्केचुला गाउँपालिका र काईके गाउँपालिकामा सञ्चार सेवा पूर्णरुपमा बन्द भएको छ ।
असोज २५ गते बन्द भएको नमस्तेको मोवाईल सेवा अझै सुचारु हुँने कुनै छाटकाट देखिएको छैन् ।
बिगत लामो समयदेखि चिनियाँ स्याटलाइटमार्फत मोबाईल सेवा प्रदान गर्दै आएको दुसरञ्चार प्राधिकरणले स्याटलाइट बन्द भएपछि सेवा दिन सकेको छैन ।
सञ्चार सेवा अवरुद्ध भएसँगै यहाँका करिब १५ हजार नागरिक सञ्चार बिहीन भएका छन्। चीनको डिस्याट कम्पनीसँगको सम्झौता सकिएको कारण बन्द भएको र अब केन्द्रीय कार्यालयको निर्णय अनुसार नै सेवा सुचारु हुने दुरसञ्चार कार्यालय डोल्पाका निमित्त प्रमुख नबराज भट्टराईले जानकारी दिनुभयो ।
मुड्केचुला गाउँपालिकामा जोड्का लागि ल्याईएको नेपाल टेलिकमका सामग्रीहरु रुकुमको त्रिवेणीमा करिव २ वर्ष देखि थन्किएका छन् । भारतीय कम्पनीले जाजरकोट लगाएत डोल्पाका अधिकांश ठाउँमा नेपाल टेलिकम टावर निर्माणको जिम्मा लिएपनि काम नगर्दा समस्य हुँदै आएको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो । जति पटक ताकेता गरेपनि टावर निर्माण कम्पनीले नटेरेको उहाँको भनाई छ ।
शव्द हेमन्त केसी ,तस्वीर लेख बुढा ।










