प्रहरीका डिएसपी आफै गस्तिमा

डोल्पा ः जिल्लाका मुख्य सुरक्षा निकायका दुई जना प्रहरी नायव उपरीक्षक(डिएसपी) नै गस्तीमा निस्किएका छन् । तिहारमा हुने विकृति र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पहिलो पटक डिएसपी नै गाँउगाँउमा गस्तीमा गएका हुन् ।
डोल्पाको मुड्केचुला गाउँपालिकाको कालिका, ईल, नर्कु र त्रिवेणी र त्रिपुरा सुन्दरी नगरपालिकाको केही क्षेत्रमा बढ्न सक्ने सुरक्षा चुनौतीलाई कम गर्न नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकार र सशस्त्र प्रहरी बलका नायव उपरीक्षक चेत थापाले संयुक्त गस्ती गरेको प्रहरीले जानकारी दिएको छ ।
नेत्रबिक्रम चन्द विप्लवको नेकपाको केन्द्र मानिने मुड्केचुलाको कालिका, ईल र नर्कुमा विप्लवले गर्ने विभिन्न क्रियाकलाप रोक्न र जनतालाई सुरक्षाको अनुभूति गरुन् भन्ने उद्देश्यले आफहरुनै गस्तीमा गएको प्रहरी नायव उपक्षिक नारायण रञ्जितकारले जानकारी दिए ।
जिल्लामा लगभग धेरै क्षेत्र ओगट्ने गरी प्रहरी चौकीहरू भए पनि विप्लवको क्रियाकलाप भई रहेको भन्ने सूचना आउने गरेको र तिहारको बेलामा गाउँघरमा कुनैपनी घटना घट्न सक्ने हुँदा सुरक्षा व्यवस्था बलियो बनाउन गाँउगाँउमा आफै पुगेको एपीएफका डिएसपी चेत थापाले जानकारी दिए ।
सदरमुकाम दुनै लगायत जुफाल,त्रिपूराकोट बगरका मुख्य मुख्य बजारमा राति १० बजे पछि देउसी भैलो खेल्न होहल्ला गर्न जिल्ला प्रशासनले रोक लगाएको छ । त्यसका साथै पट्का जस्ता कुनै पनि कुराहरूको प्रयोग गर्न नदिन सुझाव दिएको र प्रहरीले सुरक्षा प्रभावकारी बनाइ रहेको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताए ।








