सुर्खेतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा उपराष्ट्रपति पुन

सुर्खेत : जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ सिंजामा शुक्रबार (भोलि) हुने सिंजा सांस्कृतिक महोत्सवको कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबार सुर्खेत आइपुगेका छन्।
उपराष्ट्रपति पुनलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, उपसभामुख पुष्पा घर्ती, प्रमुख सचिव केवलप्रसाद भण्डारीले विमानस्थलमा स्वागत गरेका थिए।
उनले बिहीबार सुर्खेतका धार्मिक पर्यटकीयस्थल काँक्रेविहार, देउती बज्यै मन्दिर र बुलबुले ताल अवलोकनसमेत गरेका छन्। सिंजा महोत्सव उद्घाटनको क्रममा तत्कालीन सिंजाको संस्कृति र सभ्यताको वास्तविक इतिहासका लागि उपराष्ट्रपति पुनमार्फत सरकारलाई भग्नावशेषको उत्खननका लागि अनुरोध गरिने बताइएको छ।
यसैबीच वीरेन्द्रनगरमा पत्रकारसँगको सक्षिप्त भेटका क्रममा उपराष्ट्रपति पुनले नेपाली भाषाको उद्गमस्थल सिंजामा हरेक नेपाली एकपटक पुग्नैपर्ने बताएका छन्। शुक्रबारदेखि शुरु हुने प्रदेश स्तरीय प्रथम बृहत सिंजा पर्यटन महोत्सवले सिंजा क्षेत्रको प्रचार प्रशारमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । सिंजा नेपाली भाषाको जननी भएकाले हरेक नेपालीले त्यहाँको भ्रमण गरेर कर्णालीको पर्यटन प्रवर्द्धन गर्न सबैमा आग्रहसमेत गरेका छन्।
नेपाल सरकारले अघि सारेको भ्रमण वर्ष २०२० लाई सफल पार्न पनि यस सिंजा महोत्सवले सहयोग पुग्ने अपेक्षा गरे। शुक्रबार नै बिहान हुम्लाको सदरमुकाम सिमिकोटमा विद्यालय शिलान्यास गर्ने कार्यक्रम रहेको पनि उपराष्ट्रपति पुनले जानकारी जानकारी दिए। उपराष्ट्रपति पुनले आउँदै गरेको तिहार र छट पर्वको शुभकामना समेत व्यक्त गरेका छन्।








