अधिकार नहुँदा विदेशी लगानी ल्याउन सकिएन : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारलाई अन्तर्राष्ट्रिय लगानीका लागी सम्झौता गर्ने अधिकार नहुँदा प्रत्यक्ष लगानी भित्र्याउन नसकेको बताएका छन्।

संघीय सरकारसमक्ष प्रस्ताव मात्रै गर्न सकिने संविधानले अधिकार प्रदान गरेकोले कर्णालीमा प्रत्यक्ष लगानी भित्र्याउन नसकिने उनले बताए। प्रदेशले एजेण्डा उठाउने प्रस्ताव गर्ने त्यसलाई सफल बनाउने जिम्मा संघीय सरकारको रहेको उनको भनाइ छ।

१० दिने तिब्बत भ्रमणको जानकारी दिन बिहीबार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन्। प्रदेशमा लगानीका लागि अन्तर्राष्ट्रिय कम्पनीलाई अनुरोध मात्रै गर्ने अधिकार आफूसँग नभएको बताए।

‘आवश्यक पहलसम्म गर्ने अधिकार हामीलाई छ। कम्तिमा सर्वे गर्न सकियो भने पनि धेरै ठूलो उपलब्धि हुन्छ’ मुख्यमन्त्री शाहीले भने। गुणस्तरीय सर्भे भयो भने काम गर्न सहज हुने उनको भनाइ छ। प्रदेशले लगानीका लागि ठोस वातावरण बनाउने र संघीय सरकारलाई पेश गर्ने संघले अन्तर्राष्ट्रिय समुदायसमक्ष लगानीका लागि आव्हन गर्नुपर्ने बताए।

यस पटकको तिब्बत भ्रमणमा मुख्यमन्त्री शाहीले मुख्यगरी सुर्खेतमा रिङरोडको सर्भे गर्ने, कर्णालीका १० वटै जिल्लामा हवाई सुविधा विस्तार गर्ने सन्दर्भमा छलफल भएको र त्यसप्रति तिब्बत सरकार सकारात्मक देखिएको बताए। सुर्खेतमा रात्रि वेस बनाएर आन्तिरिक उडानको एजेन्डा संघीय सरकारलाई पहिले नै पठाए पनि सरकारले त्यसलाई बेवास्ता गरेका उनको भनाइ छ। चीन सरकारबाट नेपालले बेल्ट एण्ड रोड इनिसिएटिभको अवधारण प्रमुख रहेको उनको भनाइ छ।

चीन सरकारले हिमालयसँग जोडिएका देशहरूसँग मुख्य व्यावसायिक सम्बन्ध स्थापित गर्न खोजेको शाहीको भनाइ छ। हिमालय भएका देशसँग कनेक्टिभिटी जोड्ने विषयमा भ्रमणका क्रममा छलफल भएको र विकासशिल मुलुकको अवस्थाबारे चीन सरकारको चासो रहेको उनको भनाइ छ।

कर्णालीसँग एक मात्र अन्तर्राष्ट्रिय सीमा जोडिएको पुरानो व्यापारिक नाकाका तिब्बत रहेकोले तिब्बतसँग व्यापारिक सम्बन्ध स्थापित गर्न सहज हुने विश्वास उनले व्यक्त गरे। कर्णालीको विकास लागि सबैभन्दा पहिले बसोवासलाई व्यवस्थित गर्नुपर्ने भन्दै तिब्बत सरकारको एकृकीत बस्ती विकास को अवधारणलाई अवलम्वन गर्नुपर्ने उनको भनाइ छ।

तिब्बतमा एक मात्र देश नेपालको कूटनीतिक नियोग भएको उल्लखे गर्दै मुख्यमन्त्री शाहीले यसबाट नेपाल र चीन सरकारको सम्बन्धलाई थप प्रगाढ बनाउने समेत बताए। कर्णालीको कृषि जडीबुटी, पर्यटन आदि क्षेत्रमा चीनले लगानी गर्ने विश्वास दिलाएको मुख्यमन्त्री शाहीले जानकारी गराए।





error: Content is protected !!