उपनिर्वाचनका दाबेदारहरूको दौडधुप

प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दलहरूभित्र उम्मेदवारको खोजी गरिँदै
काठमाडौ,१४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन गर्न तीन साता पनि बाँकी छैन । निर्वाचन आयोगले २१ कात्तिकमा मनोनयन दर्ता गर्ने तालिका निकालेपछि विभिन्न दलहरूभित्र उम्मेदवारका दाबेदारको चर्चा सुरु भएको छ ।
निर्वाचनमा उठाउने उम्मेदवारहरूको आधिकारिक घोषणा अहिलेसम्म कुनै पार्टीले पनि गरेका छैनन् । तर, पार्टीका आन्तरिक बैठक र निर्वाचन क्षेत्रका सम्भावित उम्मेदवारले आ–आफ्नो दाबी गर्न थालेका छन् । प्रतिनिधिसभामा एक पद र प्रदेश सभामा तीन पद खाली छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि कास्की क्षेत्र नम्बर २ रिक्त भएको थियो । अधिकारी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।
प्रदेश सभा बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’, दाङ क्षेत्र नम्बर ३ ‘ख’ र भक्तपुर क्षेत्र नम्बर १ ‘ख’ पनि रिक्त छ । प्रदेश सभा बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’बाट विजयी टेकबहादुर घर्तीको कलेजोसम्बन्धी रोगबाट मृत्यु भएपछि उक्त क्षेत्र रिक्त भएको थियो । त्यस्तै, दाङ क्षेत्र नम्बर ३ ‘ख’ निर्वाचित उत्तरकुमार ओलीको दाङमै सडक दुर्घटनामा मृत्यु भएको थियो । भक्तपुर क्षेत्र नम्बर एक ‘ख’बाट निर्वाचित हरिशरण लामिछानेको मष्तिकघातबाट मृत्यु भएको थियो । घर्ती राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए भने ओली र लामिछाने तत्कालीन एमालेबाट चुनिएका थिए ।
कास्कीमा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा
प्रतिनिधिसभामा रिक्त एक मात्रै निर्वाचन क्षेत्र कास्की क्षेत्र नम्बर २ हो । यस क्षेत्रमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपाले विद्या भट्टराईलाई उम्मेदवारको टिकट दिने सम्भावना बलियो भएको नेकपाको उच्च स्रोत बताउँछ । भट्टराई तत्कालीन मन्त्री तथा सांसद रवीन्द्र अधिकारी श्रीमती हुन् ।
नेकपाका सचिवालय सदस्य वामदेव गौतमले पनि कास्कीमा निर्वाचन लड्ने चर्चा चलेको थियो । तर, गौतमले आफू उपनिर्वाचनमा कास्कीमा नउठ्ने घोषणा गरिसकेका छन् । गौतमले परिवारकै सदस्य उम्मेदवार हुनु उपयुक्त हुने भनेका थिए ।नेकपाबाट कास्कीमा उम्मेदवारका आकांक्षा सोमनाथ प्यासी, तुलबहादुर गुरुङ, रश्मि आचार्यसमेत छन् । यस्तै, कांग्रेसबाट देवराज चालिसे, वीरेन्द्रनारायण बिजुक्छे, सोभियतबहादुर अधिकारी, धनराज गुरुङ, खेमराज पौडेलको नाम चर्चामा छ ।
समाजवादी पार्टी नेपालले अन्य दलसँग तालमेल गर्न सक्ने सम्भावना भए तालमेलबाट निर्वाचन लड्ने योजना बनाएको छ । आफूहरू तेस्रो शक्ति भएकाले तालमेल गर्न सक्ने सम्भावना भए गर्न सकिने समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले बताए । उम्मेदवारबारे भने समाजवादीमा कुनै चर्चा–परिचर्चा नभएको उनले बताए ।
प्रदेश सभामा उठ्ने उम्मेदवारको पनि चर्चा सुरु
प्रदेश सभा दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा उठ्ने सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । दाङमा पनि सत्तारुढ नेकपा र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेकपाबाट विमला ओलीले टिकट पाउने सम्भावना छ । उनी उत्तकुमार ओलीकी श्रीमती हुन् । नेकपाकै अर्का नेता शोभाराम बस्नेत पनि उम्मेदवारका आकांक्षी छन् । कांग्रेसबाट बुद्धिराम भण्डारी, शंकर डाँगी, सुरेश हमाल, केशव आचार्य र जगत खड्काको नाम पार्टीभित्र चर्चा हुने गरेको छ । अघिल्लो निर्वाचनमा झिनो मतले पराजित भएकाले यसपटक आफूहरूले जित्ने कांग्रेसको विश्लेषण छ ।
भक्तपुर क्षेत्र नम्बर १ ‘ख’मा नेकपा, कांग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ । नेकपाबाट डिपी ढकाल, रामबहादुर श्रेष्ठ, मोहनवीर श्रेष्ठ, शम्भु दाहाल, रमेश बुढाथोकीले उम्मेदवारमा दाबी गरेका छन् । भक्तपुर आफ्नो प्रभाव क्षेत्र भएकाले कांग्रेसले बलियो उम्मेदवारको खोजी गर्न थालेको छ । अहिलेसम्म पार्टीबाट यादव अधिकारी, कृष्णलाल भडेल, विनोदप्रकाश कायस्थ, जनक खत्री, सुभद्रा काफ्लेले दाबी गरेको भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले बताए । नेमकिपाको उम्मेदवारबारे भने खासै चर्चा छैन । अघिल्लो निर्वाचनमा नेमकिपाबाट निरज लवजू उम्मेदवार थिए ।
बाग्लुङमा वाम तालमेलकै सम्भावना
उपनिर्वाचनमा बाग्लुङमा राष्ट्रिय जनमोर्चाले नेकपासँग तालमेल गर्ने इच्छा देखाएको छ । यसअघि बाग्लुङमा वाम तालमेल भएको थियो । अन्यत्र नेकपालाई सघाएर बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’मा जनमोर्चाले लिने योजना छ । नेकपाका जिल्ला तहका नेताहरूले भने बाग्लुङमा तालमेल नगरी एक्लाएक्लै प्रतिस्पर्धा गर्न सकिने दाबी गरेका छन् । तालमेल नभएमा नेकपाबाट तुलसी आचार्य, मोहनलाल शर्मा, शेरमान घर्ती, टंक पौडेल र केशर घर्ती आकांक्षी छन् । जनमोर्चाबाट गौरीश्वर पाण्डे र धर्मबहादुर कुँवर दाबेदार देखिएका छन् । कांग्रेसबाट जितबहादुर शेरचन, टेकराज पौडेल र दोर्णबहादुर कुँवर दाबेदार छन् ।
आयोगद्वारा कार्यतालिका सार्वजनिक
आयोगले एक संघीय निर्वाचन क्षेत्र र तीन प्रदेश सभा निर्वाचन क्षेत्रका लागि २१ कात्तिक बिहान १० देखि १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । दिउँसो साढे १ देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने तालिका तोकेको छ ।
आयोगले २३ गते बिहान ११ देखि अपराह्न ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र सोही दिन मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । २४ गते नाम फिर्ता लिने, २५ गते नै अन्तिम नामावली प्रकाशन गर्ने तालिका तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । २५ कात्तिकमा उम्मेदवारलाई निर्वाचन चिह्न दिइनेछ ।
स्थानीय तहका लागि २७ गते मनोनयन दर्ता
स्थानीय तहका लागि हुने उपनिर्वाचनको उम्मेदवारको २७ कात्तिक बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने भएको छ । साढे १ देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ । ३० गते नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका आयोगले सार्वजनिक गरेको छ । १ मंसिरमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । १४ मंसिर बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदै छ ।
प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच भेट
प्रधानमन्त्री केपी ओली र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच उपनिर्वाचन तयारीका सम्बन्धमा आइतबार भेट भएको छ । भेटमा प्रधानमन्त्रीले तोकिएकै मितिमा निर्वाचन गराउन दृढतापूर्वक लाग्न निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । ‘प्रधानमन्त्रीज्यूले निर्वाचन गराउन के कति स्रोत र साधनको आवश्यकता हुन्छ त्यसको व्यवस्था हुन्छ तोकिएको मितिमा निर्वाचन गराउनुस् भन्नुभएको छ ।’
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै थपलियाले भने, ‘कसैको डर, त्रास नमानी स्वतन्त्रतापूर्वक लोकतन्त्रलाई बलियो बनाउन निष्पक्ष निर्वाचन गराउनुस् ।’ आयोगका तर्फबाट मतदाता नामावली मनोनयन दर्तालगायत निर्वाचनबारे थपलियाले ब्रिफिङ गरेका थिए । भेटमा प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल गएका थिए ।
कात्तिक १० भित्र नाम पठाउन नेकपाको निर्देशन
सत्तारुढ नेकपाको दसैँपछि बसेको सचिवालय बैठकले उपनिर्वाचनमा उठ्ने उम्मेदवारको नाम कात्तिक १० गतेभित्र सिफारिस गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिवास वालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा उठ्ने उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको हो ।
कात्तिक १० गतेभित्र जिल्ला,प्रदेश कमिटी हुँदै ३÷३ जनासम्म नाम सिफारिस गर्न निर्देशन दिएको नेकपा वरिष्ठ नेता झलनाथ खनालले बताए । ‘हामीले निर्वाचनमा उठ्ने उम्मेदवारको सकेसम्म माथिबाट टुंगो लगाउनेभन्दा तलैबाट सर्वसम्मत रूपमा टुंगो लागोस् भन्ने छ,’ खनालले भने, ‘निर्वाचनमा उठ्ने उम्मेदवारको तलबाट टुंगो नलागे बढीमा तीनजनासम्मको नाम सिफारिस गर्न भनेका छौँ ।’
उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभाको हकमा केन्द्रले र स्थानीय तहको हकमा प्रदेशले निर्णय गर्ने भएको छ । उपनिर्वाचन आफ्नो पक्षमा पार्न नेकपा लागिसकेको खनालले बताए । उपनिर्वाचनमा तत्कालीन एमाले पक्षको खाली भए एमाले र माओवादीतर्फबाट खाली भए माओवादीबाटै उम्मेदवार बन्ने देखिएको छ ।
उपनिर्वाचनबारे बिहीबार कांग्रेस केन्द्रीय समिति बस्दै
प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपनिर्वाचनका लागि तयारी गर्ने भएको छ । निर्वाचन तयारीका लागि आगामी बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकले कास्की २ संघीय निर्वाचन क्षेत्र, बाग्लुङ, भक्तपुर र दाङमा हुने प्रदेश सभा निर्वाचन लागि तयारी अघि बढाउने जानकारी प्रवक्ता शर्माले दिए ।
‘अब हामी मंसिर १४ मा हुने उपनिर्वाचनको तयारीमा जुट्छौँ । यसैका लागि आगामी बिहीबार केन्द्रीय समितिको बैठक बोलाइएको छ,’ शर्माले नयाँ पत्रिकासित भने, ‘बैठकले उपनिर्वाचनको परिचालन, नारा, मुद्दा र उम्मेदवारको विषयमा तयारी थाल्छ ।’ पहिलो दिनको बैठकले नै संघीय र प्रदेश तह गरी चार सिटका लागि उम्मेदवारको विषयमा छलफल गर्ने जानकारी उनले दिए ।
शर्माका अनुसार संघ र प्रदेशका गरी चारजना उम्मेदवार मात्र पार्टी केन्द्रले छान्नेछ । यसबाहेक स्थानीय तहका उम्मेवदारको टुंगो जिल्ला तहबाटै टुंगिने जानकारी शर्माले दिए । यद्यपि, संघदेखि वडासम्मकै उम्मेदवारको अन्तिम टुंगो सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरिसकेपछि लाग्नेछ । निर्वाचन हुने जिल्लाबाट केन्द्रमा सिफारिस अउन थालेको छ ।








