बिप्लवका कमाण्ड इन्चार्ज सहित २१ जना दाङबाट पक्राउ

दाङ — प्रहरीले दाङमा बिहीबार बिहान नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बैठक स्थल नियन्त्रणमा लिई २१ नेताहरु पक्राउ गरेको छ ।

राजपुर गाउँपालिका ४ मुग्रेठा खोलास्थित जंगलको बीचमा मध्यपश्चिम कमाण्डको बैठक बसिरहेको अवस्थामा राति १ बजे बैठकस्थल घेरा हालेर केन्द्रीय सदस्यहरुसहित २१ नेताहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए।

पक्राउ पर्नेमा नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो र मध्यपश्चिम कमाण्ड ईञ्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’सहित महत्वपूर्ण नेताहरु छन्। चन्द्रबहादुर नेकपा महासचिव नेत्रविक्रम चन्दका दाजु रहेको बुझिएको छ।

पक्राउ पर्ने अन्य नेताहरुमा राप्ती ब्यूरो ईञ्चार्ज केशबहादुर बाँठा, राप्ती ब्यूरो संयोजक रामबहादुर थापा, राप्ती ब्यूरो कार्यालय सचिव सविन पोख्रेल, दाङ जिल्ला ईञ्चार्ज यमलाल कटुवाल, जिल्ला सेक्रेटरी प्रदिप वली, युवा संगठनका केन्द्रीय अध्यक्ष वविन केसी, बुद्धिजिवी संगठनका सुनिल पौडेल, जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी र राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा छन्।

यसैगरी राष्ट्रिय दलित मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, राप्ती ब्यूरोका सदस्य तिलक पुन, हितप्रसाद रोका, पोष्टमान घर्ती, दलबहादुर खत्री, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, बिष्णु थापा र कुलबहादुर ओली पनि पक्राउ परेका छन्। उनीहरुबारे थप अनुसन्धान भैरहेको डिएसपी शाहले बताए।

बैठकस्थल मुग्रेठा नेपाल भारत सीमा क्षेत्रमा पर्छ। त्यहाँ पुग्न ५ घण्टा बढी पैदल हिँड्नुपर्ने भएकाले रातभर हिँडेर पक्राउ गरेको डिएसपी शाहले जानकारी दिए।प्रहरीले यसलाई ठूलो सफलताका रुपमा लिएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!