‘कर्णाली करिडोर प्रदेश समृद्धिको आधार’

चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल–चीनबीच भएको सम्झौताले कर्णाली समृद्धिकोे आधार तयार गरेको कर्णाली सरकारले जनाएको छ । कर्णालीको ‘लाइफलाइन’का रूपमा लिइएको कर्णाली करिडोर निर्माण गर्ने दुई देशबीचको समझदारीले कर्णाली समृद्धिका लागि आधार तयार गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । ‘चीनका महामहिम राष्ट्रपतिज्यूको नेपाल भ्रमणका क्रममा कर्णाली करिडोर उच्च प्राथमिताका रहेको छ,’ मन्त्री ज्वालाले भने । चीन र नेपालबीच भएका विभिन्न समझदारी र सम्झौतामा कर्णाली करिडोर पाँचौं नम्बर बुँदामा समेटिएको छ ।

मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्वालाले कर्णाली सरकार स्थापनादेखि प्राथमिकतामा राखिएको कर्णाली करिडोर चीनको पनि प्राथमिकता पर्दा हर्षित भएको बताएका छन् । राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाल चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको मन्त्री ज्वालाको भनाइ थियो । ‘कर्णाली करिडोर चीन सरकारको सहयोगमा निर्माण गर्न सके कर्णाली समृद्धिको आधार तयार गर्न सकिन्छ,’ मन्त्री ज्वालाले भने, ‘यसले कर्णालीको पर्यटन विकास र व्यापारिक दृष्टिकोणले महत्वपूर्ण हुनेछ ।’

चीन सरकारको स्वामित्व रहेको चाइना रेलवे इन्जिनियरिङ कम्पनीले चीन र भारतलाई जोड्ने हिल्सा–सुर्खेत–जमुनाह त्रिदेशीय सडकको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन सरकारलाई बुुझाएको छ । प्रतिवेदनअनुसार, सुर्खेतको धुलियाबिटदेखि हिल्सासम्म चार सय तीन किलोमिटर कर्णाली करिडोर निर्माणका लागि ६४ अर्ब लाग्ने छ । जसमा सुर्खेत खण्ड २४ दशमलव १, दैलेख खण्ड १०४ दशमलव ६, कालिकोट खण्ड ३९ दशमलव १४, सुदूरपश्चिमको बाजुरा खण्ड ४३ दशमलव ४९ र हुम्ला खण्ड १९२ दशमलव १९ किलोमिटरको हुनेछ ।

प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममै हिल्सादेखि जमुनाह जोड्ने द्रुतमार्ग निर्माणलाई प्राथमिकतामा राखेको थियो । चीन जोड्ने यो सडकमा अहिले नेपाली सेना र सडक विभागले काम गरिरहेको छ । गत असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चीन भ्रमणको क्रममा पहिलो चरणमा हिल्सा–सुर्खेत–जमुनाह सडक निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो ।

कोहलपुरदेखि कर्णालीको राजधानी वीरेन्द्रनगरसम्मको सडक स्तरोन्नतिका लागि संघीय सरकारले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ । वीरेन्द्रनगरदेखि हिल्सासम्मको सडकको ट्र्याक खुलेकाले केही लागत घट्न सक्ने सरकारको अनुमान छ । चीनका राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा भएका कोसी, गण्डकी र कर्णाली करिडोर निर्माणका लागि भएको सहमति कार्यान्वयन, मोडालिटी र बजेटका बारेमा संघीय सरकारसँग कर्णाली सरकारले निरन्तर छलफल चलाउने जनाएको छ ।

यस्तो छ त्रिदेशीय मार्ग
चीनको तिब्बत र भारतको उत्तरप्रदेशसँग जोडिने त्रिदेशीय मार्ग कर्णाली र प्रदेश ५ लाई समेट्नेछ । उत्तरी नाका हिल्साबाट दक्षिणी नाका जमुनाहसम्म पाँच सय २१ किलोमिटर हुनेछ ।

यसले हिल्सा, सिमकोट, लैफु, खुलालु, बामेसिमल, नेपालगन्ज हुँदै जमुनाहलाई जोड्ने जनाएको छ । यो मार्गले तिब्बतको हिल्सासँग कर्णाली प्रदेशको सम्बन्ध जोड्ने विश्वास गरिएको छ । छिमेकी देशसँग सीधा र सहज आवतजावत नभएको कर्णाली प्रदेश मात्रै हो ।





error: Content is protected !!