चार गाडी जहाजमा चीनबाटै

महँगा गाडी, हेलिकोप्टर किन्यो भनेर अघिपछि हामी उधुम मच्चाउँछौँ र सरकारको उछित्तो नै काढ्छौँ । तर, यतिबेला त्यही कुरामा फेरि देश चुकेको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा उहाँले चढ्ने गाडी उतैबाट ल्याउनुप¥यो । सार्क सम्मेलनका निम्ति विदेशका राष्ट्र र सरकार प्रमुखको सवारी चलाउन दिल्लीबाटै भाडाका बुलेटप्रुफ गाडी ल्याउनुप¥यो । अहिले चिनियाँ राष्ट्रपति सि जिनफिङ एक दिन, एक रातको समय निकालेर काठमाडौं आउने टुंगो लागिसक्दा पनि समस्या उही छ । अर्को महिना सि मात्रै होइन, उहाँको साथमा चारवटा गाडी पनि उतैबाट आउँदैछ । यहाँ आउने, बस्ने, खाने, घुम्ने सबै सुविधा छ ।
गाडी पनि नभएको होइन । तर, त्यो भरपर्दो भएन, यसर्थ विदेशी विशिष्ट पाहुनाले कार्गो बोइङमा आफ्नै गाडी बोकेर आउने बाध्यता आइलागेको हो । यसको कारण विदेशी कदापि हैनन्, हामी नै हौँ । जब–जब विशिष्ट पाहुना र स्वदेशकै त्यो स्तरका अधिकारीलाई सवारी सुविधाको कुरा निस्कन्छ, त्यस्तो बेला हामी नै जनताको रगत र पसिनाका मूल्यसमेत दाँजेर हुने÷नहुने भाषा शैलीमा चर्किने गर्छौं । तर, मार खाइँदो रहेछ, यस्तो बेलामा । हामी सवारी साधनलाई विलाससँग जोडेर बुझ्छौँ । तर, यो सुरक्षासँगै कामको सहजतासित पनि सम्बन्धित हुने गर्छ । बेलामा यही कुरा नबुझिदिँदा हामीकहाँ आउने अतिथि देवो भवःलाई सम्मानसाथ सबै कुरा दिन सक्छौँ तर जाबो चार पांग्रेको सुविधा भने जुटाउन सक्दैनौँ ।
चिनियाँ राष्ट्रपति आएकै दिन केही घण्टा विभिन्न भेटघाटमा व्यस्त हुनुहुने छ । साँझ सम्मानमा रात्रिभोजको व्यवस्था छ । तर, हामीसँग उहाँलाई विमानस्थलबाट सोल्टी होटल, शीतल निवास र सिंहदरबार जान–आउन केही घण्टाका लागि सुरक्षित सवारीको चरम अभाव रहेछ ।
सरोकार अनेकन
नेपालमा चीनबाट राष्ट्रपति स्तरको भ्रमण हुन लागेको यो मौका दशकौंपछि आएको हो । यस्तो ऐतिहासिक घडीमा दुई देशको हित हुने गरी केसम्म गर्न सकिन्छ भनेर सरकार र सत्तारुढ नेकपा गृहकार्यमा जुटेका छन् । यसबारे शनिबारको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्रीले केही कुराको ब्रिफिङ गर्नुभएको छ ।
उहाँका अनुसार, दक्षिणलाई यो भ्रमण मन परेको छैन र भाँजो हाल्न एजेन्सीको सक्रियता जारी छ । भ्रमणका अवसरमा दुई देशबीच आठदेखि दशवटासम्म सम्झौता गर्ने तयारी छ । त्यसका लागि उत्तरबाट केही उच्चपदस्थ अधिकारी काठमाडौं आउने–जाने क्रम जारी छ । यो भ्रमणमा चीनले निर्माण गर्ने भनिएको रेलमार्गको डिपिआरसम्बन्धी सम्झौता हुने लगभग निश्चित छ । त्यो डिपिआर नेपालीसमेतको सहभागितामा चिनियाँ प्राविधिकले नै तयार पार्ने र सबै खर्च उतैबाट व्यहोर्ने गरी काम हुँदैछ । त्यस्तै, मदन भण्डारी विश्वविद्यालयलाई गर्ने भनिएको सहयोगसम्बन्धी सम्झौतामा पनि यसचोटि हस्ताक्षर हुने भएको छ ।
दाल–भात
राष्ट्रपति जिनफिङको भ्रमणको पूर्वसन्ध्यामा चीनबाट आएको एउटा एड्भान्स टोलीलाई गत बिहीबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रात्रिभोजको आयोजना गर्नुभयो । विदेश मन्त्रालयबाट प्रोटोकोल चिफ होङ ली, मेजर जनरल टोङ निसहित १७ जना अधिकारीलाई रात्रिभोज दिइएको थियो । डिल्लीबजारस्थित भोजनगृहमा रात्रिभोज शुरु हुनुअघि नै भनिएको थियो, ‘यहाँहरुको सम्मानमा आज नेपाली खाना दाल, भात, तरकारी र खसीको मासु तयार पारेका छौँ ।’ विभिन्न नेपाली साँस्कृतिक नृत्य र झाँकीसहित चलेको रात्रिभोजमा चिनियाँहरु खुशीमात्र भएनन्, राष्ट्रपति जिनफिङ पनि यस्ता मौलिक संस्कृतिको पारखी भएको बताए ।
गहिरो हेराई
राष्ट्रपतिको भ्रमणको सुरक्षालाई दृष्टिगत गर्दै चिनियाँ सैनिक टोलीले अन्तर्राष्ट्रिय विमानस्थलको सूक्ष्म निरीक्षण गरेको छ । उनीहरुले धावनमार्गमा प्रयोग गरिएका बालुवा, माटोदेखि अलकत्रासम्मको गुणस्तर जाँचेका छन् । त्यहाँस्थित हवाई कन्ट्रोल रुम, विशिष्ट र अति विशिष्ट कक्षको कुनाकाप्चा सबै हेरेका छन् । राष्ट्रपति जाने सबै ठाउँको प्रत्येक कार्यक्रममा ड्रोनबाट सुरक्षा निगरानी गरिनेछ जनआस्थामा खवर छ । ।










