जाजरकोटलाई विद्युतिकरण गर्न तीन ठाउँमा सव स्टेशन निर्माण कार्य सुरु

हेमन्त केसी 
जाजरकोट , (रासस) जाजरकोटलाई पुरै विद्युतिकरण गर्नका लागि तीन ठाउँमा सव स्टेशन निर्माणको कार्य सुरु भएको छ ।
जिल्ला सात स्थानीय तहमा सजिलो र भरपर्दो तरिकाले विद्युतकरण गर्नका लागि थप तीन ठाउँमा स्टेशन बन्न लागेको जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले जानकारी दिनुभयो ।
यो भन्दा अघि ३३ केभी प्रशारण लाईनबाट भेरी नगरपालिका र छेडागाड नगरपालिकामा विद्युतिकरण गर्नका लागि कुदुमा सव स्टशेन निर्माण कार्य पुरा भई काम सुरु भईसकेको छ ।
नलगाड नगरपालिका – १० चौखामा वितरण केन्द्र निर्माणका लागि जग्गा अधिग्रहण भएर काम सुरु हुँने अवस्थामा पुगेको खड्काले बताउनुभयो । यो वितरण केन्द्रबाट नलगाड नगरपालिका , डोल्पाको तल्लो भाग , रुकुम पश्चिम आठविसकोट नगरपालिकालाई विद्युतिकरण गरिने छ ।
छेडागाड नगरपालिका – ५ वडावनमा बन्न लागेको सव स्टेशनबाट कुशे गाउँपालिका , जुनिचाँदे गाउँपालिका , छेडागाड नगरपालिकाको केही वडा र शिबालय गाउँपालिकाको पुरै वडा विद्युतिकरण गरिने छ ।
समाईला सव स्टेशनबाट जिल्लाको बारेकोट गाउँपालिका , नलगाड नगरपालिका , कुशे गाउँपालिकामा विद्युतिकरण गर्नका लागि काम सुरु भएको छ ।
त्यस्तै अहिले जिल्लाका अधिकांश ठाउँमा सव स्टेशन निर्माणको काम सँगै फलामका पोलहरु गाड्ने काम सुरु भएको छ । अघिल्लो आर्थिक वर्ष अधुरा रहेका कामहरु यो वर्ष पुरा गर्नका लागि काम सुरु भएको जाजरकोट वितरण केन्द्रले जनाएको छ ।
अघिल्लो वर्ष र यो आर्थिक वर्षमा भौतिक संरचना निर्माणको काम पुरा गरी विद्युत प्रशारणको लाईन विस्तारमा ध्यान दिन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले दिएको निर्देशन अनुसार काम भईरहेको जाजरकोट वितरण केन्द्रका प्रमुख खड्काले जानकारी दिनुभयो ।
प्रमुख खड्काले भन्नुभयो , “मध्यपहाडी (पुष्पलाल लोकमार्ग) राजमार्ग , जाजरकोट –डोल्पा सडक खण्ड र जाजरकोट – जुम्ला सडक खण्डको बीच भागमा पर्ने गरी लाईन र सव स्टेशन निर्माण गर्न मन्त्री बस्नेतले दिएको निर्देशन अनुसार काम भएको छ , । ”
११ केभी प्रशारण लाईनको दुरी २० किलोमिटर भन्दा बढी नराखी व्यवस्थापन गर्न लागिएको छ । २० किलोमिटर सम्मा मात्र दुरी राखेर निर्माण गरिने स्टेशनले मात्र प्रभावकारी विद्युत सेवा प्रवाह गर्न सकिने भएकाले यो कार्य अगाडी बढाएको छ ।
भौतिक पुर्वधार निर्माणका काम निर्माण नगरी विद्युतको लाईन विस्तार गर्न नसकिने भएकाले पहिलो चरणमा स्टशेन निर्माणको काम पहिलो प्राथमिकता दिईएको छ । जाजरकोटमा आउँने ३३ केभी प्रशारण लाईनको कोहलपुर देखि सुर्खेत सम्मको लाईमा १३२ केभी प्रशारण लाईनको काम सुरु भएको छ ।
सुर्खेतको सुवाकुनामा सव स्टेशन निर्माण हुँन वितिकै जाजरकोटमा पनि १३२ केभी प्रशारण लाईन विस्तार हुँने छ । जाजरकोटमा ४०० केभी प्रशारण लाईनको लागि नलगाड नगरपालिकाको दानीपिपलमा सव स्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु भई मुआव्जा काम सुरु भएको छ ।
डोल्पामा विद्युतको केन्द्रीय लाईन विस्तारका लागि जाजरकोट खण्डको स्टेशन निर्माण नभई काम अगाडी नवढ्ने भएकाले जाजरकोटको चौखामा पहिलो स्टेशन निर्माण हुँनु जरुरी रहेको छ । जाजरकोट सदरमुकाममा दुई वर्ष अघि मात्र केन्द्रीय विद्युत प्रशारण लाईनमा जोडिएकाले अहिले तिव्र गतीमा काम भईरहेको छ ।
४१७ मेघावाट विद्युत उत्पादनका गर्ने लक्ष्यका साथ निर्माण कार्य थालिएको नलगाड हाईडो«पावर आयोजना निर्माणका लागि पनि केन्द्रीय लाईन छिटो पुर्याउनु पहिलो प्राथमिकता रहेको नलगाड सरोकार समितिका अध्यक्ष तथा कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताउनुभयो । आयोजना निर्माणका लागि अहिले जाईका सँग छलफल भईरहेको मन्त्री बस्नेतले बताउनुभयो ।
जाजरकोटका सवै ठाउँमा स्टेशन निर्माण भएमा जिल्लाभरी एकै पटक विद्युत बाल्न सकिने छ । जाजरकोट – डोल्पा सडक , जाजरकोट – जुम्ला सडक र मध्यपहाडी लोकमार्ग समेत जाजरकोट भएर जाने भएकाले जाजरकोट जिल्ला भरी विद्युतिकरण गर्न थप सजिलो भएको छ ।










