फिफा अवार्ड विवादमा तानियो, दिँदै नदिएको भोट पनि मेस्सीको नाममा

एजेन्सी विश्व फुटबल महासंघ (फिफा)को अवार्ड वितरण विवादमा तानिएको छ । गत सोमबार इटालीको मिलानस्थित टिट्रो अल्ला स्कालामा एक समारोहका बीच आयोजना भएको उक्त अवार्ड वितरण विवादमा तानिएको हो ।
अवार्डको मुख्य विधा ‘फिफा बेस्ट प्लेयर’ विवादमा तानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फिफाले उक्त अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई प्रदान गरेको थियो । मनोनयनमा परेका पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो, भर्जिल भान डाइकलाई उछिन्दै मेस्सीले उक्त अवार्ड जितेका थिए ।
मेस्सीले अवार्ड जित्ने क्रममा कूल ४६ प्रतिशत मत प्राप्त गरेका थिए । युरोपियन च्याम्पियन्स क्लब लिभरपुलका भान डाइक ३८ प्रतिशत मतसहित दोस्रो बनेका थिए भने रोनाल्डो ३६ प्रतिशत मत प्राप्त गर्दै तेस्रो भएका थिए । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्दछ । यी सबैले तीन वटा भोट गर्न पाउँछन् । पहिलो भोट ५ अंकको हुन्छ भने दोस्रो ३ अंकको तथा तेस्रो १ अंकको हुन्छ ।
तर, अहिले उक्त अवार्ड विवादमा तानिएको छ । एक देशका कप्तान र अरु केही देशका प्रशिक्षकले फिफाले भोटिङमा गडबड गरेको भन्दै डकुमेन्टहरू सार्वजजनिक गरेका छन् । निकारागुआका कप्तान जुआन बर्रेराले आफ्नै देशको मिडिया ‘ले प्रेन्सा’सँगको कुराकानीमा आफूले मेस्सीलाई भोट नदिएको जनाएका छन् ।
उनले भनेका छन्, ‘मैले मेस्सीका लागि भोट दिएकै छैन । तर फिफाले सार्वजनिक गरेको भोटिङ लिस्टमा मैंले मेस्सीलाई भोट दिएको देखिएको छ । मैले अघिल्लो वर्ष भोट दिएको थिएँ तर यो वर्ष मैले भोट नै दिइँन ।’ उनले उक्त कुराकानीमा फिफाले भ्रष्टचार गरेको र फिफामाथि अनुसन्धान गरी कडाभन्दा कडा कारबाहीको पनि माग गरेका छन् ।
यस्तै उनले आफूले भोट नदिएपनि आफ्नो नामको पहिलो भोट मेस्सीलाई दोस्रो भोट साडियो मानेलाई र तेस्रो भोट रोनाल्डोलाई गएकोमा आफू आश्चर्यचकित भएको जनाएका छन् । उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा ट्वीट लेख्दै आफ्नो भोट फेक रहेको जनाएका छन् । उनले लेखेका छन्, ‘मैले ‘द बेस्ट २०१९’का लागि भोट दिएको छैन । र, मेरो भोट गलत हो, धन्यवाद ।’
निकारागुआका कप्तान पहिलो व्यक्ति मात्र होइनन् फिफामाथि शंका गर्ने, यसमा सुडानका प्रशिक्षक पनि छन् । सुडानका प्रमुख प्रशिक्षक ज्ड्राभ्को लुगारुसिकले पनि फिफाले भोट अदलबदल गरेको आरोप लगाएका छन् । सुडानका कोचले ‘बीबीसी’सँग आफूले अर्कै खेलाडीलाई दिएको भोट पनि मेस्सीको लागि गएको दाबी गरे । आफूले पहिलो भोट मोहम्मद सालाहलाई दिएको तर सो भोट मेस्सीको नाममा रहेको बताएका छन्
उनले आफ्नो स्क्रिन सर्ट सार्वजनिक गरेका छन् । सो स्क्रिन सर्टमा उनले पहिलो भोट सालाहलाई, दोस्रो भोट साडियो मानेलाई र तेस्रो भोट किलियन एम्बाप्पेलाई गरेको देखिन्छ । तर, फिफाको सूचीमा पहिलो भोट मेस्सीलाई, दोस्रो भान डाइकलाई र तेस्रो भोट मानेलाई गएको देखिएको छ ।










