जनप्रतिनिधी नै ठेकेदार , दुई वर्ष सम्म मजदुरले पाएन्न ज्याला ?

जाजरकोट , ः जाजरकोट नलगाड नगरपालिका – १० का अनक नेपाली पारिश्रमिक माग्दै, ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । तर, उहाँले काम गरे वापतको पारिश्रमिक पाएका छैनन् । यो अवधिमा न त उहाँले काम गरेको पैसा पाउनुभयो, न त काम लगाउने ठेकेदारलाई भेट्न पाए नै ?
‘काममा साँक्षी पठाएर काम गर्न लगाए । अहिले काम सकिएको दुई वर्ष भयो । पैसा दिएको छैन ।’ अनकले भन्नुभयो–‘पारिश्रमिक खोज्दै दुई वर्ष बित्यो । ऋण काडेर ठेकेदार खोज्न जानुपर्ने बाध्यता छ । पारीश्रमिक पाउने आशामा दुई वर्ष वित्यो । पैसा पाउला र ऋण तिरौला भनेको अझ त ब्याज मात्र बढेको छ ।’
अनक मात्रै होईनन् , एउटै गाउँका ५० जना भन्दा बढी मजदुरले काम गरेको ज्याला पाएका छैनन् । नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बाँनिया गाउँ सडकका मजदुरले पैसा पाएका छैनन् । ‘आज दिन्छु भन्छ, भोलि दिन्छु भन्छ । तर, ठेकेदारले भनेको आजभोलि अझै आएन् । अहिले फोन गर्दासमेत सम्पर्क हँुदैन् ।’ धनबहादुर मल्लले भन्नुभयो–‘काम गरेर घर चलाउने हामी, पैसा नहँुदा के खाने भन्ने समस्या प¥यो । ऋण सापट गरेको ठाउँमा तिर्नै पाइएको छैन् । सामान दिनै छाडे ।’ अहिले आएर निर्माणको जिम्मा लिएका ठेकेदार जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेजविक्रम शाह र वीरबहादुर सिंह कसले पैसा दिने टुंगो नै छैन । ठेकेदारहरुबीच पैसा कसले दिने भन्ने टुंगो नलागेपछि स्थानीय चिन्तित बनेका छन् ।
रु २६ लाखको ठेक्का ७ लाखमा झारियो
नलगाड नगरपालिकामा निर्माण भएको चौखा, रजिक बाँनियाँ गाउँँ सडकको लागि कुल लागत रु २६ लाख ३४ हजार ६ सय २६ रुपैयाँ भएपनि ठेकेदारहरुले पैसा नै नदिएर आलटाल गर्दै आएका थिए । पछि स्थानीयवासीले प्रहरीमा उजुरी दर्ता गरेपछि रु ७ लाख २ हजार ८ सय ७ रुपैयाँ दिने सहमतिमा गत साउन ४ गते ठेकेदारले प्रहरी कार्यालयमा कागज गरेका थिए ।
प्रहरी कार्यालयमा गरिएको कागजमा साउन ५ गते ३ लाख पचास हजार र साउन मसान्तमा ३ लाख ५२ हजार ८ सय ७ रुपैयाँ ठेकेदार बीरबहादुर सिंहले अनक नेपालीलाई बुझाउने सहमति भएको प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रहरी कार्यालयमा गरिएको कागजअनुसार सडकको रकम कमिशनमा बढि खर्च भएको उल्लेख गरिएको छ । कागज गरेको २ महिना बित्दा पनि ठेकेदारहरुको पैसा दिने कुनै शुरसार गरेका छैनन् । सडक डिभिजन कार्यालय चौरजहारीले २०७५ असार २५ गते २६ लाख ३४ हजार ६ सय २६ सडकको लागत भएको मुल्यांकन गरेको छ ।
१० महिनासम्म कामदारको सटेन चेक
ठेकेदार तेजविक्रम शाहले कामदारलाई दिएको नेपाल बंैक लिमिटेडको चेक जारी गरेको १० महिना बित्दा पनि सटेको छैन । कामदार बुद्धिबहादुर बस्नेतको नाममा काटिएको रु ३ लाख बराबरको चेक सट्न नसकेको हो ।
चेक बोकेर बैंक गएका अनक नेपालीले भन्नुभयो ‘बैकका कर्मचारीले खातामा पैसा नभएको भन्दै फर्काएका छन् ।’ नेपाल बैंक लिमिटेड जाजरकोट शाखाको ०९४४२५३५२०१०१ नम्बरको चेकमा पैसा नसटेपछि ठेकेदारले भुलाउन खाजेको उहाँले बताउनुभयो । हाल चेकको बारेमा जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझ्दा जिल्ला अदालत जाजरकोटमा पठाएको बताइएको छ । जिल्ला अदालत जाजरकोटले प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता गर्न नमानेको नेपालीले बताउनुभयो ।
भाईलाई जापान,श्रीमतिलाई जागिर खुवाउने आश देखाए ः ठेकेदार सिंह
प्रहरी कार्यालयमा ठेकेदार तेजविक्रम शाहले भाईलाई जापान र श्रीमतिलाई जागिर खुवाउने आश देखाएको अर्का निर्माण व्यवसायी बीरबहादुर सिंहले बताउनुभयो ।
‘प्रहरी कार्यालय जानुभन्दा पहिले ठेकेदार तेजविक्रम शाहले मेरो सालो साली जापानमा छन् । म तिम्रो भाईलाई पनि जापान पठाइदिन्छु ।
भाई तिमीलाई समस्या परे जुनसुकै कुरामा हामी सर्पोट गर्न तयार छौँ भन्नुभयो , तर, अहिले उहाँले तिमीसँग के प्रमाण छ देखाउ भन्नुहुन्छ ।’ सिंहले, भन्नुभयो, ‘मैले १ करोडसम्मको प्रमाण जुटाए । अरु जुटाउन सकेको छैन । सिंहले पहिले स्वर्णिम निर्माण सेवामा काम गरेको थिए सिंहले थप्नुभयो ।
त्यो छोडेर भेरी कन्टक्सन निर्माण सेवामा तिमीलाई सहयोग गरौँला भनेर मलाई आश देखाई यता तीर आवद्ध गराए । त्यहि भनेर मैले प्रहरी कार्यालयमा कागज गरेको हुँ । पहिले आश देखाए तर केही ठगि मुद्धामा फसाउँछु भन्छन् ।’
सबै पत्रकारले कुरा बुझेका छन् तपाई पनि बुझ्नुहोस् ः ठेकेदार शाह
जिल्ला समन्वयन समिति जाजरकोटका सदस्य एवम् निर्माण व्यवसायी तेजविक्रम शाहले जाजरकोटका सबै पत्रकारले कुरा बुझेका छन् । तपाई पनि कुरा बुझ्नुहोस भनेका छन् । उहाँले भन्नुभयो , ‘जाजरकोटका सबै पत्रकारहरुले यो कुरा बुझेका छन् । मैले भुक्तानी गर्ने होइन, मैले अख्तियारीको सबै जिम्मा वीरबहादुर सिहंलाई दिएको हुँ ।
अनेक नेपालीलाई पैसा दिने काम वीरबहादुरको हो । मैले दिने होइन । मैले वीरबहादुरका आफन्तलाई विदेश जान पनि कुनै किसिमको आश देखाएको होइन । उहाँले सबैलाई झुट बोल्दै आएका छन । उ जहिले पनि भाग्दै हिँड्दै आएको छ । यसको भुक्तानीको विषयमा मलाई भन्दा वीरबहादुरसँग कामदारले पैसा माग्नुपर्छ । मलाई कसैको पैसा ठक्ने विचार छैन ।
मैले अनक नेपालीलाई भनेको छु तपाई वीरबहादुर नाउँमा अदालतमा मुद्धा दिनुहोस हामी साँक्षी बस्न तयार छौँ । ३ लाखको चेक दिएको साँचो हो । ३ लाख फिर्ता दिने भनेर बनाएको चेक हो । म ठेकेदार मात्र होइन, जनप्रतिनीधि पनि हुँ । म ठक्ने प्रयासमा छैन काम नहुँदा चेक नसटने भएको हो ।’
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले दुई पक्षलाई बोलाएर समन्वय गर्ने भईरहेको बताउनुभयो । उहाँले पीडा सुन्दा दुवै पक्षको कमजोरी भएको जानकारी दिए । यसलाई पुष्टी गर्न दुवैलाई बोलार समन्वय गर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘लेनदेनको कारोबार प्रशासनले हेर्न नमिल्ने भएतापनि कामदार ठगिएको गुनासो आएकोले ठेकेदार तेजविक्रम शाहलाई बोलाएर छलफल गर्नेछौँ ।’ जनता ठगिएको महसुश गरेर प्रशासनले एक चरणमा छलफल गर्ने निर्णय गरेको प्रजिअ पन्तको भनाई छ ।







