राष्ट्रसङ्घका उच्च अधिकारीद्वारा नेपालको प्रशंसा

न्यूयोर्क ः संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदानको राष्ट्रसङ्घका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार भएको शिष्टाचार भेटमा उक्त विश्व संस्थाको शान्तिकार्य विभागका उपमहासचिव जा पियरे लाक्वाँ र शान्तिकार्य समन्वय विभागका उपमहासचिव अतुल खरेले नेपाली शान्ति सेनाको बहादुरी, व्यावसायिकता र इमानदारीको प्रशंसा गर्नुभएको हो ।

नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यलाई अन्तरराष्ट्रिय शान्ति तथा स्थायित्वका लागि उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री ज्ञवालीले त्यस कार्यमा सदैव आफ्नो क्षमताअनुसारको सहयोग नेपालबाट निरन्तर प्राप्त हुने प्रतिबद्धता जनाउनुभयो ।

“नेपालको परराष्ट्र नीतिको अभिन्न अङ्गको रुपमा संयुक्त राष्ट्रसङ्घका लक्ष्य तथा उद्देश्यलाई लिइएको छ, शान्ति स्थापनाका कार्यलाई उच्च प्राथमिकता दिइएको छ”, मन्त्री ज्ञवालीले भन्नुभयो । मन्त्री ज्ञवालीले नेपालको योगदान र सहभागिताका आधारमा कार्यक्षेत्र र प्रधान कार्यालयमा उच्च तहमा नेपालको उपस्थिति अपरिहार्य भएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घले नेपाली शान्ति सेनाको सङ्ख्या बढाउन अनुरोध गरेमा त्यसका निम्ति नेपाल सरकार तयार रहेको जानकारी पनि मन्त्री ज्ञवालीले उपमहासचिवद्वयलाई दिनुभएको थियो । दुवै भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, नायब स्थायी नेपाली प्रतिनिधि घनश्याम भण्डारी उपस्थित हुनुुहुन्थ्यो ।

त्यसअघि सेप्टेम्बर २३ मा हुने स्वास्थ्य सम्बन्धी विश्वव्यापी स्वास्थ्य कभरेजको उच्चस्तरीय बैठकमा नेपालको नेतृत्व उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गर्ने जनाइएको छ। त्यसैगरी वन तथा पर्यावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तन शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ।

मन्त्री ज्ञवालीको स्वागतको लागि अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की, संयुक्त राष्ट्रघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई तथा न्युयोर्कका नेपाली महाबाणिज्य दूत पुष्पराज भट्टराई लगायत विमानस्थल पुगेका थिए। यसअघि महासभामा भाग लिन उपप्रधानमन्त्री उपेन्द्र यादव अमेरिका पुगिसकेका छन्।

महासभामा परराष्ट्र मन्त्रीस्तरीय टोलीमा १२ जना छन्। उपप्रधानमन्त्री यादव र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतको टोलीसँगै सांसदहरूको समूह जोड्दा ३० भन्दा बढी हुनेछ। त्यो नियमित हुने वार्षिक कुम्भ मेलाजस्तै हो। तीन महिनासम्म चल्ने महासभा कार्यक्रममा अन्य सदस्य पनि थपिने छन्। राष्ट्रसंघीय चार्टरको धारा ९(२) मा ‘महासभामा प्रत्येक सदस्य राष्ट्रबाट भाग लिने प्रतिनिधि पाँच जनाभन्दा बढी हुन नहुने’ उल्लेख छ। तर त्यहाँ ६ गुना सहभागी हुने देखिन्छ।





error: Content is protected !!