सरकारले नै गठन गरेको छानबिन समितिको प्रतिवेदन भन्छ–मेडिकल कलेजले तीन वर्षमा गरे तीन अर्ब ठगी

चितवन मेडिकल कलेजले विवरण दिन मानेन, तर ठगीको अनुपात अरूजस्तै
नेपाल मेडिकल कलेजमा छानबिन नै गरिएन, ठगीको अनुमान मात्रै गरियो
समिति भन्छ– जानकी मेडिकल कलेजले अतिरिक्त शुल्क उठाएको छैन

गण्डकी मेडिकल कलेज
ठगी ४३ करोड ५ लाख

पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट तीन वर्षमा ४३ करोड चार लाख ९० हजार ठगी गरेको छ । सन् ०१७र१८ को ब्याचबाट मात्र १५ करोड ८० लाख ६० हजार ठगेको छानबिन समितिको ठहर छ । ठगी प्रकरणमै कलेज सञ्चालक खुमा अर्याललगायत विरुद्ध गत वर्ष अदालतमा मुद्दा परेको थियो । धरौटीमा छुटेका उनीहरूले अहिले पनि ठगी जारी राखेका छन् । कलेजमा विद्यार्थीको तालाबन्दी जारी छ ।

नेसनल मेडिकल कलेज
ठगी ३२ करोड ३५ लाख

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सन् ०१५ देखि १८ सम्म विद्यार्थीबाट ३२ करोड ३५ लाख ८१ हजार पाँच सय ठगी गरेको छ । कलेजले भर्ना शुल्क सरकारले तोकेभन्दा धेरै उठाएको छ । त्यस्तै, अन्य शीर्षकमा समेत अवैध ढंगले अतिरिक्त शुल्क उठाउने गरेको छानबिन समितिको प्रतिवेदनमा छ ।

कलेज अफ मेडिकल साइन्सेस
ठगी १० करोड ६१ लाख

भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसले सन् ०१५ देखि ०१८ सम्म विद्यार्थीबाट १० करोड ६१ लाख ५७ हजार अवैध असुल गरेको सरकारी छानबिन समितिको ठहर छ । कलेजले भर्ना शुल्कमै प्रतिविद्यार्थी सात लाख ४५ हजारसम्म बढी उठाएको छ । यसरी सन् ०१८ मा मात्र ३२ विद्यार्थीबाट दुई करोड ३८ लाख ४० हजार असुलेको छ । कलेजले डेभलपमेन्ट शुल्कका नाममा प्रतिविद्यार्थी वार्षिक दुई लाख अतिरिक्त लिएको छ ।

नोबेल मेडिकल कलेज
ठगी ३५ करोड ४७ लाख

विराटनगरको नोबेल मेडिकल कलेजले तीन वर्षमा ३५ करोड ४७ लाख ४४ हजार ११८ रुपैयाँ ठगी गरेको छ । सन् ०१८ मा उसले प्रतिविद्यार्थी भर्नामा सात लाख ४५ हजार अतिरिक्त उठाएको छ । त्यस्तै, अन्य शीर्षकमा पनि प्रतिविद्यार्थी १७ लाख ९५ हजार सात सय ३२ रुपैयाँ असुलेको छ । सन् ०१८ मा मात्रै कलेजले ५० पेइङ विद्यार्थीबाट १२ करोड ७० लाख २६ हजार बढी उठाएको छ ।

काठमाडौं मेडिकल कलेज
ठगी २७ करोड ८१ लाख

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले विद्यार्थीबाट २७ करोड ८१ लाख ६५ हजार १९० रुपैयाँ ठगी गरेको छ । सन् ०१८ मा मात्रै उसले ५० पेइङ विद्यार्थीबाट ११ लाख २४ हजार नौ सयका दरले पाँच करोड ६२ लाख ४५ हजार बढी असुलेको छ । त्यस्तै, छात्रवृत्तिका विद्यार्थीबाट प्रतिविद्यार्थी तीन लाख ४१ हजार अवैध उठाएको छ ।

मणिपाल मेडिकल कलेज
ठगी १० करोड ९ लाख

भारतीय लगानीमा पोखरामा सन् १९९२ देखि सञ्चालित मणिपाल कलेज अफ मेडिकल साइन्सेसले पछिल्लो सन् ०१५ देखि १८ सम्म विद्यार्थीबाट १० करोड नौ लाख रुपैयाँ अतिरिक्त असुलेको छ । विभिन्न शीर्षक राखेर बढी शुल्क उठाएर ठगी गरिएको सरकारी अध्ययन समितिको ठहर छ । कलेजले एउटै विद्यार्थीसँग पाँच वर्षमा ८० लाखसम्म उठाएको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लुम्बिनी मेडिकल कलेज
ठगी ३२ करोड ९६ लाख

सन् ००९ देखि एमबिबिएस अध्ययनको अनुमति पाएको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजले पछिल्ला तीन वर्षको अवधिमा विद्यार्थीसँग ३२ करोड ९६ लाख ८४ हजार अवैध असुल गरेको छानबिन समितिको ठहर छ । छात्रवृत्तिमा पढ्ने १० विद्यार्थीसँग प्रतिव्यक्ति नौ लाख ७२ हजार अतिरिक्त शुल्क उठाएको छ । सन् २०१८ को ब्याचबाट मात्र ६ करोड ३६ लाख २१ हजार ठगी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

नेपालगन्ज मेडिकल कलेज
ठगी २१ करोड ९१ लाख

नेपालगञ्ज मेडिकल कलेजले तीन वर्षमा विद्यार्थीसँग २१ करोड ९१ लाख २५ हजार दुई सय अतिरिक्त शुल्क असुलेको छ । सन् २०१८र१९ को ब्याचबाट मात्र पाँच करोड २७ लाख ५० हजार बढी शुल्क लिइएको छ । त्यस्तै, छात्रवृत्तिमा भर्ना भएका १० विद्यार्थीसँग वार्षिक ६३ हजारका दरले असुलिएको छ ।

किस्ट मेडिकल कलेज
ठगी ५ करोड ९९ लाख
किस्ट मेडिकल कलेजले सन् ०१५ देखि १८ सम्म पाँच करोड ९९ लाख ३० हजार ठगी गरेको छ । अतिरिक्त शुल्क उठाएको भन्दै गत वर्ष विद्यार्थीले प्रशासनमा उजुरी गरेका थिए । कलेजले उल्टै उजुरी दिने विद्यार्थीलाई परीक्षामा फेल गरायो, करिअर सकाइदिने धम्की दियो । छात्रवृत्तिमा पढेका ४२ विद्यार्थीसँग समेत तीन वर्षमा प्रतिविद्यार्थी चार लाखका दरले एक करोड ६८ लाख असुलेको छानबिन समितिको ठहर छ ।

युनिभर्सल मेडिकल कलेज
ठगी ३२ करोड ७२ लाख
पछिल्ला तीन वर्षमा यो कलेजले विद्यार्थीबाट ३२ करोड ७२ लाख ३० हजार ठगी गरेको छ । छात्रवृत्ति पाएका विद्यार्थीबाट पनि अतिरिक्त शुल्क उठाएको छ । ११५ विद्यार्थी रहेको यो कलेजले सन् २०१६ को ब्याचबाट समग्रमा १२ करोड सात लाख ५० हजार बढी असुलेको थियो । कलेजले सन् ०१५ देखि १८ सम्म सरकारले तोकेको भर्ना शुल्क बढी लिनुका साथै विभिन्न १५ शीर्षकमा अतिरिक्त शुल्क उठाउँदै आएको छ ।

विराट मेडिकल कलेज
ठगी १९ करोड ९ लाख

विराटनगरस्थित विराट मेडिकल कलेजले पछिल्ला तीन वर्षमा विद्यार्थीबाट १९ करोड नौ लाख ३३ हजार २८९ रुपैयाँ ठगी गरेको छ । छात्रवृत्तिमा पढेकाहरूसँग पनि प्रतिविद्यार्थी ६ लाख २५ हजार अतिरिक्त उठाइएको छ । कलेजमा अध्ययनरत विदेशी विद्यार्थीको हकमा समितिले छानबिन गरेको छैन ।

देवदह मेडिकल कलेज
ठगी ३ करोड ९० लाख
बुटवलस्थित देवदह मेडिकल कलेजले तीन करोड ८९ लाख ९४ हजार ठगी गरेको छ । सन् ०१५र१६ मा २४ सिट पाएको यो कलेजले भर्ना शुल्क मात्रै प्रतिविद्यार्थी चार लाख ५७ हजार आठ सय बढी असुलेको थियो । त्यस्तै, सन् ०१६र०१७ मा भर्ना र अन्य शीर्षकमा गरी प्रतिविद्यार्थी ८ लाख ७७ हजार बढी उठायो । ०१७र१८ मा कलेजले ४० सिट पायो । त्यो वर्ष पनि प्रतिविद्यार्थी ६ लाख ११ हजार पाँच सयका बढी असुल्यो ।

तीन वर्षमा तीन अर्बभन्दा बढी ठगी

पछिल्ला तीन वर्षमा निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी गरेका छन् । सरकारले नै गठन गरेको छानबिन समितिले ठगीको यस्तो भयावह तस्बिर फेला पारेको हो । अझ ठगीको यो रकम नेपाली विद्यार्थीबाट मात्रै असुलिएको हो । विदेशी विद्यार्थीबाट असुलिने रकमको विवरण त सरकारी समितिले पनि संकलन गरेको छैन । ठगीको यो आँकडा विदेशी विद्यार्थीबाट अवैध रुपमा असुलिएको रकम पनि जोड्न झन् धेरै हुने समितिको अनुमान छ ।

मेडिकल कलेजमा भइरहेको अवैध असुलीबारे छानविन गर्न सरकारले ६ महिनाअघि सतर्कता केन्द्रका डिआइजी कमल अधिकारीको नेतृत्वमा चार सदस्यीय छानविन तथा अध्ययन समिति गठन गरेको थियो । समितिले सन् ०१५ देखि १८ सम्म मेडिकल कलेजहरूमा विद्यार्थी भर्ना संख्या, विभिन्न शीर्षकमा उठाइएको शुल्कलगायतका विषयमा स्थलगत अध्ययन गरेको थियो ।

समितिले डेढ महिनाअघि प्रतिवेदन तयार गरिसकेको छ । तर, प्रधानमन्त्रीलाई बुझाउन पाएको छैन । ‘सतर्कता केन्द्रका सचिवज्यू हेरफेर हुनुभएकाले प्रतिवेदन बुझाउने निर्णय हुन पाएको छैन, तर चाँडै प्रधानमन्त्रीलाई बुझाउने तयारीमा छौँ,’ सतर्कता केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले भने ।

राष्ट्रिय सतर्कता केन्द्रले चार महिना लगाएर स्थगलत अध्ययन गरी सन् २०१५ देखि २०१८ सम्मको रिपोर्ट तयार गरेको छ । भर्नामै सरकारले तोकेभन्दा बढी शुल्क असुल्ने कलेजहरूले भर्नापछि विभिन्न शीर्षकमा अतिरिक्त शुल्क उठाएर ठगेको छानबिनमा देखिएको छ । यो तथ्यांक नेपाली विद्यार्थीमाथि मात्रै भएको ठगी हो । विदेशी विद्यार्थीसहितको जोड्दा चार अर्ब पुग्ने केन्द्रका अधिकारीहरू बताउँछन् । केन्द्रका डिआइजी कमल अधिकारी नेतृत्वको छानबिन तथा अध्ययन समितिले प्रतिवदेन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी गरेको छ ।

नयाँ पत्रिकालाई प्राप्त प्रतिवेदनअनुसार सबै निजी मेडिकल कलेजहरूले ठगी धन्दा चलाइरहेका छन् । सम्बन्धन खारेजदेखि अतिरिक्त शुल्क फिर्ता गराउनुपर्ने देखिएको छानबिन समितिमा रहेका एक अधिकारीले बताए ।

शुल्क फिर्ता नगरेसम्म सिट निर्धारण नगर्न विद्यार्थीको माग
चिकित्सा शिक्षाका विद्यार्थीले मेडिकल कलेजहरूले असुलेको अवैध शुल्क फिर्ता नगर्दासम्म सिट निर्धारण रोक्न माग गरेका छन् । संघर्षरत विद्यार्थीहरूले सोमबार ४ नियामक निकायहरू चिकित्साशिक्षा आयोग काठमाडौं, नेपाल मेडिकल काउन्सिल बाँसबारी, चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान ९आइओएम० महाराजगन्ज र काठमाडौं विश्वविद्यालयअन्तर्गतको स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलमा ज्ञापनपत्र बुझाएका हुन् ।

विद्यार्थीले गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी रकम नबुझाउँदासम्म सिट निर्धारण नगर्न नेपाल मेडिकल काउन्सिलसँग आग्रह गरेका छन् । स्रोतका अनुसार काउन्सिल पनि पहिला बढी रकम फिर्ता गरेपछि मात्रै सिट तोक्ने पक्षमा देखिएको छ ।

कलेजहरूले असुलेको अतिरिक्त शुल्क फिर्ता नगरी सिट निर्धारण तथा काउन्सिलिङ प्रक्रिया अघि बढाए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत विद्यार्थीले दिएका छन् । चिकित्साशिक्षा आयोगको गठन भई काम सुरु गरिसकेको अवस्थामा चिकित्सा क्षेत्रको सुधारका कामले गति लिने विश्वास विद्यार्थीले गरेका छन् । मेडिकल शिक्षाको क्षेत्रमा विगतमा भएका अनेक अनियमितताका कारण हाल विद्यमान समस्या समाधानका लागि आयोगले निर्णायक कदम चाल्ने अपेक्षा विद्यार्थीको छ ।

जानकी मेडिकल कलेज
जानकी मेडिकल कलेजले ठगी नगरेको तर मेडिकल कलेजको अवस्था नाजुक रहेको छानबिन समितिले जनाएको छ । भौतिक संरचना राम्रो नरहेको, मेडिकल साधनहरू नचल्ने, होस्टेलको अवस्था नाजुक रहेको र कलेजमा सधैँ आन्दोलन हुने गरेको प्रतिवेदनमा उल्लेख छ । नाजुक अवस्थाकै कारण कलेजमा थोरै विद्यार्थी मात्र भर्ना हुने गरेका छन् ।

सिएमसीले विवरण नै लुकायो
१५ निजी मेडिकल कलेजमध्ये १४ माथि छानबिन भएको थियो । जसमध्ये भतरपुरस्थित चितवन मेडिकल कलेज९सिएमसी०ले समितिलाई विवरण नै उपलब्ध गराएन । विद्यार्थीले भने कलेजबाट ठगिएको भन्दै समितिका सदस्यसँग गुनासो गरेका थिए । सो कलेजले इन्स्टिच्युट अफ मेडिसिन ९आइओएम०लाई समेत नियमित विवरण नपठाएकाले कारबाहीको सिफारिस गरिएको छ ।

सिएमएसीमा पछिल्लो समय विद्यार्थीले २० दिन लामो आन्दोलन गरे । बढी लिएको शुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता कलेज सञ्चालकले जनाएपछि विद्यार्थीले आन्दोलन स्थगित गरेका छन् । त्यस्तै, जोरपाटीस्थित नेपाल मेडिकल कलेजमाथि भने छानबिन गर्न नभ्याइएको समितिले जनाएको छ । ‘सबै मेडिकल कलेजको ठगी उस्तै छ,’ छानबिन समितिका एक अधिकारीले भने, ‘सरकारले तत्कालीन प्रतिवेदनका आधारमा कारबाही गर्ने हो भने मेडिकल क्षेत्रमा ठूलो सुधार हुनेछ ।’

डेढ महिनादेखि प्रतिवेदन अलपत्र
छानबिन समितिले सचिवलाई प्रतिवेदन बुझाएको डेढ महिना भइसकेको छ । अझै प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुग्न सकेको छैन । छानबिन प्रतिवेदन तयार भएको वेला प्रधानमन्त्री सिंगापुर गएको र त्यसलगत्तै सतर्कता केन्द्रका सचिव माधव बेल्बासेको सरुवा भएकाले प्रतिवेदन अलपत्र परेको हो । हाल केन्द्रको सचिवमा डा। ऋषिराम शर्मा छन् । उनले प्रतिवेदनबारे उजुरी व्यवस्थापन समितिमा छलफल नै नगरेको स्रोत बताउँछ ।

मेडिकल कलेजले लिने शुल्कबारे त्रिभुवन विश्वविद्यालयले समेत छानबिन गरेको थियो । विश्वविद्यालयले रिपोर्ट लुकाएर मेडिकल कलेजलाई जोगाउन खोजेपछि ६ महिनाअघि प्रधानमन्त्री कार्यालयले छानबिनको जिम्मेवारी सतर्कता केन्द्रलाई दिएको थियो ।

सचिवलाई बुझाइएको प्रतिवेदनमा सञ्चालकहरूविरुद्ध सम्पति शुद्धीकरणअन्तर्गत छानबिन गर्नसमेत सुझाब दिइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ वटै निजी मेडिकल कलेजका सञ्चालकहरूको सम्पत्ति छानबिन अघि बढाइसकेको छ ।

नेपाल मेडिकल कलेज र चितवन मेडिकल कलेजको अतिरिक्त शुल्क लिएको विवरण छानबिन समितिले समावेश गर्न सकेको छैन । सो समितिको रिपोर्टसहित गरेर १४ वटा मेडिकल कलेजले तीन वर्षमा करिब तीन अर्ब ठगी गरेको पाइएको छानबिन समिति स्रोत बताउँछ ।

राष्ट्रिय सतर्कता केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्याल भन्छन्–
मेडिकल कलेजहरूले विद्यार्थीलाई ठगी गर्दै अतिरिक्त शुल्क असुलेको सम्बन्धमा प्रधानमन्त्री कार्यालयकै निर्देशनमा छानबिन तथा अध्ययन समिति गठन भएको थियो । समितिले प्रतिवेदन तयार पारिसकेको छ । सचिवज्यू हेरफेर हुनुभएकाले प्रतिवेदन बुझाउने निर्णय हुन पाएको छैन । तर, चाँडै प्रधानमन्त्रीलाई बुझाउने तयारीमा छौँ ।

बढी उठाइएको शुल्क एक महिनाभित्र फिर्ता नगरे सञ्चालकविरुद्ध ठगी मुद्दा

सरकारले तोकेभन्दा बढी शुल्क असुलेका मेडिकल कलेजलाई रकम फिर्ता गर्न एक महिनाको अल्टिमेटम दिएको छ । सो अवधिमा विद्यार्थीलाई रकम फिर्ता नगरिए कलेज सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

सोमबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायतको बैठकले अतिरिक्त शुल्क फिर्ता गर्न एक महिनाको अल्टिमेटम दिने र अटेर गर्नेलाई पक्राउ गरी ठगी मुद्दा चलाउने निर्णय गरेको हो ।

कलेजले शुल्कमा ठगेको भन्दै चिकित्सा शिक्षाका विद्यार्थी आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयले सोमबार सम्बन्धित पक्षलाई छलफलमा बोलाएको थियो । बैठकमा गृहसचिव प्रेम राई, शिक्षासचिव महेश दाहाल, त्रिभुवन विश्वविद्यालयकी उपकुलपति सुधा त्रिपाठी, रजिस्ट्रार डिल्ली उप्रेती, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा।डा। श्रीकृष्ण गिरी, चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान ९आइओएम०का डिन जगदीश अग्रवाल, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डिन डा। राजेन्द्र कोजूलगायत सहभागी थिए ।

सरकारले काठमाडौं उपत्यकामा एमबिबिएसका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ । ट्युसन, ल्याब, लाइब्रेरीलगायत सबै शुल्क यसैभित्र समेटेको छ । तर, निजी मेडिकल कलेजले मनलाग्दी चर्को शुल्क असुलिरहेका छन् ।

विद्यार्थीसँग बढी लिएको शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजलाई ६ महिनाअघि नै निर्देशन दिएको थियो । तर, शिक्षाको निर्देशन कलेजहरूले टेरेका छैनन् । ८ चैत ०७५ मा शिक्षा मन्त्रालयले गण्डकी मेडिकल कलेजको त नाम नै तोकेर निर्देशन दिएको थियो । सो कलेजले विद्यार्थीअनुसार फरक–फरक शुल्क उठाएको विद्यार्थीको आरोप छ । छात्रवृत्तिका विद्यार्थीसँग ६ लाख र अन्यसँग १३ देखि २० लाखसम्म बढी उठाएको विद्यार्थीको दाबी छ ।





error: Content is protected !!