यसकारण आवश्यक छ किशोरावस्थामा यौनशिक्षा

किशोरावस्थामा विपरीत लिंगीप्रति आकर्षण हुनु सामान्य जैविक प्रक्रिया हो । तर, अझैपनि यौनलाई समाजमा खुला रूपमा लिन नसक्दा उनीहरू मानसिक प्रताडना र कानुनी सजायको सिकार हुने गरेका छन् ।

किशोरावस्था संवेदनशील उमेर हो । स्वाभाविक यौन जिज्ञासा र मनोविज्ञानलाई अभिभावक, शिक्षक, समाज र नीतिगत संरचनाले बुझ्नुपर्ने हुन्छ ।

अनावश्यक अनुशासनको अंकुश लगाउँदा गलत संगतमा लाग्ने, कुलतमा फस्ने, आपराधिक गतिविधि गर्ने जोखिम बढ्ने गर्छ ।

कलेज पढ्ने भइसकेपछि अधिकांशले केटा वा केटी साथी बनाउन सुरु गर्छन्, किनकि किशोरावस्था यौनको बारेमा बढी उत्सुकता हुने उमेर हो ।

साथीसँग खुलेर कुरा गर्ने
नेपाली समाजमा अझै पनि यौनको विषयमा खुलेर बहस गरिँदैन । टिनएजरहरू यसको प्रत्यक्ष सिकार भइरहेका हुन्छन् । यौनसम्बन्धी समस्याबारे खुल्न नसक्दा भविष्यमा भयानक रोग लाग्ने जोखिम रहन्छ ।

तसर्थ आफ्नो समस्या, रुचि र चाहनाबारे साथीसँग कुरा गर्न सकिन्छ, यसो गर्दा वातावरण सहज हुन्छ । यस उमेरमा सही ज्ञान लिन सकेमा यौन दुव्यवर्हारलगायत अपराध पनि स्वतः घटेर जाने गर्छ ।
सुरक्षित रहने
उचित सरसल्लाह र मार्गनिर्देशनको अभावमा कतिपयले गलत निर्णय लिइरहेका हुन्छन् । खासगरी लहलहैमा लागेर प्रेममा पर्ने वा केटा वा केटी साथी बनाउने गर्छन् । जसले गर्दा पछि समस्या सिर्जना हुन सक्छ ।

त्यस्तै, अधिकांश किशोरकिशोरी नै यौन दुव्र्यवहारको सिकार भइरहेका हुन्छन् । दुव्र्यवहार हुँदा पनि बाहिर खुल्न डराउने र लजाउने गर्छन्, जसकारण अपराध लुक्छ ।

जसको मुख्य कारण नै उचित ज्ञान र जानकारीको कमी हो । तसर्थ किशोर–किशोरीलाई यस्ता दुव्र्यवहारबाट बचाउन उनीहरूलाई सही ज्ञान दिन जरुरी हुन्छ ।

कार्यक्रम तथा सेमिनार
किशोर–किशोरीको यौन स्वास्थ्यबारे विभिन्न सेमिनारमा बहस भइरहेको हुन्छ । त्यस्ता कार्यक्रममा सहभागी भएर यौन स्वास्थ्यबारे जानकारी लिन सकिन्छ । जसले गर्दा उनीहरूमा यौनसम्बन्धी कुन्ठा हुन पाउँदैन ।

सहज महसुस गर्ने
यौनजन्य अपराधको मुख्य कारण हाम्रो समाज यौनको विषयमा खुला नहुनु पनि हो । यौन भावना दबाएर राख्दा अनैतिक क्रियाकलाप बढ्ने जोखिम रहन्छ । त्यस्तै, कसैसँग सम्बन्धमा रहँदा पनि दबाबमा बस्नुहुँदैन । आफ्नो सम्बन्धमा सचेत नहुँदा अनैतिक सम्बन्धका कारण परिवारलाई समेत असर पर्न सक्छ । साथीहरूको सम्बन्धमा पनि ख्याल गर्नुपर्ने हुन्छ ।

नियमित स्वास्थ्य परीक्षण गर्ने
विशेषगरी किशोर–किशोरी आफ्नो स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्ने हुन्छन् । त्यस्तै, अन्य कतिपय कुरामा ध्यान नदिँदा विभिन्न स्वास्थ्य समस्या देखापर्ने गर्छ । खासगरी लजाउने बानीका कारण चिकित्सकसँग पनि खुलेर कुरा गर्दैनन्, जसले गर्दा स्वास्थ्यसम्बन्धी जटिलता देखापर्छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!