नलगाड जलविद्युत आयोजनाको क्षमता बढ्यो

हेमन्त केसी 
काठमाण्डौँ , ः जाजरकोटको पुर्वी क्षत्रमा निर्माण हुँन लागेको नलगाड जलविद्युत आयोजनाको ७ मेगावाट विद्युत उत्पादन क्षमता बढ्ने भएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्दा यो तथ्य सार्वजानिक भएको हो ।
४१० मेगावाट बाट ४१७ मेगावाट पुगेको आयोजनाले जनाएको छ । आयोजनाको विद्युत उत्पादन क्षमता बढेसँगै स्थानीयवासीहरु खुसी भएका छन् । सुरुमा गरिएको अध्यायनले ४१० मेगावाट विद्युत उत्पादन हुने सर्वेक्षण गरिएकोमा अहिले डिपिआरको प्रारम्भिक प्रतिवेदनबाट ७ मेगावाट विद्युत उत्पादन क्षमता बढेको आयोजनाका ईन्जिनियर पदम थापाले बताउनुभयो ।
बारेकोट गाउँपालिकाको अधेरीखोलामा निर्माण हुने बाँधको उचाई सुरुमा २ सय मिटर रहेकोमा अहिले २१० मिटर बनाएकोले विद्युत उत्पादन क्षमता बढेको उहाँले बताउनुभयो । वातावरण प्रभाव मुल्यांकनको प्रतिवेदन तयार भई वन मन्त्रालयमा स्वीकृतीका लागि पठाएको छ । त्यसै गरी आयोजनाको जग्गा अधिग्रहणको काम समेत सुरु भएको छ ।
जाजरकोट लामो समयदेखि अर्थाभावका कारण किस्ता–किस्तामा वितरण हुँदै आएको नलगाड जलविद्युत् निर्माणस्थलको मुआब्जा उपलव्ध गराउनका लागि सूचना समेत प्रकाशन गरिएको छ । ४हजार ४६२ (३ हजार ८६१ किता) रोपनी जग्गा अधिग्रहण गर्नका लागि सूचना प्रकाशन गरिएको छ ।
सरकारले सबै मुआब्जा दिने गरी दुई अर्ब ७२ करोड रकम विनियोजन गरेको वन तथा वातावरण मन्त्रीशक्तिबहादुर बस्नेतले बताउनुभयो । मुआब्जा यसै वर्षमा वितरण गरेर काम सुरु गर्ने वन तथा वातावरणमन्त्री बस्नेतले बताउनुभयो ।चार वर्षअघिदेखि मुआब्जा वितरणकार्य शुरु गरिए पनि रकम अभावमा अहिलेसम्म बाँधस्थल अँधेरीखोलामा १५० रोपनी र विद्युतगृह निर्माणस्थलको २५० रोपनीको मात्र मुआब्जा वितरण गरिएको थियो।
अब बाँधस्थलका स्थानीयवासीको जग्गा अधिग्रहण गरी मुआब्जा वितरणको काम शुरु भईसकेको मन्त्री बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ आयोजना निर्माणका लागि बिभिन्न देश सँग छलफल जारी रहेको छ , कर्णाली प्रदेशको मुहार फेर्ने यो आयोजना तोकिएकै समयमा निर्माण गर्न हामी निरन्तर लागि रहेको छौँ । ” मुआब्जा वितरण गरिएको ठाउँमा यो भन्दा अगाडि प्रतिरोपनीको रु चार लाख ७५ हजारका दरले वितरण गरिएको थियो। अब तीन हप्ता भित्र जग्गाको मूल्याङ्कन तथा गुनासा सुनेर जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक बोलाई नयाँ दरभाउ तोकेर मापदण्ड बनाई मुआब्जा वितरणको काम सुरु हुँने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । दक्षिण एसियको नमुना बाध वन्न लागेकोले पर्यटकीय हिसावले समेत महत्वपुर्ण रहेको उहाँले बताउनुभयो ।
मिति सकिएको कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर) काम चार महीनाभित्र सकिने सम्भावना रहेको कम्पनीका इञ्जिनियर पदम थापाले जानकारी दिनुभयो । स्मेक, एमडब्लुएच कन्सलटेन्टले विस्तृत योजना प्रतिवेदन बनाउने जिम्मा लिएको छ। तोकिएको समयमा प्रतिवेदन दिन नसकेको कन्सलटेन्टलाई छ महिना मिति थपिएको भए पनि, थपिएको मिति भदौ २ गते तीर नै सकिएकोले अहिले म्याद थपिएको छैन् । तोकिएको मितिमा डिपिआरको प्रतिवेदन दिन नसक्ने कन्सलटेन्ट जती ढिला गर्छ , उती बढी विलम्व शुल्क वाफत सम्झौता रकमको १० प्रतिशतका हिसावले तिर्नुपर्ने आयोजनाले जनाएको छ ।
बत्तीस महिनाभित्र निर्माणकार्य पूरा गर्ने भनी सम्झौता गरिएको भए पनि सो निर्धारण गरिएको समयमा काम पूरा नहुँदा छ महीना थपिएको थियो। सामग्री ढुवानी, सुरक्षा अनि विस्फोटक पर्दाथको समयमा आपूर्ति नहुँदा निर्धारित समयमा काम पूरा गर्न नसकेको कन्सलटेन्टले बताएको छ।
यो आयोजना निर्माण भएमा ४१७ मेघावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ। बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युतगृह निर्माण हुनेछ।
विद्युतगृह निर्माणका लागि ३४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउने काम सुरु भए पनि थपिएको मिति सकिदा सम्म २५० मिटर मात्र निर्माण गरिएको आयोजनाका इञ्जिनियर थापाले बताउनुभयो । सरकारले अबको १० वर्षभित्र सात प्रदेशमा १२ ठूला आयोजना सम्पन्न गर्ने लक्ष्य लिएर कर्णाली प्रदेशमा ४१७ मेगावाटको नलगाड जलाशययुक्त आयोजना अघि बढाउने योजना अगाडि सारेको थियो ।
त्यस्तै नलगाड जलविद्युत् कम्पनी निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण गर्ने भनिएको ताँसुगाड जलविद्युत् आयोजनाको डिपिआर निर्माणकार्य भर्खर शुरु भएको छ। डिपिआर निर्माणको जिम्मा लिएको डिजाएड कन्सल्टेन्ट नयाँबानेश्वरले बीचमै काम छाडेर सम्पर्कमा नआएपछि समस्या भएकामा अहिले पुनः काम गर्न थालेको थापाले बताउनुभयो ।
उक्त कामका लागि रु ८८ लाखमा ठेक्का लिएर ४३ लाख रकम भुक्तानी लिएको र बाँकी रकम नलिएरै सम्पर्कमा नआएपछि सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहलगायतको टोलीले चर्को दवाब दिएपछि पुनः काममा फर्केको छ। ताँसुगाड जलविद्युत् आयोजनाबाट चार दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गरेर नलगाड जलविद्युत् कम्पनी निर्माण गर्ने लक्ष्य राखिएको छ।
दुई वर्षभित्र प्रतिवेदन बुझाउने सम्झौता भए पनि डिजाएडले पाँच वर्ष पूरा भए पनि प्रतिवेदन बुझाएको छैन। त्यस्तै जिल्लाको नलगाड नगरपालिका–७ को दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माणकार्यका लागि जग्गा अधिग्रहण गरेर मुआब्जा वितरणकार्य सुरु भएको छ ।







