गरिबीले ज्यान लिँदै: कर्णालीमा २५५ जनाले गरे आत्महत्या

काठमाडौं । वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तर डेढ वर्षअघि २५ वर्षीय घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो- गरिबी । छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा एक सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए ।
‘आम्दानीको अरू माध्यम भएन, ऋणको ब्जाय बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्, ‘त्यही पीरले झुन्डिएर आत्महत्या गरेछ ।’ घनबहादुरजस्ता थुप्रै व्यक्तिले आत्महत्या गर्नुमा गरिबी प्रमुख कारण देखिएको छ । सुर्खेतबाट ज्योति कटुवालले लेखेको यो खबर आजको कान्तिपुरमा छापिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ । कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा ७ सय २८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये गरिबीका कारण आत्महत्या गर्नेको संख्या २ सय ५५ जना छ ।










