प्रचण्डले भने, ‘योगेश जस्तो मन्त्री पहिलोचोटी देख्दैछु’

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको तारिफ गरेका छन् । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) को ४१ औँ साधारणसभामा प्रमुख अतिथिको रुपमा रहेका प्रचण्डले आफ्नो मन्तव्यका क्रममा मन्त्री भट्टराईको खुलेर तारिफ गरे ।
टानका अध्यक्ष नवराज दाहालले राखेका पर्यटन क्षेत्रका नीतिगत समस्याबारे जवाफ दिँदै कार्यक्रममा विशिष्ट अतिथि रहेका मन्त्री भट्टराईले नीजि क्षेत्रलाई अंकुश लगाएर सरकार बलियो नहुने बताएका थिए । ‘व्यवसायीलाई, नीजि क्षेत्रलाई बाँधेर सरकार बलियो हुने होईन, कमजोर हुन्छ’ मन्त्री भट्टराईले भने, ‘नीजि क्षेत्र दह्रो भयो भने सरकार पनि बलियो हुन्छ, त्यसैले के गर्दा नीजि क्षेत्र फस्टाउँछ सरकारले त्यही गर्छ ।’
मन्त्री भट्टराई आफ्नो मन्तव्य सकेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक तर्फ नवनिर्मित कन्भेयर वेल्टको उद्घाटन गर्न हिडे । मन्तव्यको पालो प्रमुख अतिथि प्रचण्डको थियो । उनले आफूले अहिलेसम्म योगेश जस्तो मन्त्री नदेखेको बताए । आफूले नेतृत्व गरेको मन्त्रीमण्डलमा समेत योगेश जस्ता मन्त्री थिएनन् भन्ने संकेत गर्दै प्रचण्डले स्पष्ट तरिकाले व्यवसायीका माझमा सरकारको तर्फबाट कुरा राख्ने मन्त्री आफूले पहिलोपटक देखेको बताए ।
‘मन्त्रीले धेरै प्रतिबद्धता राख्नु भएको छ । यस्ता कार्यक्रममा यति स्पष्ट र भरोसायोग्य तरिकाले प्रतिवद्धता राख्ने मन्त्री मैले पहिलोचोटी देख्दैछु’ प्रचण्डले भने, ‘यसअर्थमा अझै आशा र भरोसा राख्ने अवस्था पैदा भएको छ ।’ उनी योगेश भट्टराईलाई मन्त्री बनाएकोप्रति प्रशन्न देखिए ।
उद्यपी प्रचण्डले राखेको मन्तव्य सुन्ने बेलामा मन्त्री भट्टराई बाहिरिसकेका थिए ।










