‘श्रीमानको थरबाट श्रीमतीलाई वंशजको नागरिकता दिनु हुँदैन

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद यशोदा सुवेदी गुरुङले श्रीमानको थरबाट श्रीमतीलाई वंशजको नागरिकता दिन नहुने बताएकी छन्।

प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा सांसद गुरुङले रगतको नाता भएकाको सनाखतबाट मात्रै मिल्नुपर्ने वंशजको नागरिकता श्रीमानको सनाखतबाट दिन नहुने बताइन्।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताउँदै नयाँ राख्न लागिएको व्यवस्थामा आपत्ति जनाएकी हुन्। ‘कानुनमा व्यवस्था नहुँदा पनि वंशजको नागरिकता श्रीमानको नामबाट, शनाखतबाट दिइने परम्परा रहेछ।

यो विभेदकारी परम्परा छ। कानुनविपरीत छ’, उनले थपिन्, ‘श्रीमानको नाम र थरबाट महिलालाई वंशजको नागरिकता दिने परम्पराको अन्त्य गर्नुपर्छ।’ सांसद गुरुङले उक्त विधेयकका विवादित विषयमा सहमति बनाउन गठित उपसमितिले तयार पारेको प्रतिवेदनमा पनि असहमति जनाएकी छन्।

नेकपाका सांसद विजय सुब्बाको संयोजकत्वमा ९ सदस्यीय गठित उपसमितिले प्रतिवेदन बुझाएको छ। सांसद गुरुङ पनि उक्त उपसमिति सदस्य हुन्। थाहा खबर




सम्बन्धित समाचार


error: Content is protected !!