दिनमा कतिखेर के गर्न उपयुक्त ?

मानिस स्वस्थ रहन जरुरी अहम् पक्षमा खानपानको गुणस्तर र समय तालिका मुख्य नै हो । चिनियाँहरू मानव शरीरलाई दैनिक जीविकाका लागि केही प्रकारका ऊर्जा अनिवार्य हुन्छन् भन्ने विश्वास गर्छन् । परम्परागत हिलिङ फुड उपचारजन्य खाद्यपदार्थ० र औषधिविज्ञानमा शरीरमा ऊर्जा प्रवाहको निश्चित मार्ग र तौर–तरिका हुने गर्छ, जसलाई मेरिडियन भनिन्छ ।
परम्परागत चिनियाँ मान्यताअनुसार मानिसको जीवनशैलीमा १२ प्रमुख मेरिडियनको महत्वपूर्ण भूमिका हुन्छ । हरेक दिन दुई घन्टाको विशेष अवधिमा ऊर्जा प्रवाह हुँदै २४ घन्टाको नियमित चक्र पूरा हुने गर्छ । दुई घन्टाको यस्तो विशेष समयमा उक्त मेरिडियनमा परेका अंगमा शरीरको अत्यधिक ऊर्जा खर्च हुन्छ । यही शारीरिक क्रियाका आधारमा नित्य कर्म, रासलीला, औषधोपचार, खानपान, व्यायाम आदि गरिनुपर्ने मान्यता राख्छ, चिनियाँ परम्परागत औषधिविज्ञान ।
उदाहरणका लागि बिहानको १ देखि ३ बजेको समय कलेजोको हो । कलेजो मनोवैज्ञानिक दुःख र उदासी भावना र सिर्जनात्मक सपनासँग जोडिने गर्छ । यस समयमा, विषाक्त पदार्थहरू शरीरबाट मुक्त हुन्छन् र शरीरले ताजा नयाँ रगत बनाउँछ । यो मानिस अलि बढी क्रोधित, निराश र सन्की बन्न सक्ने समय मानिन्छ ।
दिउँसोको १ देखि ३ बजेको समय सानो आन्द्राको पाचनको लागि उपयुक्त हो । यो खाना खाएपछि यसको पाचन र रगतमा सोसिन लाग्ने समय हो । दैनिक कार्य वा व्यायाममा जानका लागि पनि यो समय उपयुक्त ठानिन्छ । यो समयमा कहिलेकाहीँ, मानिसमा असन्तोषी विचार आउन सक्छ । त्यागको भावना जागृत हुने समय पनि हो ।
बिहानको ३ देखि ५ बजेसम्म फोक्सोको मेरिडियन रहेकाले यो समय आत्मा र श्वास–प्रश्वाससँग सम्बन्धित हुन्छ । यो समय ध्यानका लागि अति राम्रो मानिन्छ । यो समयमा जागा रहेको अवस्थामा ढिलो, तर गहिरो सास लिने अभ्यास गर्न सिफारिस गरिन्छ । फोक्सोलाई प्रशस्त अक्सिजनको जोहो गर्न र शरीरलाई न्यानोपन दिलाउन यस्तो क्रियाकलाप सिफारिस गरिएको हो ।
बेलुकीको ३ देखि ५ बजेसम्म ब्लाडर मेरिडियन रहेको हुन्छ । ब्लाडर शरीरमा ऊर्जाको भण्डार मानिने हुँदा यो अध्ययन गर्न र मस्तिष्कलाई चुनौतीपूर्ण कार्यमा संलग्न गराउनका लागि उपयुक्त समय मानिन्छ । यो समयमा मानिसले चिन्ता वा डरलाग्दो अनुभव पनि गर्ने सम्भावना रहन्छ ।
बिहानको ५ देखि ७ बजेको समय ठूलो आन्द्रामा ऊर्जाको अधिकतम प्रवाह हुने समय हो । यो समयमा अब–शोषणपश्चात् विषाक्त पदार्थसहित दिसाजस्ता विकारजन्य पदार्थ गुदद्वारमार्फत हटाउन ठूलो आन्द्रा र गुदद्वार सक्रिय हुने गर्छन् ।
यदि तपाईं कब्जियतको समस्यामा हुनुहुन्छ भने बिहानै ६ बजेतिर शौच गर्न जानुभयो भने दिसा खलास हुने गर्छ । यो समय शरीर सफा गर्न, स्नान गर्न, कपाल कोर्न र मिलाउन आदिको लागि उपयुक्त समय मानिन्छ । बिहान–बिहान कपाल कोर्ने बानीले दिमागमा रहेको नकारात्मक ऊर्जा सफा गर्न मद्दत गर्छ भन्ने मान्यता लिइन्छ ।
बेलुकीको ५ देखि ७ बजेसम्म मिर्गौलाको समय हो । यो मिर्गौला र रगतमा रहेका हानिकारक पदार्थ सफा गरी रगतमा जरुरी पदार्थको उचित मात्रामा व्यवस्थापन गर्ने समय हो । यस समयमा रात्रिको खाना खान उपयुक्त मानिन्छ । साथै, हिँडेर, मसाज गरेर र जिउ तन्काएर शरीरमा रक्त सञ्चार सक्रिय गराउनुपर्ने समयसमेत यही हो ।
यो समयमा मानिसमा अर्ध–चेतन रूपको डर वा आतंकका भय देखिन सक्छन् ।आमाशयको मेरिडियन बिहान ७ देखि ९ बजेसम्म पर्छ । यो समयमा हाम्रो पेट धेरै नै शक्तिशाली हुने गर्छ । तसर्थ, बिहान ८ बजेतिर दह्रो ब्रेकफास्ट खानु शरीरको हिसाबमा अनुकूल छ ।
बेलुकीको ७ देखि ९ बजेसम्म मुटुको संरक्षण गर्ने ‘पेरिकार्डियम मेरिडियन’ र रक्तसञ्चारको समय हो । यसवेला पेटमा सबैभन्दा कम ऊर्जा प्रवाह भइदिने हुँदा बेलुकीको ७ बजेअघि नै हल्का डिनर लिनु फाइदा जनक हुन्छ । यो समयमा पोषण तत्वहरू रगतका नसा हुँदै प्रत्येक कोषिकामा पुग्ने गर्छन् ।
यो समय कुनै मानसिक श्रम चाहिने गहिरो अनुसन्धान आदि नगर्न, बरु नयाँ कुरा अध्ययन गर्न उत्तम मानिन्छ । यो समय मनका गहिरा भावना व्यक्त गर्न कठिनाइ हुने समय हो । पेरिकार्डियम हृदयको सुरक्षाका अलावा प्रेमालापमा होमिन, सम्बन्ध सुधार र रोमाञ्चक भावनाको आदान–प्रदानमा सहयोगी बन्ने हुँदा बेलुकी ८ देखि ९ बजेको समय रासलीला र गर्भधारणका लागि उत्तम समय मानिन्छ ।
बिहानको ९ देखि ११ बजेसम्म प्यांक्रियाज र स्प्लिनको समय हो । यो समयमा शरीरले खाना पचाएर ऊर्जा बनाउन सहयोगी हुने इन्जाइम उत्पादन गर्छ र ती इन्जाइम पाचन प्रणालीलाई उपलब्ध गराउँछ । व्यायाम र काम गर्नका लागि उत्तम मानिन्छ यो समय । आफ्नो दैनिकीको सबैभन्दा महत्वपूर्ण काम गर्न यो समयको उपयोग गर्न सुझाइने गरिन्छ ।
बेलुकीको ९ देखि ११ बजे सम्म स्प्लिन वा इन्डोक्राइन प्रणालीको समय हो । अन्य समयभन्दा यो समयमा शरीर धेरै नै बढी न्यानो हुन्छ । शरीरको कोषिकामा पुगेका खाना ऊर्जामा परिवर्तन हुने गर्छ । शरीरले आफ्नो तापक्रम वृद्धि गरेर सम्पूर्ण ऊर्जा प्रवाह सन्तुलनमा फर्काउने र इन्जाइमलाई पुनःस्थापित गर्ने गर्छ । यो समयमा मनिसलाई आरामसँग सुत्न सिफारिस गरिन्छ ताकि शरीरले अर्को दिनका लागि जरुरी ऊर्जाको संरक्षण गर्न सकोस् ।
अपराह्न ११ देखि १ बजेसम्म मुटुको समय हो । मुटुले रगतसँगै पोषण र ऊर्जा शरीरभर पु(याउन सहयोग गर्छ । यो समय दिउँसोको हल्का खाना खानका लागि उपयुक्त मानिन्छ । यो समयमा एक कप चिया पिउन र एक घन्टा वा कम समयको छोटो सुताइका लागि सिफारिस गरिन्छ । यस समयमा भावनात्मक रूपमा मानिस कहिले आफू अति आनन्दित त कहिले दुःखी बनेको महसुस गर्छ ।
मध्यरातको ११ देखि १ बजेसम्म गलब्लाडरको समय हो । शरीरलाई ऊर्जायुक्त बनाउन यो समयमा आराम गर्नु जरुरी मानिन्छ । परम्परागत चिनियाँ औषधि पद्धतिमा यस अवधिमा शरीरले निष्क्रिय र नकारात्मक ऊर्जालाई सक्रिय सकारात्मक ऊर्जामा परिवर्तन गर्ने गर्छ । सकारात्मक ऊर्जाले शरीरलाई दिनको समयमा सक्रिय रहन र रातको समयमा ऊर्जाको उचित भण्डारण गर्न सहयोग गर्छ । यस समयमा मानिसमा आफू महत्वपूर्ण मानिसको बेवास्तामा परिरहेको जस्तो अवचेतन भावना प्रकट हुन सक्छ ।
मध्यरात र मध्यदिनको वरपर शरीरका केन्द्रीय मेरिडियन सक्रिय रहने गर्छन् । यसलाई ‘ग्लोबल’ मेरिडियन भनिन्छ । ग्लोबल मेरिडियनका बखत शरीरको सम्पूर्ण भागमा ऊर्जाको अधिकतम प्रवाह भइदिने हुँदा यी समयलाई आरामका लागि उपयुक्त समय मानिन्छ ।










