जनहितलाई केन्द्रमा नराखे सत्ता उल्टन सक्छ- प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन संक्ने संभावना रहेको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याएका हुन् ।
कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचार भन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यस तर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याए ।
पुर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै उनले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली बिर्सन नहुने बताए ।
पार्टी एकतामा केही ढिला भएपनि लगभग सबै प्रक्रिया टुंगिएको उनले बताए । कार्यक्रममा बोल्दै उनले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै त छैन भन्दै प्रश्न गर्दै भने, ‘कम्युनिष्टहरुमा बैचारिक विचलन आएको छ । सामुहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रीत भएको महशुस भएको छ । यसलाई परिवर्तन गर्नुपर्छ । ’
उनले कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने भएपनि सत्तामा पुगेपछि त्यसलाई विर्सदै जाने प्रवृति आएको भन्दै राष्ट्र र जनताको चाहाना के हो ? कार्यशैली के हुने हो भन्ने बिर्सेर विस्तारै–विस्तारै वुर्जुवा शैलीतर्फ जान थालेकोप्रति आफुलाई चिन्ता लागेको बताए ।
सोभियत संघ लगायतमा कम्युनिस्ट सत्ता ढल्नुको कारण कोट्याउँदै उनले बुर्जवाहरुले कम्युजिस्टहरुसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाइदिने गरेकाे उदाहरण रहेकाे बताए ।
उनले भने, ‘पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । कम्युनिस्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।’










