सुरक्षा पोष्टको किन विरोध ?

जाजरकोट (रासस) उपल्लो डोल्पाको साल्दाङ र धोलगायतका तीन ठाउँमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सुरक्षा जाँचका सुरक्षाकर्मी राखेपछिकर छलि गर्ने व्यापारीले विरोध गरेका छन् ।
तिन्जे र धो हुँदै छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतमा चोर बाटोबाट व्यापारीले यार्सा निर्यात गर्न थालेपछि निकुञ्जले उक्त क्षेत्रमा सुरक्षा कार्यालय स्थापना गरेपछि विरोध भएको छ । निकुन्जले शे फोक्सुण्डो गाउँपालिकामा पर्ने दानिगाड, साल्दाङको निजाल र डोल्पोबुद्दको धोमा अस्थाई सुरक्षा कार्यालय स्थापना गरे लगत्तै विरोध सुरु भएको हो ।
यही नाँका हुँदै वर्षेनी विना छोडपुर्जि र संकलन इजाजतपत्र र राजस्व नलिएर उपल्लो डोल्पा र उत्तरी तिब्बतबीचको सिमा नाकामा पर्ने क्याटो र मोरिम्ममा लगेर व्यापारीले बहुमुल्य जडिबुटी यार्सागुम्बाको व्यापार गरेको सूचना पाएपछि सुरक्षा कार्यालय स्थापना गरिएको थियो । प्रक्रिया पुरा नगरी अवैद्य बाटोबाट व्यापारीले कारोवार गर्न थालेपछि सो रोक्न निकुन्जले यस्तो गरेको छ ।
क्याटो र मोरिम्ममा भदौ १ देखि १५ गतेसम्म अस्थाई रुपमा हाटबजारका लागि नाँका खुल्ने मौका छोपी अवैद्य कारोवार हुँने भन्दै सुरक्षा कार्यालय स्थापना गरिएको निकुन्जले बताएको छ । विगतका वर्षहरुमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको कडा सुरक्षा दिएर यार्सागुम्वाको व्यापार हुँदै आएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगाडका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी गोपाल खनालले बताउनुभयो
डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले विगतमा व्यवहारिक रुपमा निकुञ्जले पनि छाडेको र स्थानीय प्रशासनले पनि लचकता अपनाएको उल्लेख गदै यस वर्ष पनि व्यवहारिक रुपमा हेर्नको लागि निकुञ्जलाई आग्रह गर्दा पनि नमाने पछि केहि विवाद भएको बताउनुभयो । स्थानीय प्रशासन र निकुञ्ज कार्यालय र व्यापारिहरुको छलफलमा सहमति नभएपछि समस्या समाधानको लागि केन्द्रमा पठाइएको प्रजिअ केशरीले बताउनुभयो ।
पुराना यार्सा व्यापारी नगेन्द्र बुढाथोकीले ठुला व्यापारीलाई राजस्व तिरेर लैजान समस्या नभएको तर स्थानीय आफ्नै कमाइले संकलन गरेका साना व्यापारीहरुलाई भने मर्का पर्ने बताउनुभयो । शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पाले आर्थिक वर्ष ०७५ ÷०७६ मा ५ करोड ७१ लाख ९१ हजार रुपैयाँ राजस्व उठाएको छ।
यार्सागुम्बा र सेतो चिनीलगायतका बहुमुल्य जडिबुटी, पर्यटक शुल्क वनपैदावर र चरिचरन अन्तरगत उक्त राजस्व उठाएको निकुञ्ज कार्यालय सुलिगाडले जनाएको छ। बहुमुल्य जडिबुटी यार्सागुम्बाको प्रवेश शुल्क वापत रु २ करोड ९२ लाख ७५ हजार ५०० र संकलन अनुमति पत्र वापत रु १ करोड ८३ लाख ५ हजार गरेर रु ३ करोड ११ लाख १० हजार ५०० उठाएको हो।
यसै गरि सेतोचिनीको छोडपुर्जि वापत रु २ करोड १४ लाख ८० हजार उठाएको छ। फोक्सुण्डो ताल हेर्न जाने पर्यटकहरुबाट प्रवेश शुल्क वापत १८ लाख ७९ हजार उठाएको शे फोक्सुण्डो निकुन्ज कार्यालय सुलिगाडका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी गोपाल खनालले बताउनुभयो । सूचना अधिकारी खनालका अनुसार पर्यटक भरिया शुल्क, चरिचरन शुल्क, माछा शुल्क, जडिबुटी छोडपुर्जि, क्यापिङ्ग र गाइड शुल्क र गतवर्षको बेरुजु दाखिलासमेत गरेर रु २१ लाख २८ हजारसमेत गरेर ५ करोड ७१ लाख ९१ हजार ८ सय ४० रुपैयाँ राजस्व उठाएको छ।
यसै गरि डिभिजन वन कार्यालय दुनैले आर्थिक वर्ष २०७५।०७६ मा यार्सागुम्बाबाट रु ६२ लाख ४० हजार मात्र राजस्व उठाएको छ। गत वर्ष यार्सागुम्बाबाट मात्र वनले रु १ करोड ५० लाख राजस्व उठाएको थियो। डिभिजन वन कार्यालय दुनैका प्रमुख नरबहादुर क्षेत्रीका अनुसार आर्थिक वर्ष २०७४।०७५मा ३५० केजी यार्सागुम्बाको राजस्व उठाएकोमा आर्थिक वर्ष २०७५।०७६ मा भने २०८ केजी यर्सागुम्बाको मात्र राजस्व उठाएको हो।
प्रति केजी ३० हजारका दरले यार्सागुम्बाको राजस्व उठाउने गरिन्छ। विगतका वर्षहरुमा पञ्चवर्षिय योजना बनाएर यार्सागुम्बाको राजस्व उठाउने गरिन्थ्यो। तर गएको आर्थिक वर्षमा कुनै पनि योजना नबनाइएको र सेतो चिनीको मुद्दा परेकाले पनि समस्या आएकोले राजस्वमा गिरावट आएको वन अधिकृत क्षेत्रीले बताउनुभयो । हिमाली जिल्ला डोल्पामा १० क्वीन्टल भन्दा बढी यार्सागुम्बा पाइने तथ्याङ्क छ ।
हेमन्त केसी










