जहाँ आफ्नै तौल भन्दा बढी पिँठयू बोकेर ढुवानी गरिन्छ ?


हेमन्त केसी
डोल्पा ः डोल्पा जिल्लास्थित काइके गाउँपालिका–३ का सक्कु सन्दुक लामा त्यहाँ निर्माण हुन लागेको सिँचाइ आयोजनाका लागि प्लाष्टिक पाइप पिठ्यूँमा बोकेर हिँडेको दुई हप्ता भयो । असारमै सक्नुपर्ने सो आयोजनाको निर्माण सामग्री ढुवानीको समस्याले गर्दा अहिलेसम्म कार्यान्वयनमै समस्या भएको उहाँको भनाइ थियो ।
दुनैबाट काइके गाउँपालिकासम्म सामग्री बोकेर पु¥याउन मात्र चार दिन लाग्छ । रोटी, पीठोका लागि पाइपको भारी बोकेर उपल्लो डोल्पाका बासिन्दाले दैनिक पिठ्ँ्यू, घोडा र खच्चडको भरमा सामग्री ढुवानी गर्दै आएका छन् । यसरी दैनिक भारी नबोके दैनिक गर्जो टार्न र विकास निर्माणका कामसमेत प्रभावित हुन पुग्छ । भारी बोक्दा बोक्दा त्यहाँका बासिन्दाको टाउकामा नाम्लोको खत नै परेको छार्का गाउँपालिका–५ का सितार लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “भारी बोकेर नल्याए के खाने, के लगाउने रु घोडा र खच्चड अनि मानिसले बोकेर नलगे दैनिक गुजारा चलाउन कठिन हुन्छ ।”
दुनैबाट पनि उपल्लो डोल्पा जान पाँच दिनभन्दा बढी लाग्छ । अक्सिजनको अभाव र पर्याप्त खानेकुरा नपाइने उपल्लो डोल्पामा काम गर्न पनि मुस्किल हुने त्यहाँका बासिन्दा बताउँछन् । छ महीना मात्र बसोबास गर्न सकिने सो स्थानमा विकास निर्माणका काम गर्नसमेत मुस्किल र चिसो याममा त्यहाँका अधिकांश बासिन्दा घर छोडेर तल्लो क्षेत्रमा भर्ने गर्दछन् । चैत महीना मात्र उपल्लो डोल्पामा जाने यहाँका बासिन्दा जडीबुटीको मौसम छोपेर पुनः फर्कने गरेको सहरताराका मञ्जु दावा लामाले बताउनुभयो । सरकारी निकायको उपस्थितिसमेत सो क्षेत्रमा कम हुने गरेको छ । फोन सेवासमेत उपलब्ध नभएको सो ठाउँका बासिन्दा बिरामी भए उपचारको अभावमा कतिपयको ज्यानसमेत जाने गरेको छ ।
खाद्यान्न उत्पादन अत्यन्तै न्यून हुने त्यहाँ आयातीत खाद्यान्नले मात्र दैनिक परिवार पाल्नु परेको रुन्जे गुरुङले बताउनुभयो । चिनो र तीतो फापर मात्र उत्पादन हुने उपल्लो डोल्पामा त्यो पनि लगानी अनुसारको उत्पादन नहुँदा स्थानीयवासी हैरान भएका छन् । जाजरकोट–डोल्पा सडकखण्डको ट्याक खुल्ला भएपछि केही सहज महसुस गरेका त्यहाँका बासिन्दा अहिले दुनैबाट ओसार्ने गर्छन् । सामग्रीको मूल्यभन्दा ढुवानी भाडा बढी पर्ने भएपछि त्यहाँ दैनिक उपभोग्य सामग्री पाउँन चर्को मूल्य तिर्नुपर्छ । उच्च मानव बस्ती भएको धो र विश्वकै लोपोन्मुख रहेको काइके भाषा यही उपल्लो डोल्पाको हो ।
केही हुनेखानेले हेलिकोप्टरमा सामग्री ढुवानी गरे पनि निम्नवर्गका बासिन्दा भने घोडा, खच्चड र पिठ्यूँकै भरमा जीवन गुजारा गर्दै आएका छन्। सबै स्थानीय सरकारका कार्यालय सदरमुकाम दुनैमा छन् । चार वटा स्थानीय तह उपल्लो डोल्पामा विकास निर्माणका काम गर्दा महँगो शुल्क खर्चिनु परेकाले लगानी बढ्ने, गुणस्तर नहुने र अनुगमनसमेत हुन सकेको छैन । वर्षौंपछि उपल्लो डोल्पामा विकास निर्माणको अनुगमन गर्न प्रदेशसभा सदस्य वीरबहादुर शाही एकमहिने समय लिएर गएको धोदेखि टेलिफोनबाट जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पैसा छरेर मात्र विकास नहुने भएकाले खास के रहेछ भनी म उपल्लो डोल्पामा अनुगमनका लागि आएको र त्यहाँको वास्तविकताबारे पछि जानकारी गराउनेछु”










