भारतको जम्मू–कश्मीरका विपक्षी नेताहरुलाई घरमै नजरबन्द, मोबाइल इन्टरनेट सेवा बन्द

बिबीसी एजेन्सी ः भारत प्रशासित जम्मू–कश्मीरमा सरकारले जम्मू–कश्मीरका विपक्षी नेताहरुलाई नजरबन्दमा राख्न थालेको छ ।

त्यहाँको अबस्था अस्थिरता तर्फ गएको भन्दै उनीहरूलाइ घरमै नजरबन्द गरिएको छ । नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्ती र जम्मू–कश्मीर पिपुल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुकै घरमा नजरबन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । श्रीनगरमा रहेका पत्रकार माजिद जहांगीरलाई उद्धृत गर्दै बिबिसी हिन्दीले यी नेता नजरबन्दमा परेको पुष्टि गरेको छ ।

यस्तै स्थानीय सरकारले राजधानी श्रीनगरमा कर्फ्यू जारी गरेको छ । धारा १४४ अनुसार जारी भएको कर्फ्यू अर्को आदेश नआएसम्म कायम रहने बताइएको छ । यो आदेश अनुसार मानिसहरुको आवतजावतमा रोक लागेको छ भने सबै शैक्षिक संस्था पनि बन्द रहने छन् । यस्तै सरकारले श्रीनगरसहित अधिकांश क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । यसअघि उमर अब्दुल्लाले ट्वीट गरेर आफूलाई नजरबन्द गर्न सक्ने आशंका व्यक्त गरेका थिए । उनले ट्वीटमा लेखेका छन्, ‘मसहित अरु नेताहरुलाई नजरबन्द गर्ने प्रक्रिया सुरु भएको छ ।

’ त्यसको जवाफमा कांग्रेस नेता तथा पूर्व केन्द्रीय मन्त्री शशी थरुरले लेखेका छन्, ‘उमर अब्दुल्ला तपाईँ एक्लै हुनुहुन्न । हरेक लोकतान्त्रिक भारतीय कश्मीरमा मुख्यधारका नेताको साथमा उभिएका छन् । संसदको सत्र चलिरहेको छ र हाम्रो आवाजलाई बन्द गराउन सक्ने छैनन् ।’ पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्तीले ट्वीट गरेर कश्मीरका लागि एकजुट रहने बताएकी छन् । अवस्था मुश्किल रहे पनि आफूहरुको प्रतिबद्धतालाई कसैले तोड्न नसक्ने उनले बताएकी छन् ।





error: Content is protected !!