५२ हजार माग्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरीको डिस्चार्ज रोक्यो ?

गोविन्द देवकोटा

काठमाडौं ः साउन १६ गते अप्सरा गिरीलाई सुत्केरी व्यथाले च्यापेपछि परिवारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्‍याए। तिला गाउँपालिकाकी २४ वर्षीया गिरीले साँझ साढे ६ बजेतिर छोरी जन्माएको खबर प्रतिष्ठानका कर्मचारीले दिएपछि परिवारमा खुशी छायो।

छोरी जन्मिएको खबर दिन आउँदा खुसी हुँदै आएकी स्टाफ नर्स एकैछिनपछि बिरामी र आफन्तलाई तथानाम गाली गर्दै आइन्। सुत्केरी गिरीलाई हेपाटाइटिस बी रोगको संक्रमण भएको र प्रतिष्ठानलाई जानकारी नगराएको भन्दै उनलेअ आपत्ति जनाएकी थिइन्। चिकित्सकलेसमेत गाली गलौज गरेको अप्सराका देवर भरतराज गिरीले बताए।

‘भाउजूलाई हेपाटाइटिस बी रोग थियो भन्ने जानकारी नै थिएन, हामी पढेलेखेका पनि छैनौं’ उनले भने, ‘सामान्य सुत्केरी भएकी भाउजूलाई भोलिपल्ट घर लाने सल्लाह गरेका थियौं। तर प्रतिष्ठानका चिकित्सले गाली गलौज गर्दै सुत्केरीलाई घर लान नपाउने बताए।’

सुत्केरी गराउन संलग्न चिकित्सकलाई हेपाटाइटिसको भ्याक्सीन नदिलाएसम्म सुत्केरीलाई डिस्चार्ज नदिने भन्दै रोकेको भरतराजले बताए।
१७ गते बिहानै घर लाने तयारी गरे पनि प्रतिष्ठानका कर्मचारीले माग गरेको रकम दिन नसक्दा हालसम्म अप्सरा अस्पतालमै छन्। भरतराजका अनुसार सुत्केरी गराउने तीनजना नर्सलाई भ्याक्सीन लगाउन ५२ हजार रकम नदिएसम्म डिस्चार्ज नदिने बताइएको छ।

१६ गते साँझ नै गम्भीर अवस्थामा रहेकी सुत्केरी अप्सरालाई अपशब्द बोल्दै मानसिक तनाव दिएको आफन्तले गुनासो गरे। ‘यस्ता बिरामीको शरीरमा किरा परेर मरे पनि हुन्छ। अस्पतालमा ल्याएर हामीलाई रोग सार्न खोज्ने रु’ चिकित्सकको भनाइ उदृत गर्दै भरतराजले भने, ‘चिकित्सकमात्रै होइन, प्रतिष्ठानका रजिष्टार विश्व काफ्लेलेसमेत तोकिएको रकम नदिएसम्म डिस्चार्ज नपाइने धम्की दिए।’

प्रतिष्ठानले एकजनालाई भ्याक्सीन लगाउन १८ हजार रकम लाग्ने बताएको छ। हेपाटाइटिस बी असुरक्षित यौन सम्पर्क, रगत लेनदेन तथा औजारको प्रयोगबाट एक अर्कामा सर्ने गर्दछ। नियमअनुसार अस्पतालमा आउने बिरामीको उपचारमा संलग्न चिकित्सकले रोग संक्रमण हुन नदिने आफै सचेत हुनुपर्दछ। तर सोझा सेवाग्राहीको फाइदा उठाउँदै प्रतिष्ठानका कर्मचारीले रकम नदिएसम्म डिस्चार्ज नपाइने भन्दै अस्पतालमै चार दिनदेखि रोकेका छन्।

अप्सराबाट पहिलो सन्तानका रुपमा ५ वर्षका छोरा छन्। दोस्रो सन्तान जन्माउन आउँदा अस्पतालले भनेपछि मात्रै रोग भएको जानकारी पाएको उनले बताइन्। ‘यस्तो रोग सबैका सामुन्ने बताउनु हुँदैन भन्छन्, तर यहाँका डाक्टरले सबैको अगाडि गाली गर्दै बेइज्जत गरे’, अप्सराले भनिन्, ‘अझ नर्सलाई सुई लगाउने रकम नदिए कारबाही गर्ने भन्दै धम्की दिन्छन्।’

यस विषयमा बुझ्न खोज्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले मिटिङमा भएको बताए। ‘यसै विषयमा मिटिङ भइरहेको छ’, उनले भने, ‘निर्णय आएपछि म खबर गर्छु। अन्नपुर्णमा खवर छ ।  




सम्बन्धित समाचार


error: Content is protected !!